साप्ताहिक संवाददाता
सुन्दर देखिनु डेटिङको आवश्यक पक्ष हो । यसको अर्थ डेटमा हेभी मेकअपमा जानुपर्छ भन्ने होइन । यदि आँखा सुन्दर छ, ओठ र गाला आकर्षक छ भने तिनलाई हाइलाइट गर्नुपर्छ । मस्कारा लगाउन बिर्सनु हुँदैन । मुहार एवं व्यक्तित्व सुहाउँदो हेयर स्टाइल बनाउनुपर्छ ।
धेरै टाइट वा अत्यन्त खुकुलो पहिरन लगाउनु हुँदैन । शालीनता महिलाहरूको आभूषण भएकाले आफूलाई सहज, सुन्दर तथा आराम महसुस गराउने पहिरनलाई प्राथमिकता दिनुपर्छ ।
डेटको समय कम राख्नुपर्छ । यसले आफूप्रति साथीको रुचि कायम राख्छ र दोस्रो डेटमा प्रेम प्रस्ताव राखिने संभावना हुन्छ ।
आफ्नो साथीको सम्पूर्ण व्यक्तित्वका सम्बन्धमा जानकारी लिने प्रयास गर्नुपर्छ । उसको रुचि अरुचिका बारेमा बढीभन्दा बढी जानकारी हासिल गर्नुपर्छ ।
महिलाहरूलाई हेर्ने उसको दृष्टिकोण बुझ्ने प्रयास गर्नुपर्छ । यस क्रममा शालीनतापूर्वक प्रस्तुत हुनु पनि आवश्यक छ ।
आफ्नो शरीरको भाषामा विशेष ध्यान पुर्याउनुपर्छ । शालीनतापूर्वक बस्नुपर्छ । उत्ताउलो देखिनु हुँदैन ।
यदि उसले एकान्त स्थानमा डेटका लागि आग्रह गरेको छ भने कुनै बहाना बनाएर अस्वीकार गर्नु नै उपयुक्त हुन्छ । पहिलो भेट्मा सजग एवं सहज रहनुपर्छ ।
आत्मविश्वास झल्कनुपर्छ तर आवश्यकताभन्दा बढी बोल्ड नदेखियोस् भन्नेतर्फ सतर्क रहनुपर्छ । पुरुष पक्षले गलत लाभ उठाउन सक्ने विषयमा पनि सचेत हुनुपर्छ ।
घरबाट निस्कनुपूर्व आफ्नो मिल्ने साथी वा परिवारका कुनै विश्वासपात्रलाई आफू कोसित र कहाँ भेट्न जान लागेको हो भन्ने कुरा अवगत गराउनुपर्छ साथै कतिबेला फर्कने हो भन्ने कुरा पनि बताउनुपर्छ ।
यदि डेटमा युवक निश्क्रिय देखिए, दोस्रो पटक भेट्ने प्रयास गर्नु हुँदैन ।
विवाहित पुरुषसित डेट गर्नु राम्रो मानिँदैन, कारण त्यस्ता पुरुषले डेटलाई फ्लर्ट गर्ने वा टाइमपासको माध्यमका रूपमा लिएका हुन्छन् ।
युवकका लागि
राम्रो र आकर्षक देखियोस् भन्ने अभिप्रायले सफा र सुहाउँदो कपडा तथा जुत्ता प्रयोग गर्नुपर्छ । पहिलो प्रभाव प्रभावशाली हुनुपर्छ । प्राय: युवतीले सबैभन्दा पहिले पुरुषको जुत्तामै ध्यान पुर्याउने भएकाले जुत्ताको छनौटमा सावधानी अपनाउनुपर्छ । पहिरन फिट र सुहाउँदो हुनुपर्छ ।
स्टाइलिङमा ध्यान दिँदै राम्रो र सुहाउँदो हेयर स्टाइल अपनाउनुुपर्छ । व्यक्तित्व सुहाउँदो क्लिन सेभ वा रफ लुकमा प्रस्तुत हुन सकिन्छ । डेटमा कोलोन, बडी स्प्रे वा माइल्ड पर्फ्युमको प्रयोग पनि उपयुक्त हुन सक्छ ।
युवतीहरूले पुरुषको मानसिक एवं बौद्धिक स्तर बुझ्न वर्तमान प्रसंगका बारेका जानकारी लिने प्रयास गर्नसक्छन् । अत: अखबार, समाचार तथा आसपासका घटनाक्रमहरूप्रति अपडेट रहनुपर्छ ।
पहिलो डेटमा आफ्नो पूरा बायोडाटा प्रस्तुत गर्ने गल्ती गर्नुहुँदैन । त्यसै पनि युवतीहरू बढी बोल्ने पुरुषलाई रुचाउँदैन । कम बोलर असल स्रोताका रूपमा प्रस्तुत हुनु उचित हुन्छ ।
अधिकांश युवती विवेकशील, व्यवहारकुशल तथा उनीहरूको ख्याल राख्ने पुरुषलाई मन पराउँछन् । यसबाहेक उनीहरू पुरुषमा महिलाप्रति सम्मान, कदर गर्ने गुण विशेष रूपले नियाल्छन् ।
डेटमा जाँदा समयमै वा समयभन्दा अघि नै पुग्नु राम्रो हुन्छ । डेटका बेला युवतीलाई असहज महसुस नहोस् भन्ने कुरामा सचेत रहनुपर्छ ।
महिलाहरू सम्मान चाहन्छन् । अत: डेटमा सम्मानजनक र शिष्ट भाषा प्रयोग गर्नुपर्छ । फेसन, ज्वेलरी तथा फूलका बारेमा पनि राम्रो जानकारी राख्नु उपयुक्त हुन्छ ।
आफ्नो साथीको कुरामा ध्यानपूर्वक सुन्नुपर्छ । बारम्बार एउटै प्रश्न दोहोर्याइरहनु हुँदैन ।
डेटिङमा आँखा जुधाएर कुरा गर्नुपर्छ । यसबाट आफ्नो आत्मविश्वास झल्कन्छ ।
उनी मनपरिनन् भने पनि तत्काल त्यसलाई व्यक्त गर्नुहुँदैन ।