साप्ताहिक संवाददाता
मेष
यो राशिका मानिसहरू प्रेमपिपासु हुन्छन् । यिनीहरू प्रेममा तृप्त हुँदैनन् भने एक्लै बस्न रुचाउँदैनन् । प्रेममा जातभात, उमेर केही पनि हेर्दैनन् । यद्यपि यिनीहरू कसैको नाजायज फाइदा लिँदैनन् । यिनीहरूले प्रेम एवं रोमान्सबिना तृप्ति प्राप्त गर्दैनन् ।
वृष
यो राशिका मानिसहरू प्रेममा बढी उत्साही हुन्छन्, तर यिनीहरूको प्रेमको अन्त्य एकदमै दु:खद हुन्छ । वृष राशिका स्वामीहरू प्रेममा काल्पनिक मात्र हुँदैनन प्राय: एकतर्फी प्रेमको सिकार हुन्छन् । वैवाहिक जीवन सामान्य रहन्छ ।
मिथुन
मिथुन राशिका मानिसहरूको प्रेम प्रसंग एकभन्दा बढीसँग चल्छ । यिनीहरू सदैव आफ्ना प्रेमी/प्रेमिकालाई खुसी देख्न चाहन्छन् । मिथुन राशिका स्वामीहरू प्राय: कलाकार वा लेखकप्रति आकर्षित हुन्छन् । यौनमा बढी नै उत्सुक रहने भए पनि यौन जीवन संयमित नै हुन्छ ।
कर्कट
कर्कट राशिको प्रेम प्रसंग प्राय: एकततर्फी हुन्छ । यो राशिका स्वामीहरू प्रेममा कुनै प्रकारको बन्धन स्वीकार गर्दैनन् । यिनीहरू सदैव प्रेम चाहन्छन् । उपहारभन्दा पनि हाँसो, खुसीका साथ प्रेम अघि बढोस् भन्ने चाहन्छन् भने यौनका मामिलामा सदैव कठिनाइ अनुभव गर्छन् ।
सिंह
यिनीहरू यौनमा विशेष रुचि राख्ने खालका हुन्छन् । प्रेमको साटो प्रेम नै चाहन्छन् तर सदैव त्यस्तो हुँदैन, जसले गर्दा चाँडै हतोत्साही हुन पुग्छन् । यिनीहरूको प्रेम एवं वैवाहिक जीवनको अन्त्य कुनै दु:खद नाटकझैं हुन सक्छ ।
कन्या
कन्या राशिको प्रेम प्रसंग प्रसन्नता एवं आदान–प्रदानमा बित्छ । मानसिक एवं शारीरिक दुवै रूपमा आकर्षित भए पनि यौनमा प्राय: कमजोर नै हुन्छन् । यिनीहरूको प्रेम परिभाषामा परिवार तथा बालबच्चा पनि समेटिन्छन् । कन्या राशिका स्वामीहरू आफूभन्दा पाका व्यक्तिप्रति आकर्षित हुन्छन् ।
तुला
तुला राशिका व्यक्तिहरू दयालु, बुुद्धिमान एवं सावधान व्यक्तिप्रति आकर्षित हुन्छन् । प्रेममा गम्भीर हुन्छन् । प्राय: प्रदर्शन चाहँदैनन् तर वफादार हुन्छन् । यिनीहरूको उन्नति प्रेम वा विवाहपश्चात् नै हुन्छ ।
वृश्चिक
यिनीहरू प्रेममा भ्रमको सिकार हुन सक्छन् । यिनीहरूको प्रेम सौन्दर्य एवं शारीरिक आकर्षणको विषय हुन्छ, तैपनि प्रेममा भयको वातावरण सदैव कायम रहन्छ । अरूप्रति विश्वास गर्न नसक्नु नै प्रेममा विफलताको कारण हुन्छ । यिनीहरू कोमल मनोवृत्तिका हुन्छन् तथा प्रेमका भोगी पनि हुन्छन् ।
धनु
धनु राशिका मानिसहरू रोमान्टिक मनोवृत्तिका हुन्छन् । यिनीहरू महान् प्रेमी बन्न चाहन्छन्, तर विलासिता एवं विलासी व्यक्तिहरूलाई रुचाउँदैनन् । धनु राशिका स्वामीहरूको दृष्टिमा रोमान्स मनोरञ्जन मात्र नभएर सुखद सामाजिक सम्बन्ध पनि हो । यिनीहरू द्विस्वभाव मनोवृत्तिका हुनाले जीवनमा एकभन्दा बढी व्यक्तिको प्रभावमा हुन्छन् ।
मकर
मकर राशिका मानिसहरू प्रेममा केही उदासीन पाइन्छन् । प्रेमको अभावमा मानसिक तथा शारीरिक रूपमा अस्वस्थ्य रहन्छन् । यिनीहरूको दृष्टिमा प्रेम सुरक्षा तथा एकताको प्रतीक हो र यसले जीवनमा प्रसन्नता एवं सजीवता ल्याउँछ ।
कुम्भ
कुम्भ राशिका मानिसहरू विपरित लिंगीको आकर्षणको केन्द्र हुन्छन्, तर यिनीहरूको व्यवहार सुनिश्चित हुँदैन । यिनीहरू प्रेमलाई बौद्धिक स्वरूपमा ग्रहण गर्ने खालका हुन्छन्, तर अतिविश्लेषणवादी हुने हुँदा प्रवञ्चनाको सिकार बन्न पुग्छन् ।
मीन
मीन राशिका स्वामीहरू बढी नै रोमान्टिक हुन्छन् । यिनीहरूलाई सौन्दर्यले आकर्षित गर्छ । प्रेममा उत्तरदायी पनि हुन्छन्, तर प्रेमको छनौटमा सदैव असफल हुन्छन् । यौन जीवन रोमान्स एवं कल्पनाले भरिपूर्ण हुन्छ, तैपनि यौन र प्रेमको क्षेत्रमा भावुकताको सिकार बन्न पुग्छन् ।
(ज्योतिषाचार्य डा. सुनिल सिटौलासँगको कुराकानीमा आधारित)