मेरो पहिलो भ्यालेन्टाइन डे मैले कक्षा ४ मा अध्ययनरत छँदै मनाएकी थिएँ । त्यति बेला मैले सँगै पढ्ने साथीसँग जानी–नजानी भ्यालेन्टाइन डे मनाउन पुगेछु । त्यस क्रममा मैले साथीसँग मिलेर ममीले टिफिनमा राखिदिनुभएको केक काटेर भ्यालेन्टाइन डे मनाएकी थिएँ । वास्तवमा त्यो भ्यालेन्टाइन डे मनाउनुभन्दा पनि बालापनको एउटा रमाइलो काम थियो ।
बुझ्ने भएपछि भने मैले निखिल उप्रेतीजीसँगै भ्यालेन्टाइन डे मनाएुँ । निखिलजीले मलाई भ्यालेन्टाइन डेको अघिल्लो दिन प्रपोज गर्नुभएको थियो । मलाई अझै पनि सम्झना छ, सन् २००५ को भ्यालेन्टाइन डेको सेरोफेरोमा हामी कुनै कार्यक्रमका लागि पोखरा पुगेका थियौं । त्यस क्रममा फेब्रुअरी १३ का दिन उहाँले मलाई रातो गुलाबको फूल दिँदै पहिलो पटक प्रेमको प्रस्ताव राख्नुभएको थियो । मैले चाहिं त्यसको भोलिपल्ट अर्थात् भ्यालेन्टाइन डेका दिन उहाँको प्रेम प्रस्ताव स्वीकार गर्दै ‘ओके’ भनेकी थिएँ । भ्यालेन्टाइन डेकै दिन मैले उहाँको प्रेम प्रस्ताव स्विकारेकाले पनि हुन सक्छ, हाम्रो प्रेम सफल भयो । हामी वैवाहिक जीवनमा बाँधिएर यहाँसम्म आइपुगेका छौं ।
मलाई व्यक्तिगत रूपमा पनि भ्यालेन्टाइन डे मन पर्छ । किनभने मेरो प्रेम जीवनको स्वर्णिम पल त्यही बेलादेखि प्रारम्भ भएको हो । भ्यालेन्टाइन डे भएकै कारण पनि मलाई यो फेब्रुअरी महिना नै मन पर्छ । अरू ११ महिना हामीबीच स–साना ठाकठुक परे पनि यो महिना चाहिँ हामी सानो डिस्कस पनि गर्दैनौं । भ्यालेन्टाइन गिफ्टको कुरा गर्दाचाहिँ मैले केही निराश हुनु पर्छ । निखिलजीमा गिफ्ट लिने–दिने बानी छैन । गुलाबको फूल र चकलेट पनि मेरै करबलले दिनुहुन्छ । मचाहिं उहाँलाई भ्यालेन्टाइन डेको अवसर पारेर चकलेटसहितका विभिन्न वस्तु गिफ्टका रूपमा दिन्छु । रमाइलो कुरा के छ भने फेब्रुअरी महिनामा हामी अलि बढी नै घुमफिर गर्छौं ।
हामी बुवा–आमा भैसकेपछि पनि यो महिनाको घुमघाम रोकिएको छैन । छोरा–छोरी जन्मिसकेपछि पनि हामी एक–अर्कासँग गर्लफ्रेन्ड–ब्वाइ फ्रेन्डकै व्यवहार गरिरहेका छौं भनेर साथीहरूले नै जिस्क्याउँछन् । त्यसैले हाम्रो जोडीका लागि यो पुरै फेब्रुअरी महिना नै लभ्ली छ । मंगलबार रोज डे थियो, बिहानै मैले गुलाबको फूल उहाँलाई गिफ्ट दिएँ । बुधबारदेखि भ्यालेन्टाइन डेसम्म म उहाँलाई केही न केही उपहार दिइरहन्छु । उहाँले चाहिं भ्यालेन्टाइन डेको दिन मलाई कतै घुमाउन लानुहुन्छ— ह्याप्पी भ्यालेन्टाइन डे ।