उनी अनि म, सुन्दर, शान्त रमणीय एकान्त ठाउँ । बस्, त्यति भएपछि अरू के नै चाहियो र ? यो अहिलेका युवायुवतीहरूको मनमा खेल्ने कुरा हो । उनीहरूले रोमान्स गर्न, मायालुसँग घोत्लिन, कुराकानी गर्नका अतिरिक्त विभिन्न योजना बनाउन यस्तै ठाउँ रोज्ने गरेका छन् । पोखरा अनि यसआसपासका विभिन्न हाइवेमा दैनिक यस्ता दृश्य देख्न सकिन्छ ।
लेकसाइडबाट पामे
पोखराको लेकसाइडस्थित हल्लनचोकबाट पामे जाने सडकमा आफ्ना मायालुसँग मस्त जोडी बग्रेल्ती देखिन्छन् । यहाँ सुन्दर फेवाताल, वरिपरिका डाँडाकाँडा अनि आकाशमा उडिरहेका प्याराग्लाइडिङ हेर्दै आफ्नो मायालुसँगको बसाइलाई अविस्मरणीय बनाउन सकिन्छ । पामे जाने यो मार्गमा स्थानीय युवा–युवतीदेखि पोखरा घुम्न आएकाहरूसमेत यहाँ आ–आफ्ना प्रेमी–प्रेमिकासँग व्यस्त पाइन्छन् ।
सराङकोट हुँदै कास्कीकोट
पोखराबाट सराङकोट जाने सडकका विभिन्न घुम्तीमा हरेक दिन यस्ता गतिविधि भैरहेका हुन्छन् । सूर्योदय र सूर्यास्त हेर्न मात्र होइन, पोखरा आसपासको सौन्र्दय नियाल्न पनि यहाँ पुग्न जोडीहरू लालायित रहन्छन् । यो हाइवेमा आफ्ना मायालुसँग मस्त जोडीहरू छ्यापछ्याप्ती भेटिन्छन् भने कलेज ड्रेसमै रोमान्स गर्ने टिनएजरको संख्या पनि उस्तै हुन्छ ।
पृथ्वी हाइवे
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनको पुल कट्नेबित्तिकै बाटोमा रोमान्स गरिरहेका जोडी पनि प्रसस्तै भेटिन्छन् । मुग्लिन–आबुखैरनीबीचको सडकमा पोखरा घुम्न आउने वा पोखराबाट फर्कने जोडी मस्र्याङ्दी नदी तथा आसपासका अग्ला पहाड हेर्दै प्रेमलीला गरिरहेका हुन्छन् । तनहुँको घाँसीकुवालगायतका हाइवेनजिकै आफ्नो मायालुसँग कुम जोड्दै भलाकुसारी गर्नेहरू पनि उत्तिकै हुन्छन् । तनहुँको कोत्रेबाट कास्की प्रवेश गर्ने पुल तर्नेबित्तिकैको उकालोको देव्रेतर्फ पनि यस्ता जोडी फेला पर्छन् ।
सिद्धार्थ हाइवे
सिद्धार्थ राजमार्गअन्तर्गत पोखराको छोरेपाटनदेखि स्याङ्जासम्मको सडकमा प्रेमिल गफमा व्यस्त जोडीहरू उत्तिकै हुन्छन् । वरिपरि पातलो जंगल भएको ठाउँमा होस् वा पोखरा भ्यू प्वाइन्ट, माछापुच्छ्रे भ्यू प्वाइन्ट लगायतका जक्सनमा आफ्नो मान्छेसँग रोमान्स गर्नेहरूको जोस नै बेग्लै हुन्छ । उता स्याङ्जाको भालुपहाड आसपासका घुम्तीमा वरिपरिको रमणिय वातावरण नियाल्दै आफ्ना प्रेमी–प्रेमिकासँग समय बिताउनेहरू पनि त्यत्तिकै हुन्छन् ।
भूपी शेरचन हाइवे
पोखराको जिरो किलोमिटरबाट सुरु हुने यो हाइवेको बागलुङ बसपार्कभन्दा तल फिर्के खोलाको पुल पारी रहेको लभ्ली डाँडा मायालु जोडीहरूको मुख्य गन्तव्य हो जहाँ पुगेर पोखराको सुन्दर दृश्य हेर्दै प्रेममय वातावरणमा मायालुसँग समय बिताउन सकिन्छ । यही हाइवेमा पर्ने याम्दी घट्टेखोला, नौडाँडा, लुम्ले आदि विभिन्न ठाउँमा प्रेमलीलामा मस्त जोडीहरू फेला पर्छन् ।
फूलबारीदेखि भलाम
पोखराको फूलबारीबाट भलाम जाने सडकमा पृथ्वीनारायण क्याम्पस परिसर, सेतीको डिल तथा काली खोलाको डिलमा गाला र कुम जोड्दै प्रेम साटासाट गरिएका दृश्य देख्न सकिन्छ । दिउँसोको तुलनामा साँझ त्यहाँ मस्ती गर्नेहरू बढी हुन्छन् ।
राखी–मिजुरे हाइवे
राखी मिजुरे सडकअन्तर्गत टाइगरटप होटलभन्दा तलको डाँडा पनि मायालु जोडीहरूको प्रेम साटासाट गर्ने थलो बनेको छ । यहाँ पोखरा उपत्यका, लेखनाथको दृश्य अनि उत्तरमा सेतै टल्कने हिमाललाई साक्षी राख्दै आफ्ना मायालुहरूको मन जित्ने प्रयास गर्नेहरू फेला पर्छन् ।
महतगौंडा–बागमारा–भरतपोखरी
यो हाइवेको सेती नदी, फुर्सेखोला किनार, महतगौडा, ढुङ्गेसाँघु आदि ठाउँमा गफिने जोडीहरू प्रशस्तै भेटिन्छन् । शान्त वातावरणमा आफ्ना मायालुसँग मनका बह पोख्दै अँगालोमा रमाउनेहरू त्यहाँ पुग्छन् ।
अन्य हाइवे
कास्कीको सार्दीखोला, रुपाकोट रिसोर्ट, शान्तिस्तूप, माटेपानी गुम्बा, कार्कीडाँडा, हेम्जाबाट लाहाचोक तथा ल्वाङघलेल जाने हाइवे हुन् वा अर्घौ अर्चले आदि ठाउँमा पुग्ने हाइवे ती सबै मायालु जोडीको माया पोख्ने ठाउँ बन्दैछन् । छोरेपाटन हुदै कृस्ति निर्मलपोखरी, फूलबारीदेखि काहुँडाँडा, घट्टेखोलादेखि धम्पुस, हेम्जाबाट लाहाचोक ल्वाङघलेल तथा पोखरा–सार्दीखोला सडकखण्डमा प्रेममय वातावरणमा रमाउनेहरू पनि प्रशस्तै हुन्छन् ।