साप्ताहिक संवाददाता
मध्य एसियाली मुलुक उज्बेकिस्तानमा खेलिने बुजकशी खेल उक्त क्षेत्रमा निकै लोकप्रिय छ । टर्किस भाषामा यो खेललाई कुपकरी पनि भनिन्छ । उज्बेकिस्तानमा यो खेललाई उलाकका रूपमा समेत चिनिन्छ ।
यस्तै खेल ताजिकिस्तान, अफगानिस्तान, किर्गिजस्तान, तुर्कमेनिस्तान तथा उत्तरी पाकिस्तानमा समेत खेलिन्छ । यो खेल खेल्दा खेलाडीहरू घोडामा सवार हुन्छन् । यो खेलका क्रममा घोडसवारले मारिएको खसी वा भेडालाई बलका रूपमा प्रयोग गर्छन् ।
यसरी मैदानमा राखिएको मरेको खसी वा भेडालाई जसले उठाएर लान सक्छ त्यही खेलाडीे विजेता मानिन्छ । यो खेल उज्बेकिस्तानको कुरामिन पहाडी क्षेत्रमा बढी खेलिन्छ । यो खेल खेल्ने अनुमति त्यहाँका स्थानीय बासिन्दाहरूलाई मात्र छ । बाहिरी गाउँका मानिसहरूले यो खेल खेल्न पाउँदैनन् ।
विजेताका लागि पहिल्यै विभिन्न जनावर पुरस्कारका रूपमा प्रदान गरिने घोषणा गरिएको हुन्छ भने दर्शकहरू पनि विजेतालाई आफ्ना तर्फबाट पुरस्कार दिन अघि सर्छन् ।