समयसँगसँगै मानिसको खाने, बस्ने अनि काम गर्ने शैली परिवर्तन हुने क्रम निरन्तर जारी छ । ढुंगेयुगबाट परिवर्तित हुँदै एक्काइसौं शताब्दीको प्रविधि युगसम्म आइपुग्दा मानिसहरूको जीवनशैलीमा आकाश–पातालको फरक देख्न सकिन्छ । समयसँगै मानिसको प्रेम गर्ने पद्धति पनि परिवर्तन भएको छ । ढुंगामा खोपेर आफ्नो प्रेम व्यक्त गर्नेदेखि बाँसमा आफ्ना प्रेमी–प्रेमिकाको नाम लेख्नेहरू फेला पार्न अझै पनि गाह्रो छैन ।
यो त छँदै छ, यसका साथै विज्ञान–प्रविधिको प्रगतिलाई पछ्याउँदै नितान्त नयाँ शैलीमा प्रेम गर्ने, प्रेम व्यक्त गर्ने जमात पनि दिनानुदिन बढिरहेको छ । अमेरिका, युरोप आदि देशको शैली पछ्याउँदै नेपालमै पनि अनलाइन तथा इन्टरनेटमार्फत धेरै जोडीले प्रेमसम्बन्ध गाँस्दै आएका छन् ।
अनलाइनमा जोडी खोज्नेहरू
इन्टरनेटको पहुँच अहिले नेपालमा एकदमै तीव्र गतिले बढिरहेको छ । जसरी यो गति बढेको छ, त्यही गतिमा नेपाली किशोरकिशोरी एवं युवायुवतीहरू यसमा रमाउनसमेत थालेका छन् भने आपसमा कुराकानी अनि विचार आदान–प्रदान गर्दै सम्बन्धमा बाँधिएका घटना सामान्य हुँदै गएका छन् ।
मित्रताबाट सुरु हुने यस्तो सम्बन्ध पछि प्रेमसम्बन्धमा परिणत हुँदै विवाह नै भएका कैयौं उदाहरण नेपाली समाजमै फेला पार्न सकिन्छ । त्यस्तै अनलाइनबाटै भेट भएर यौनसम्बन्धसम्म पुगी आपसी सम्बन्धमै पूर्णविराम लागेका घटना पनि हाम्रो समाजका लागि खासै नौला रहेनन् ।
प्रेमसञ्जाल
यो युगका अधिकांश किशोर किशोरी इन्टरनेटमा प्रत्यक्ष पहुँच राख्छन् भने सामाजिक सञ्जाल संगको उनीहरूको सम्बन्ध सर्वाधिक निकटको सम्बन्ध भैसकेको छ । अहिले फेसबुक, भाइबर, इमो जस्ता संजाल नचलाउने युवा विरलै होलान् । आफूले सीधै नचिनेको व्यक्ति भए पनि साथीको साथीका विभिन्न गतिविधि सामाजिक सञ्जालमा हेर्न सकिन्छ । त्यही गतिविधिमा लाइक, कमेन्ट गर्दै साथी बन्न ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएर मित्र बनाई कुराकानी गर्ने चलन पनि बढ्दो क्रममा छ ।
इन्टरनेटमा उपलब्ध एउटा तथ्यांकअनुसार
१३ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीमध्ये ५५ प्रतिशतले आफूले मन पराएको व्यक्तिसँग कुराकानीको सुरुवात गर्छन् ।
५० प्रतिशतले मन पराएको व्यक्तिलाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाउँछन् ।
४७ प्रतिशतले आफूले मन पराएको व्यक्तिको सामाजिक संजालमा लाइक, कमेन्ट आदि गर्छन् ।
३१ प्रतिशतले अवाञ्छित तरिकाका सन्देशहरू पठाउँछन् ।
११ प्रतिशतले आफूलाई मन परेको व्यक्तिका लागि गीतको ‘प्ले लिस्ट’ बनाइदिन्छन् ।
उनीहरूमध्ये ७ प्रतिशतले भिडियो बनाउँछन् ।
सामाजिक संजालले किशोर–किशोरीहरूको सम्बन्धलाई एकदम नजिक बनाउन सहयोग गर्दै आएको छ । आफ्ना प्रेमी वा प्रेमिकाले के–कस्तो गतिविधि गरिरहेका छन्, त्यसलाई हेरेर उनीहरू भौगोलिक रूपमा टाढा भए पनि निकट अनुभव गर्न सकिन्छ । हिजोआजका युवायुवतीहरूले आफ्ना पार्टनरलाई गर्ने मायासमेत सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुन थालिसकेका छन् भने सामाजिक संजालबाट बसेको मायामा असुरक्षित महसुस गर्नेहरूको संख्या पनि उत्तिकै छ ।