साप्ताहिक संवाददाता
रेडियो कान्तिपुरले पहिलो पटक आयोजना गरेको नेशनल म्युजिक एवार्ड–२०७४ मा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई एक लाख रुपैयाँ राशीको लाइफ टाइम एचिभ्मेन्ट एवार्डद्वारा सम्मान गरिएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक विशेष सांगीतिक समारोहमा कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियाले तीन महिनापछि १ सय वर्ष पुग्ने राष्ट्रकवि घिमिरेलाई ताम्रपत्रसहित सम्मान गर्नु भएको हो ।
त्यसक्रममा अध्यक्ष सिरोहियाले राष्ट्रकविलाई सम्मान गरेर रेडियो कान्तिपुर स्वयंले सम्मानित भएको महसुस गरेको बताउनु भयो । उहाँको भनाइ थियो–‘नेपाली साहित्य र संगीत क्षेत्रका यस्ता उज्ज्वल नक्षत्र, नेपाली साहित्यका भीष्म पितामह राष्ट्रकविलाई लाइफटाइम एचिभ्मेन्ट एवार्डबाट सम्मानित गर्दा आफैं सम्मानित भएको महसुस गरेका छौं । धर्मपत्नी महाकालीसँगै समारोहमा उपस्थित राष्ट्रकविको सम्मानमा उनकै दुई गीत प्रस्तुत गरिएका थिए । गायिका बानिका प्रधानले ‘फूलको थुँगा...’ तथा गायक रामकृष्ण ढकालले ‘नेपाली हामी रहुँला कहाँ...’ गाउँदा प्रेक्षालय शान्त भएको थियो ।
रेडियो कान्तिपुरले १९ औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको उक्त समारोहमा विभिन्न १७ विधामा संगीतकर्मीहरुलाई पुरस्कृत गरेको हो । सोल्टि होटलमा सम्पन्न समारोहमा सर्वोत्कृष्ट आधुनिक गायन पुरुषतर्फको एवार्ड गायक अजर जंगमले जिते । उनले ‘आज फेरि एकान्तमा...’ गीतबाट उक्त सफलता हासिल गर्ने क्रममा यही विधामा मनोनित गायकहरु रामकृष्ण ढकाल, राजेशपायल राई, सत्यराज आचार्य तथा सुरज कुमार थापालाई निरास बनाएका हुन् । सर्वोत्कृष्ट आधुनिक गायन महिलातर्फको एवार्ड बानिका प्रधानले जितिन् । उनले ‘यति धेरै माया...’गीतबाट एवार्ड जितेकी हुन् ।
समारोहमा लोकप्रिय गीत ‘सुन साइँली...’ ले दुई वटा एवार्ड जित्न सफल भयो । यो गीतबाट गायक हेमन्त रानाले पब्लिक च्वाइस एवार्ड जिते भने संगीतकार कालीप्रसाद बासकोटाले सर्वोत्कृष्ट संगीतकारको एवार्ड जित्न सफल भए ।
सर्वोत्कृष्ट प्ले ब्याक सिंगर पुरुष तर्फको उपाधि गायक सुगम पोखरेलले जिते । पोखरेलले चलचित्र ऐश्वर्यको ‘तिमी रोएको पल..’ बाट एवार्ड पाएका हुन् । पाश्र्व गायिकातर्फको एवर्ड चलचित्र दुई रुपैयाँको ‘कुटुमा कुट...’ गीतका लागि गायिका मेलिना राईले जितिन् ।
लोक दोहारीतर्फ गायक पशुपति शर्मा तथा गायिका मुना थापा मगर सर्वोत्कृष्ट भए । उनीहरुले क्रमश: ‘जोगाउनु छ काला पानी’ तथा ‘मुटुमा बसेको माया’ गीतबाट यो सफलता पाएका हुन् ।
समारोहमा गायक दीपक बज्राचार्यले ‘सानी...’गीतबाट सर्वोत्कृष्ट पप गायक पुरुषको एवार्ड जिते भने गायिका श्रेया सोताङले ‘माया हो कि होइन...’ गीतका लागि सर्वोत्कृष्ट पप गायिकाको एवार्ड जितिन् । नव प्रतिभातर्फको एवार्ड गायिका मेनुका पौडेलले पाइन् । नेपाल आइडलकी एक प्रतिभाशाली यी प्रतिस्पर्धिले ‘एक जमानापछि...’ गीतबाट यो सफलता पाएकी हुन् । रामकृष्ण ढकालको ‘म हुरीमा दियो...’ गीतका रचनाकार रमेश बिजीले सर्वोत्कृष्ट रचनाकारको एवार्ड जिते ।
गायक सुमित खड्काले ‘देशको माया..’ गीतबाट सर्वोत्कृष्ट राष्ट्रिय गीतको एवार्ड जित्न सफल भए । सर्वोत्कृष्ट समुह गायनको एवार्ड १९७४ एडी ब्याण्डले जित्यो । यो ब्याण्डले ‘हजार सपना’ गीतबाट सफलता हासिल गरेको हो ।
समारोहमा सत्यराज आचार्यको ‘मधुशाला’ ले सर्वोत्कृष्ट एल्बमको एवार्ड जित्न सफल भयो । गायक कमल खत्रीको ‘जाउँला रेलैमा...’ गीतले वर्षको सर्वोत्कृष्ट गीतको एवार्ड पायो ।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिरोहियाले रेडियो कान्तिपुर सत्य–तथ्य सूचना सम्प्रेषण र नेपाली गीतसंगीतको विकास र प्रवद्धनमा सदैव क्रियाशील रहने प्रतिबद्धता जनाउनु भयो । ‘रेडियोको स्रोत र सम्पित्त भनेकै सूचना र गीतसंगीत भएकोले उक्त क्षेत्रको प्रवद्र्धनलाई हामीले कर्तव्य ठानेका छौं,’ सिरोहियाको भनाइ थियो–‘नेपाली संगीत क्षेत्रको श्रीवृद्धिमा एउटा इँट्टा थप्ने प्रयास हो रेडियो कान्तिपुर नेसनल म्युजिक एवार्ड ।’
समारोहमा उत्कृष्ट कारोबार गर्ने तीन विज्ञापन एजेन्सीहरु थम्सन नेपाल, म्याक्समिडिया तथा एड रिलिजलाई पनि सम्मान गरिएको थियो । समारोहमा हरिवंश आचार्य, दीपाश्री निरौला, रामकृष्ण ढकाल, लोचन भट्टराई, कर्ण दास, राजेशपायल राई, बानिका प्रधान, मेलिना राई, पल शाह, आँचल शर्मा, सन्दीप क्षत्री, स्वप्न सुमन, लाउरे आदिले आफ्नो प्रस्तुतीमार्फत उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
समारोहमा २०७३ साल साउन १ गतेदेखि २०७४ साल असार मसान्तसम्म विश्वभरी सार्वजनिक भएका गीत तथा एल्बमका सर्वोत्कृष्ट स्रष्टालाई पुरस्कृत गरिएको हो ।