साप्ताहिक संवाददाता
समाज खुला हुँदै गएको छ । कुनै समय मेलापातमा गीतको भाकामा पोखिने माया–पिरती अहिले प्रेमपत्र, मोबाइल म्यासेज, इन्टरनेट, सामाजिक सञ्जाल हुँदै एड्भान्स टेक्नोलभमा परिणत भैसकेको छ । च्याटिङ र डेटिङ सामान्य बन्दै गएका छन् । लुकी–लुकी होटल रेस्टुराँ, पार्कतिर हुने डेटिङ अब सार्वजानीक स्थलहरूमा हुन थालेका छन् । डेटिङमा १२ हात पर बसेर लजाउँदै गरिने माया–पिरतीका कुरा अब सार्वजानिक रूपमै एक–अर्काको अँगालोमा बाँधिन थालेको छ ।
मायामा अंकमाल तथा चुम्बन सामान्य हुँदै गएका छन् । केही वर्षअघिसम्म पार्कहरूमा देखिने यस्ता दृश्यलाई अहिले धेरैल सहज रूपमा लिन थालेका छन् । यो वर्षको प्रणय दिवसका अवसरमा हामीले राजमार्गलाई टार्गेट बनाएका छौं जहाँ नजिकबाट हुइँकिरहने सवारी साधनको परवाह नगरी प्रेमिल जोडीहरू खुल्लमखुल्ला अधर चुम्बनमा मस्त हुन्छन् ।
बालाजु–ककनी हाइवे
ट्राउट हाइवेको नामले चर्चित बालाजु–ककनी हाइवे सेक्सी हाइवे समेत बन्दै गएको छ । नार्गाजुन जंगल, घुम्ती बाटा र रमणीय दृश्यावलोकन गर्न पाइने यो हाइवेको छेउमा मोटरसाइकल रोकी माया–पिरती साट्नेहरूको कमी हँुदैन । पिकनिक र दृश्यावलोकनका लागि प्रसिद्ध ककनी जाने बहानामा प्रेम अभिव्यक्त गर्नेहरूका लागि राजमार्ग छेउछाउ खुलेका साना–ठूला होटल तथा रिसोर्टहरू पनि सहज गन्तव्य भएका छन् ।
भक्तपुर–नगरकोट हाइवे
प्रसिद्ध पर्यटकीय स्थल नगरकोट विदेशी तथा स्वदेशी पर्यटकहरूको रोजाइको स्थल हो । सूर्योदयदेखि लिएर सगरमाथाको दृश्यावलोकनका लागिसम्म नगरकोट पुग्ने चाहना जो–कोहीमा हुन्छ । नगरकोट पर्यटकको मात्र नभएर युगल जोडीको पनि रोजाइमा पर्न थालेको छ । काठमाडौंको कोलाहलबाट बाहिर निस्किएर नगरकोट जाने नागबेली सडकको किनारामा बसेर खुल्लमखुला प्रेमलाप गर्नेहरूको दृश्यले विदेशकै झ–झल्को दिने गरेको छ ।
सुन्दरीजल स्ट्रिट
प्रेमिल जोडीहरूले माया साटासाट गर्ने उपत्यका नजिकको अर्को जक्सन सुन्दरीजलको ड्यामसाइडदेखि माथिसम्मको एरिया पनि हो । सुन्दरीजल बसपार्कसम्म सवारी साधनमा पुगेपछि त्यसपछिको पैदल यात्रा निकै रोमाञ्चक हुन्छ । जंगलकै बीचमा निर्माण गरिएको करिब दुई किलोमिटर लामो सिँढीमा प्रेमजोडीहरू एक–अर्काको अँगालोमा बाँधिएर अधर चुम्बन गरिरहेको दृश्य देख्दा यसलाई सेक्सी स्ट्रिट भन्न करै लाग्छ ।
सूर्यविनायक टु पाइलटबाबा आश्रम
माया–पिरती साटासाट गर्नेहरूका लागि कुनै नियम लागू हुँदैन । उनीहरूबीच कुनै बन्धन पनि हुँदैन, मात्र बहाना र मौका चाहिन्छ । त्यही मौकामा चौका हान्न प्रेमिल जोडीहरूले सूर्यविनायकबाट उकालो लागेर पाइलट बाबाको आश्रम पुग्ने सडकछेउलाई राम्रैसँग उपयोग गरिरहेका छन् । जंगलको बीचबाट गुज्रने यो नागबेली सडकले प्रेमिल जोडीका लागि सुनमा सुगन्ध थपिदिएको छ । प्राकृतिक हावासँगै सडक किनारमा सवारी साधनलाई विश्राम गराएर माया साटासाट गर्दा न त पार्किङको झन्झट न त कसैले केही भन्ला भन्ने पिर– यो हो नि त काइदा ।
कीर्तिपुरदेखि दक्षिणकाली
कुनै समय चोभार डाँडाको नाम नै प्रेमिल डाँडा राखिएको थियो । नजिकैको टौ दह पनि चोभार पुग्ने जोडीहरूको रोजाइ हुन्थ्यो । अब त्यो तन्कँदै कीर्तिपुरबाट दक्षिणकालीसम्मै पुगेको छ । मन्जुश्री पार्कलाई छिचोल्दै प्रेमिल जोडीहरू टौदह अनि त्यहाँबाट हुइँकिँदै दक्षिणकाली र कुलेखानीसम्म पुग्छन् । बस्ती नभएका जंगल र डाँडामा बसेर अधरपानमा मस्त हुने जोडीहरूका लागि यो सडक सुरक्षित पनि मानिन्छ । यो सडकको छेउछाउ खुलेका साना–ठूला होटलले त्यस्ता जोडीलाई प्रेमको गाहिराइसम्म पुग्न थप सहज बनाइदिएका छन् ।
कोटेश्वर टु बनेपा
कोटेश्वरदेखि बनेपासम्मको रुट प्रेम जोडीहरूका लागि साँच्चिकै सेक्सी लाग्छ । हुन त यो हाइवे प्राकृतिकबाट कृत्रिम भैसकेको छ, तैपनि यो राजमार्ग छेउछाउका लज तथा रिसोर्टहरूले यसलाई सेक्सी बनाइदिएका छन् । सूर्यविनायकसम्म चार लेनको बाटोमा प्रेमीलाई पछाडी राखेर हुइँकिने युवाहरू त्यहाँबाट उकालो लागेपछि घरैपिच्छे खुलेका होटल तथा रिसोर्टमा निर्मित स–साना कटेजमा पुगेर विश्राम गर्छन् । खाजा खाने बहानामा ती चौतारीमा छिरेका उनीहरू दिन गएको समेत पत्तो पाउँदैनन् ।
धुलिखेलबाट नेपालथोक
जापान सरकारले निर्माण गरेको बनेपा–बर्दिबास सडकलाई नेपालकै नमुना सडकका रूपमा लिइन्छ । साना सवारी साधन मात्र चल्ने यो सडकमा निजी कार तथा मोडरसाइकलको भीड लाग्छ । यो सडक प्रकृतिप्रेमीहरूको रोजाइमा छ । सबैको रोजाइ रहेको यो सडकमा युगल जोडीहरूको रोजाइमा नपर्ने त कुरै भएन । विशेष गरी उपत्यका तथा बनेपा–धुलिखेलका युगल जोडीहरू लङ रुटको यात्रा गरेर माया अभिवृद्धि गर्न नेपालथोकसम्मको यात्रा तय गर्छन् । यात्राका क्रममा हाइवेमा सवारी साधन रोकी दायाँ–बायाँका डाँडाहरूमा बसेर माया साट्नेहरूको भीड पनि राम्रै हुन्छ ।
जताततै जोडी नै जोडी
विमल खतिवडा
पहिलेजस्तो अहिले प्रेम गर्न लाजले छेक्ने जमाना छैन । न कसैको डर हुन्छ न केही कुराको चिन्ता नै । मन मिलेपछि प्रेम हुन्छ । प्रेममा परेपछि साँघुरो ठाउँ पनि खुल्ला लाग्छ । सार्वजनिक ठाउँसमेत प्रेमिल बन्छन् । पछिल्लो समय सार्वजनिक सडकछेउका पार्क प्रेम जोडीहरू रम्ने गन्तव्य बन्दै गएका छन् । सडक खण्डको एक छेउमा प्रेममा डुबेका जोडी आपसी भलाकुसारीमै मस्त हुन्छन् । कोही अंकमाल गरेर त कोही आपसमा टाउको जोडेर रमाइरहेका हुन्छन् । सडक छेउमा जंगल छ । कहीं–कहीं बस्ने ठाउँसमेत छ । त्यहाँ बस्न र रमाउन प्रेम जोडीहरूको प्रतिस्पर्धा नै चल्छ ।
नारायणी किनारमा माया प्रेम
चितवन र नवलपरासी जोड्ने नारायणी नदीमाथीको पक्की पुलबाट दायाँ नियाल्नेबित्तिकै देखिन्छ जोडीहरूको भीड । नारायणी नदीको किनार मनमोहक छ, जहाँगलैंचा र राडीजस्तै दुबो फेला पार्न सकिन्छ । नदी छेउमा आकर्षक ढुंगाहरू छन् । वालुवाको थुप्रो पनि त्यही किनारमै छ । सार्वजनिक रूपमा बस्ने ठाउँको पनि कमी छैन, त्यसैले त यही किनारमा भेटिन्छन् प्रेम जोडीहरू । नारायणी नदीको किनार विवाहित–अविवाहित जोडीहरूको डेटिङ स्पट नै बनेको छ । उता सौराहा प्रवेश गर्ने सडक छेउतिर पनि जोडीहरू आपसमा रमाइरहेका भेटिन्छन् ।
धरान भेडेटार धुम्तीमा रोमान्स
धरानबाट नागबेली सडक हुँदै उकालो लाग्नेबित्तिकै रमणीय जंगल, प्रत्येक धुम्तीमा खुलेका साना–ठूला होटल तथा रेस्टुराँले जो कसैलाई आनन्द महसुस गराउँछन् । अझ मायालु जोडीहरूका लागि त यो हाइवे पूर्वकै सर्वाधिक सेक्सी हाइवे पनि हो । प्रेमिल जोडीहरूलाई धक फुकाएर माया वर्षाउन धरानबाट उकालो लाग्नेबित्तिकै बाटो खुल्छ । भेडेटार मुनिका प्रत्येक घुम्तीमा पार्किङ गरिएका मोटरसाइकलहरू त्यसका प्रमाण हुन् । घुम्तीमा अवसर नपाउनेहरूलाई छेउछाउमा खुलेका साना रेस्टुराँ तथा बारहरूले पनि स्वागत गरिरहेका हुन्छन् ।
ती घुम्ती तथा रेस्टुराँहरू छिचोल्दै भेडेटार पुग्नेहरूका लागि त्यहाँका पार्क, भ्यूटावर तथा होटलहरूले पर्खिरहेका हुन्छन् । चिसो मौसममा माया साटासाट गर्नेहरू त्यहाँबाट नाम्जे हुँदै डाँडाबजार, राजारानी तथा बुधबारेसम्म पुग्छन् भने तातो खोज्नेहरू नमस्ते झरना हुँदै मूलघाटसम्म पुग्छन् । त्यसो त धनकुटा हिले तर्फका युगलजोडीहरू पनि तमोर हुँदै नमस्ते झरना र भेडेटारसम्म आइपुग्छन् । कलकल बग्ने तमोरको दृश्यवलोकन गर्दै माया साटासाट गर्नेहरू भने त्यही भुलिन्छन् ।