प्रेम जो एक छ, त्यहीँ अनेक छ । प्रेम, चीज एउटै, अनुभूति हरकोहीको बेग्लै । प्रेम जो कल्पनामा त मीठैमीठो परिकारमा खाइन्छ, वास्तविकतामा कहिल्यै नचाखेको स्वादमा पाइन्छ । प्रेम, जो हाम्रो पछि दगुर्दै आउँछ नचाहिएका बेला । प्रेम, जो भागिरहन्छ हामीबाट चाहिएका बेला । प्रेम, जसलाई सम्झेर मात्र पनि जीवन कटाउन सकिन्छ । प्रेम, जसमा बित्नै मुस्किल बोझिल पलहरूलाई पनि कुदाउन सकिन्छ ।
प्रेम कुनै बेला आफूभन्दा धेरै अगाडि दौडिन्छ । प्रेम कुनै बेला आफूभन्दा धेरै पछि पर्न सक्छ । प्रेममा जितेको जित मीठो । प्रेममा हारेको हार पनि मीठो । वास्तविकतामा नपाइएको प्रेम कहिलेकाहीँ सपनाले दिन्छ । सपनामा प्राप्त प्रेमले अक्सर वास्तविकतामा झस्काउँछ, तर प्रेमको त्यही झस्काइ पनि मीठो ।
प्रेममा सपना मीठो । सपनामा प्रेम मीठो ।
यही प्रेमले, कुनै बेला सिलिङमा डोरी टाँगी घाँटी कस्न सिकाउँछ । कुनै बेला यही प्रेमले चुपचाप–चुपचाप, बस् चुपचाप बस्न सिकाउँछ, बाँच्न सिकाउँछ । हामी तैरिरहन्छौँ आकाशमा बादलको सिरानी बनाई, प्रेम आउँछ र पानीको थोपा बनी खस्न सिकाउँछ । प्रेम आउँछ कुनै बेला समय मिलाएर, प्रेम आउँछ कुनै बेला ढोकै नढक्ढक्यएर ।
कहिले आँखामा रसाउँछ— प्रेम । कहिले मुटुमा बिझाउँछ— प्रेम । पाइला–पाइलामा ठेस पनि लागाउँछ प्रेमले । सुखले फुक्र्याउँदै आएको होस् वा दु:खमा घुक्र्याउँदै आएको होस्, औँसीमा आएको होस् वा पूर्णेमा, जहिले आए पनि प्रेम हरसमय कुनै चाडझैँ आउँछ । प्रेमले जतिसुकै उजाड, जतिसुकै निस्सार मनमा पनि एउटा दियो बालेर जान्छ ।
अनेक भागदौडमा अलमलिएर, हराएर, भेटिएर, फेरि पनि हराएर, फेरि भेटिएर, जीवनको लामो यात्रामा अन्तत प्रेम कुनै एउटा सिउँदोमा विसर्जित हुन्छ । प्रेम कुनै एउटा पोतेमा उनिन्छ । प्रेमको बिगुल सबैले सुन्ने गरी जोर–जोरले फुकिन्छ । प्रेम यथार्थमा परिचित भएर आउँछ । प्रेम कहिल्यै नचाखेको स्वादमा चाख्न योग्य भएर आउँछ, जसका केही गाँस मीठा, केही गाँस तीता । केही गाँसमा ढुंगा, केही गाँसमा झिँगा, केही गाँस पिरा, केही गाँस टर्रा, केही गाँस आँतसम्म पुग्ने, केही गाँसका टुक्रा दाँतमै अड्किने ।
प्रेम कुनै एउटा समयमा गएर कोखमा टुसाउँछ र कलिलो च्याँ–च्याँसहित काखमा चल्मलाउँछ । प्रेम बामे सर्दा कति हो कतिपटक बडो आकर्षक पारामा लड्खडाउँछ । प्रेम चिच्याउँछ, कराउँछ, रुन्छ, झगडा गर्छ र फेरि मान्छ । प्रेममा हामी कमजोर पनि हुन्छौँ, प्रेममा हामी बलिया पनि हुन्छौँ ।
प्रेम जहिले भेटियो त्यो समय मीठो । प्रेम जति भेटियो त्यो परिमाण पनि मीठो । प्रेम जसरी भेटियो त्यो अवस्था नै मीठो अथवा कतिपटक प्रेमलाई भेट्ने इच्छा मात्र पनि गरियो, त्यो इच्छा मीठो । प्रेम कति पटक भेटियो, त्यो तृप्ति मीठो । प्रेम भेट्दाभेट्दै छुटिगएको भए पनि त्यो छुटाइ मीठो । प्रेम भेटेर पनि नभेटिएजस्तो भए पनि त्यो अप्राप्ति मीठो । प्रेम नभेटिएर पनि भेटिएजस्तो लागेको भए पनि, त्यो भ्रम मीठो । प्रेमको आकाश मीठो । प्रेमको धरती मीठो । प्रेमको मरुभूमि मीठो । प्रेमको त हिलो पनि मीठो ।
बालापनको प्रेमको स्वाद बेग्लै । किशोरवयको प्रेमको काउकुति अलग्गै । युवाकालको प्रेमको परिपक्वताको अनुभूति भिन्नै । छाला जति ठाउँमा चाउरियोस्, बुढेसकालको प्रेमको फैलावट अझ बढी ।
प्रेमको केवल किनार मात्र हुँदै यात्रा गरिएको भए पनि, प्रेमको त्यो यात्रा नै मीठो । प्रेम हरसमयमा मीठो । हरउमेरमा मीठो । प्रेमको जुनसुकै रूप मीठो । प्रेम हर ठाउँमा मीठो । प्रेमको जुनसुकै जात मीठो ।