साप्ताहिक संवाददाता
हरेक रंगको आ–आफ्नै महत्व हुन्छ र हाम्रो जीवनमा तिनको अर्थ पनि त्यहीअनुरूप अर्थ लाग्छ । प्रेम र रोमान्सका अवसरमा प्रयोग गरिने विभिन्न रंगले आफ्नो छुट्टै विशेषता दर्साउँछ ।
रातो : रातो रंगलाई यो अवसरमा उमंग, उत्साह, जीवन, प्रेम, रोमान्स र कामुकताप्रतिको चाहनाका रूपमा लिइन्छ । रातो गुलाफको फूल, रातो रंगको पहिरन तथा रातो रंगको आवरणले सजाइएका उपहारहरूले प्राथमिकता पाउने गरेका छन् । रातो रंगले उपहार दिने व्यक्तिको आत्मीयता, प्रगाढता तथा समर्पणलाई प्रेमी वा प्रेमिका समक्ष सम्प्रेषण गर्छ ।
गुलाफी : यो अवसरमा गुलाफी रंगले ताजापन, माया, आत्मीयता, समझदारी तथा प्यारोपनको अभिव्यक्ति दिन्छ । गुलाफी रंग प्रेम दिवसका लागि उत्कृष्ट छनौट बन्न सक्छ जसमार्फत कसैप्रति आफ्नो मनमा रहेको प्रेम अभिव्यक्त गर्न सहयोग मिल्छ । यो रंगले जीवनमा मायाको मात्रा बढाउने कार्य गर्छ ।
सुन्तला : माया–पिरतीको यो वातावरणमा सुन्तला रंगले शक्ति, सिर्जनात्मकता एवं व्यावहारिकताको परिचय दिन्छ । यसले खुसीलाई पनि प्रतिविम्बित गर्छ र मनोवैज्ञानिक तरिकाले उत्प्रेरित गर्ने कार्य गर्छ ।
पहेंलो : यो रंगले प्रेरणा, निरन्तरता, संवाद र इमान्दारितालाई इंगित गर्छ । यो रंगको ऊर्जा र जीवन्तताले संवाद र सामीप्यतालाई प्रेरित गर्छ । अत: आफूलाई मन परेको व्यक्तिसामु आफ्नो मनको भावना व्यक्त गर्दा मधुरो पहेंलो रंग देखिने मैनबत्तीको उज्यालोमा गर्नु उपयुक्त हुन्छ । प्रेमदिवसको अवसरमा पहेंलो रंगको पोसाक विशेषत: युवतीहरूका लागि अनुकूल मानिन्छ ।
नीलो : हल्का नीलो रंगले सिर्जनात्मकता, स्वीकार एवं संवेदनशीलतालाई परिभाषित गर्छ । यसले शान्त वातावरण सिर्जना गर्न र आफ्ना भावनाहरूलाई सन्तुलित राख्न मद्दत गर्छ । यो रंगले ताजापनलाई कायम राख्छ । गाढा नीलो रंगले बुद्धिमता, आत्मनिर्भरता र आत्मीयतालाई अभिव्यक्त गर्छ । नीलो तथा हरियोको मिश्रणले भावना अभिव्यक्तिलाई सहजता प्रदान गर्छ । गाढा नीलो रंगलाई विशेषत: पुरुषहरूका लागि प्रेम दिवसको प्रतीकात्मक रंग मानिन्छ ।
हरियो : ग्रिनले मानवता, सजगता र समर्पणलाई प्रेरित गर्छ । यसले सम्बन्धमा सजगतालाई प्रवद्र्धन गर्छ अनि समझदारीलाई बढावा दिन्छ । प्रेम दिवसमा पुरुषका लागि गाढा हरियो रंगको सर्ट तथा महिलाका लागि हल्का हरियो रंगको पहिरन उपयुक्त मानिन्छ ।
प्याजी : प्याजीले अनुरागलाई जनाउँछ र यसले रोमान्समा मुख्य भूमिका निर्वाह गर्छ । यो रंग शुद्ध रूपमा महिलाहरूलाई इंगित गर्ने रंग हो । हल्का हरियो रंगको पहिरनले सुन्दरता थप्छ ।
सेतो : यो अवसरमा सेतो रंगलाई निर्मलता, आशावादिता एवं निश्छलताको प्रतीकका रूपमा लिइन्छ । आफ्नो प्रियतमलाई सेतो गुलाफ दिनुको अर्थ हुन्छ हाम्रो प्रेम शुद्ध छ । पुरुष तथा स्त्री दुवैले प्रेम दिवसमा सेतो रंगको पहिरन लगाउन सक्छन् ।
खरानी : खरानी रंगले मूल्यांकन गर्न सक्ने क्षमता एवं असंलग्नतालाई दर्शाउँछ । अत: यो रंग सम्भवत: प्रेम दिवसका लागि उपयुक्त नहुन सक्छ । आफैंमा राम्रो सेड भए पनि यसले प्रेम दिवसमा ताजापन प्रदान नगर्न सक्छ । महिलाका लागि यो रंग सही नहोला तर पुरुषका लागि भने यो रंगको पहिरन उपयुक्त हुन सक्छ ।
कालो र खैरो : कालो र खैरो रंगलाई पुरुष पहिरनमा समावेश गर्न सकिन्छ । कालो रंगले स्वतन्त्रता, अधिकार र उदार चरित्रलाई प्रतिबिम्बित गर्छ भने खैरो रंगले इमान्दारितालाई इंगित गर्छ । प्रेम दिवसमा महिलाहरूको पहिरनमा नारीत्व झल्कने कुरालाई प्राथमिकता दिनुपर्छ ।