साप्ताहिक संवाददाता
रिसको उल्टो सरी पनि हुन्छ । कहिलेकाहीं उल्टो बोल्दा पनि फाइदा मिल्छ ।
मेरो एउटा पनि शत्रु छैन, शत्रु देख्यो कि म सिध्याइहाल्छु, उसलाई साथी बनाएर ।
सहर र गाउँमा दुई फरक छन् : सहरमा घरहरू नजिक–नजिक हुन्छन् तर मनहरू टाढा–टाढा हुन्छन्, गाउँमा घरहरू टाढा हुन्छन् तर मनहरू नजिक हुन्छन् । सहरका घरहरू पक्का हुन्छन् तर सम्बन्ध कच्चा हुन्छन्, गाउँका घरहरू कच्चा हुन्छन् तर सम्बन्धहरू पक्का हुन्छन् ।
मानिसहरूले तब मात्र तिम्रो हात समाउँछन् जब उनीहरूलाई थाहा हुन्छ कि तिमी एक्लै पनि अघि बढ्न सक्छौ ।
दुनियाँमा एउटा पनि समस्या नभएको मान्छे को होला ? (एक जना रैछ तर ऊ आर्यघाटमा जल्दै थियो) ।
क्षमता छ भन्दैमा हुँदैन, वर्षौंदेखि सूर्यले जलाउन नसकेको कागजलाई एउटा सानो हाते लेन्सले दुई मिनेटमै त्यही सूर्यको प्रकाश लिएर जलाइदिन सक्छ । यदि हाम्रो दिमाग हजारतिर छरियो भने वर्षौं लगाए पनि एउटा काम सफल हुन सक्दैन, यसर्थ आफ्नो लक्ष्यमा यसरी केन्द्रित हुनुहोस् कि तपाइँको दिमागबाट पनि आगो वर्षियोस् ।
कुनै पनि मानिस असाधारण हुँदैन, सबै हामीजस्तै हो सामान्य हुन्छन्, तर सही समयमा सही निर्णय लिँदा उनीहरू असाधारण बन्छन्, यो एउटा कला पनि हो ।
कहिल्यै हिम्मत हार्नु हँुदैन, किनभने पहाडबाट निस्किएको नदीले कहिल्यै कसैसँग सोधेको छैन कि समुद्र कहाँ पर्छ ?
नदीमा हाम फाल्दैमा कसैको मृत्यु हुँदैन । मृत्यु त तब हुन्छ जब कसैलाई पौडन आउँदैन । परिस्थिति कहिल्यै समस्या बन्दैन, समस्या तब बन्छ जब हामीलाई परिस्थितिसँग जुध्न आउँदैन ।
परिस्थिति आफ्नो अनुकूल भएन भनेर गुनासो गर्नुको सट्टा आफूलाई मजबूत बनाउनतिर लाग्नु उपयुक्त हुन्छ, किनभने संसारको नियम नै यस्तो छ कि जब हावा चल्छ त्यसले बल्ल–तल्ल बल्न थालेको झुपडीको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जंगलको आगोलाई अझ दन्काइदिन्छ ।
यदि सपना पूरा भैरहेको छैन भने बाटो बदल्नुहोस् सिद्धान्त होइन, किनभने रूखले हमेसा पात बदल्छ, जरा होइन ।
जीवनमा जति नै दु:ख परे पनि कहिल्यै नआत्तिनु किनभने बिहान हुन उषाका किरणसँगै शीतका थोपा झर्नुपर्छ अनि खुसी हुन दुई नयनबाट आँशुका थोपा बग्नुपर्छ ।
लापरवाहीसँग जंगलमा फालिएको एउटा सानो झिल्कोले डढेलो लगाउन सक्छ, तर आवश्यकताको बेला एउटा चुलो सल्काउन पनि पूरै बट्टा सलाई चाहिन्छ ।
तिमी कसैको कामको त्यतिबेला आलोचना गर जब तिमी ऊभन्दा अब्बल काम गर्न सक्छौ । आलोचना भनेको आगो जस्तो हुनु हुँदैन जसले कागजलाई नै खरानी बनाओस्, बरु कैँची जस्तो होस् ताकि कागजलाई काटेर आवश्यकता अनुसारको बनाउन सकियोस् ।
हजारौं युद्ध जित्नुभन्दा महत्वपूर्ण कुरा हो आफैंलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिँदैन ।
देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्राय: देखिँदैनन् ।
जो भुइँमा सुत्छ, ऊ खाटबाट खस्न सक्दैन ।
मीठो गीत, फिल्म, साहित्य अथवा स्मृति पढेर, हेरेर वा सुनेर आँसु झर्छ भने सम्झनुहोस्, तपाईंको ह्दय ढुङ्गा भैसकेको छैन ।
कतिपय सम्बन्ध तिहारमा पकाइएको सेल जस्ता हुन्छन् । नयाँ हुँदा खासै टेस्ट पर्दैन तर जति बासी भयो त्यति नै मीठो हुन्छ ।
मुस्कुराइरहनु नै आफ्ना शत्रुका लागि सजाय हो ।
असफलता झेल्ने आँट नभएकाहरू सफलताको हकदार हुन सक्दैनन् ।
बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ ।
सबथोक पाएर दु:खी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान् कुरा हो ।
हामीलाई लामखुट्टेले होइन हाम्रै अल्छ्याइले टोक्छ ।
सम्पत्ति नभएर गरिब भइँदैन, आफूसँग भएको सम्पत्ति नचिनेर गरिब भइन्छ ।
सबैभन्दा सस्तो औषधि हाँसो हो, किनभने यसको कमी भयो भने सबैभन्दा महँगो औषधि खान बाध्य भइन्छ ।
सुख खोज्नु पर्दैन, दु:खको सदुपयोग गरे पुग्छ ।
अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन्, विवाहितहरू प्रेमको अभावमा बर्बाद हुन्छन् ।
एक्लो मान्छे बाटो हिँड्दाहिँड्दै जब केही सम्झेर खिस्स हाँस्छ, सबैभन्दा मीठो हाँसो त्यही हुन्छ ।
जुन रोगको उपचार छैन त्यही रोगको उपचार गर्ने अनगिन्ती डाक्टर निस्कन्छन्, अनि जुन समस्याको समाधान छैन त्यसमा सल्लाह दिने अनगिन्ती सल्लाहकार निस्कन्छन् ।
चिया गुलियोमा गुलियो पनि हुन सक्छ, कडामा कडा पनि । मान्छे पनि चियाजस्तै हुनुपर्छ, आवश्यक ठाउँमा गुलियो, नभए कडा ।
हजार खोक्रा शब्दभन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ ।
जिब्रो एउटा त्यस्तो छुरी हो जसले रगत ननिकाली काट्न सक्छ ।
हाम्रो मस्तिष्क नै सबैथोक हो । हामी जे सोच्छौं त्यही बन्छौं ।
हावाले भरीएको बेलुन र घमन्डले भरिएको मान्छे उस्तै–उस्तै हुन्, जसलाई फुटाउनै पर्दैन, आफैं फुट्छन् ।
रामेश्वर खनालको फेसबुकबाट