साप्ताहिक संवाददाता
सुनिल थापा नेपाली चलचित्रका भर्सटायल कलाकार हुन् । चलचित्रमा प्राय: नकारात्मक भूमिका निर्वाह गरेर दर्शकको मनमा बसेका थापालाई दर्शकहरू राते काइँलाको उपनामले समेत चिन्छन् । चलचित्र चिनोमार्फत उनले उक्त उपाधि पाएका हुन् । यतिबेला उनी आफ्नो पुरानो उपाधि परिवर्तन गर्ने मोडमा पुगेका छन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र शेरबहादुरमा उनले शेरबहादुरकै भूमिका निर्वाह गरेका छन् । थापाले कुनै पनि चलचित्रको शीर्षक भूमिका निर्वाह गरेको यो पहिलो अवसर हो । यही चलचित्रमा अभिनय गर्न मुम्बईबाट काठमाडौं फर्किएका थापा यसको प्रदर्शनसँगै दर्शकले आफूलाई शेरबहादुरका रूपमा सम्बोधन गर्ने कुरामा आशावादी छन् । अभिनेता थापाका बारेमा केही टिप्पणी जस्ताको तस्तै :
सुनिल थापा नेपाली चलचित्रका एउटा दह्रो खम्बा नै हुन् भन्दा फरक पर्दैन । पुरानो तथा नयाँ धारका चलचित्रलाई जोड्ने एउटा सूत्र पनि सुनिल थापा नै हुन् ।
रमेश उप्रेती, अभिनेता
सुनिल थापा त्यस्ता कलाकार हुन्, जसले दर्शकलाई आफूले निर्वाह गरेका चरित्रमा कन्भिन्स गर्न सक्छन् । अर्को शब्दमा भन्नुपर्दा हरेक प्रकारको भूमिकामा उत्तिकै सशक्त कलाकार हुन्— सुनिल थापा ।
केकी अधिकारी, अभिनेत्री
सुनिल थापा उत्कृष्ट खलनायक हुन् । नेपाली चलचित्रमा उनको अभिनयको छुट्टै छाप छ ।
ऋषिराज आचार्य, निर्देशक
सुनिल थापालाई मैले एउटा राम्रो कलाकार भन्दा पनि असल व्यक्तिका रूपमा चिनेको छु । विगत केही वर्षदेखि उहाँसँग नजिक रहेर संगत गरेकाले पनि मैले उहाँमा एउटा असल व्यक्तित्वको झलक पाएको हुँ । उहाँ उत्कृष्ट अभिनय गर्ने कलाकार त हुँदै हुनुहुन्छ ।
नरेशदेव पन्त, गीतकार
सुनिल थापा अभिनय क्षेत्रका लागि जीवित इतिहासको एक अध्याय हुन् । चलचित्रलाई आफ्नो कर्म थलो बनाउनेहरूका लागि उनी अभिभावकसमेत हुन् । थापा एक सशक्त कलाकार हुन् भन्दा फरक पर्दैन । निरन्तर चलचित्रलाई नै आफ्नो कर्मथलो बनाउँदै इतिहास रचेका व्यक्ति हुन्— सुनिल थापा ।
समीर बलामी, सञ्चारकर्मी/निर्देशक
बोल्ड व्यक्तित्व, आफ्नो चरित्रमा अब्बल, देख्दै डर लाग्ने तर सामान्य जीवनमा मायालु, विवादमा नपरेको व्यक्ति तथा अन्तर्राष्ट्रिय स्तरमा एक नेपाली कलाकार ।
राम सिटौला, संगीतकार