साप्ताहिक संवाददाता
मानव जीवनसित सरोकार राख्ने सबै कुरा साहित्यका विषय हुन् । त्यसैले साहित्यमा राजनीति, अर्थशास्त्र, समाजशास्त्र, ज्ञानविज्ञानका अनेक उपलब्धि लगायत युद्ध, महामारी र अन्य विभिषिकासँगै तिनले समाजमा पार्ने सकारात्मक एवं नकारात्मक प्रभावहरू पनि विभिन्न विषय, घटना, विम्ब, प्रतीक तथा चरित्रहरूका माध्यमबाट अभिव्यक्त हुन्छन् । प्रेम पनि यी सबै कुराबाट प्रभावित भैरहने कुरा हो । त्यसैले प्रेम समाजको अभिन्न अंग पनि हो । म प्रेमसित जोडिएर आउने समाजका अनेक आयाम र रंगहरूलाई लेख्न रुचाउँछु । प्रेम केवल महिला र पुरुषबीच हुने रतिरागात्मक कुरा मात्र होइन ।
यो व्यक्ति र समाजबीचको सम्बन्धको आधार पनि हो । त्यसैले प्रेममा तत्कालीन समाजको मनोदशा प्रकट हुन्छ । राजनीति, गरिबी, समृद्धि एवं विकासको प्रक्रियासँगै प्रेमका अनेक पाटाहरू उद्घाटित हुन्छन् । त्यसैले प्रेमले साहित्यमा जहिले पनि सम्मानपूर्ण स्थान ग्रहण गरेको हुन्छ । जब–जब राजनीतिले आफ्नो विकृत चरित्र देखाउँछ । जब–जब समाजमा हिंसा र असहिष्णुता बढ्छ, त्यतिबेला सबैभन्दा संकटमा पर्ने कुरा प्रेम नै हो ।