साप्ताहिक संवाददाता
भनिन्छ, प्रेम अन्धो हुन्छ । त्यसैले प्रेम गर्ने जोडीहरू उमेर, जात, आर्थिक धरातल आदि कुनै पनि कुराको वास्तै नगरि प्रेममा चुर्लुम्म डुब्छन् । हरेक क्षेत्रमा प्रेमको उच्च महत्व छ । कलेज अध्ययनरत युवा–युवतीदेखि कामकाजी महिला तथा पुरुषहरू पनि प्रेममा लिप्त हुन सक्छन् । व्यवसायी, खेलाडी, राजनीतिज्ञदेखि कलाकारसम्म प्रेमको प्रसंगमा एक कदम अघि नै देखिन्छन् । प्रेम दिवसको पूर्वसन्ध्यामा कलाकारिता क्षेत्रका केही चर्चित जोडीको चर्चा :
भुवन केसी र जिया केसीसदावहार अभिनेताको छवि बनाउन सफल भुवन केसी आज पनि कुनै युवतीको प्रेममा छन् भन्ने कुरा सुनेर अचम्म मान्नु पर्दैन । दोस्रो विवाह असफल भएपछि एकल जीवन बिताइरहेका अभिनेता केसी विगत केही वर्षयता आफूभन्दा निकै कम उमेरकी युवतीसँगको प्रेममा भएको बताइन्छ । ती युवती हुन् जिया केसी, जसले विगतमा केही चलचित्रमा अभिनय गरेकी थिइन् । जियाले चलचित्रमा अभिनय नगरेको पनि धेरै भयो, यद्यपि उनी भुवन केसीसँगको अफेयरकै कारण चर्चामा आइरहन्छिन् । भुवन र जियाको प्रेम प्रसंगलाई आमदर्शकले बिर्सिसकेका थिए, यद्यपि दुई साताअघि चलचित्र कृको एउटा गीतको छायांकनका लागि स्कटल्यान्ड उड्ने क्रममा भुवनले जीयालाई पनि आफैंसँगै लिएर गएपछि उनीहरू अहिले पनि प्रेम सम्बन्धमै छन् भन्ने कुरा छर्लङ्ग हुन्छ ।
प्रियंका काकी र आयुष्मान देशराज जोशी अभिनेत्री प्रियंका कार्की तथा मोडल/अभिनेता आयुष्मान देशराज जोशी झन्डै एक वर्षदेखि प्रेमि–प्रेमिकाका रूपमा चिनिएका छन् । चिनजान भएको लामो समयपछि एक–अर्कालाई मन पराउन थालेको यो जोडी नयाँ पुस्ताको आदर्श समेत मानिन्छ ।
संजोग कोइराला र वर्षा राउत
अभिनेता संजोग कोइराला तथा अभिनेत्री वर्षा राउतबीच प्रेम सम्बन्ध स्थापित भएको केही वर्ष भयो । एउटा चलचित्रका लागि अडिसन दिने क्रममा पहिलो भेट भएपछि यो जोडी एक–अर्काप्रति आकर्षित भएको हो । म्युजिक भिडियोमा अभिनय गरेर स्थापित भएपछि चलचित्रमा आएकी वर्षा राउत यतिबेला अभिनयमा स्थापित भैसकेकी छिन् । खासगरी चलचित्र छक्कापञ्जा, जात्रा, छक्का पञ्जा–२ आदि चलचित्रको व्यवसायिक सफलतासँगै वर्षाले दर्शकको मनमा समेत डेरा जमाएकी छिन् । प्रेमी–प्रेमिकाका रूपमा उनीहरूले पहिलो पटक एउटा नयाँ चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा जोडीकै रूपमा अभिनय गर्ने निश्चित भैसकेको छ ।
साम्राज्ञी राज्यलक्ष्मी शाह र मयंक खड्काअभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले एउटा ट्याटु काण्डका कारण चर्चामा छिन् । चलचित्र कायराको छायांकनका लागि फिलिपिन्स पुगेका बेला दाहिने स्तनको ठिक मुन्तिर बनाएको ट्याटुसहितको तस्बिर सार्वजनिक भएपछि उनी विवादमा तानिएकी हुन् । ट्याटू बनाउने कलाकारले नै उक्त तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । एकपछि अर्को गर्दै सफल चलचित्र दिइरहेकी साम्राज्ञी लामो समयदेखि डिजे मयंक खड्कासँगको रोमान्समा छिन् । अघिल्लो वर्ष २१ औं जन्म दिन मनाउने क्रममा साम्राज्ञीले पहिलो पटक मयंकसंगको तस्बिर सार्वजनिक गरेकी थिइन् । मयंक केही अघि तोडफोड गरिएको क्लब डेजाभुका सञ्चालकमध्ये एक हुन् । साम्राज्ञी र मयंकको प्रेम सम्बन्धलाई उनीहरू दुवैको परिवारले समेत अनुमोदन गरिसकेको बताइन्छ ।
पल शाह र आँचल शर्मा
अभिनेता पल शाह तथा अभिनेत्री आँचल शर्मालाई अचेल प्रेमि–प्रेमिकाका रूपमा हेर्न थालिएको छ । यद्यपि दुवैले हालसम्म यो सम्बन्धलाई स्वीकार गरिसकेका छैनन् । उनीहरूलाई म्युजिक भिडियो तथा चलचित्रले नजिक ल्याएको कुरामा दुईमत छैन । पहिलो पटक चलचित्र नाइँ नभन्नु ल–४ मा पल र आँचलको जोडीले अनस्क्रिन रोमान्स गरेको थियो । त्यसपछि उनीहरूले चलचित्र जेन्टलम्यानमा पनि सँगै काम गरे । चैतमा प्रदर्शन हुने चलचित्र शत्रुगतेमा पनि उनीहरूले जोडीकै रूपमा अभिनय गरेका छन् । त्यसबाहेक उनीहरूले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा सँगै अभिनय गरिसकेका छन् भने सांस्कृतिक कार्यक्रमहरूमा समेत जोडी नै बाँधिएर उपस्थित हुन थालेका छन् । त्यसो त पल र आँचलको जोडी चलचित्र तथा म्युजिक भिडियोसम्म मात्र सीमित छ भन्नेहरू पनि प्रशस्तै छन् ।
नम्रता श्रेष्ठ र दावा स्टिभन शेर्पाअभिनेत्री नम्रता श्रेष्ठ आफ्नो सुन्दरताका कारण सधैं चर्चामा रहन्छिन् । यसबाहेक विभिन्न पुरुषहरूसँग नाम जोडिएर पनि तथा चर्चामा आउँछिन् । सुन्दर तथा शालिन भएकै कारण अधिकांश पुरुष नम्रताको सौन्दर्यमा लट्ठ हुनु स्वभाविक हो । नम्रता पछिल्लो केही वर्षयता व्यवसायी दावा स्टिभन शेर्पासँगको प्रेम सम्बन्धमा छिन् ।
छवि ओझा र शिल्पा पोखरेलचलचित्र निर्माता छवि ओझा यतिबेला चलचित्र मंगलमको प्रदर्शनको तयारीमा छन् । फागुन २५ गतेदेखि प्रदर्शनमा आउने उक्त चलचित्रमा शिल्पा पोखरेल मुख्य भूमिकामा छिन् । अभिनेत्री रेखा थापासँग सम्बन्ध–विच्छेद भएपछि छवि र शिल्पा नजिकिएको चर्चा चल्न थालेको पनि निकै भैसकेको छ । पछिल्ला केही वर्षयता उनीहरू अघोषित प्रेमी–प्रेमिकाका रूपमा चिनिँदै आएका छन् । लिभिङ टुगेदरको सम्बन्धमा रहेका छवि र शिल्पाले विवाह गरेको औपचारिक घोषणा भने गरिसकेका छैनन् ।
सौगात मल्ल र सृष्टि श्रेष्ठअभिनेता सौगात मल्ल तथा अभिनेत्री/मिस नेपाल सृष्टि श्रेष्ठले आफ्नो प्रेमसम्बन्धलाई स्वीकार गर्न निकै समय लगाए । दुवै प्रेममा रहेको पुष्टि भैसकेको छ, यद्यपि सार्वजनिक समारोहमा उनीहरू आफ्नो प्रेम अभिव्यक्त गर्न चाहँदैनन् । सँगसँगै चलचित्र हेर्न, सपिङ गर्न अनि घुमफिर गर्न पछि नपर्ने सौगात र सृष्टि सञ्चारमाध्यममा भने प्रेमी–प्रेमिकाका रूपमा खुल्न तयार छैनन् ।
संयम पुरी र आस्मा डिसी
अभिनेता संयम पुरी तथा अभिनेत्री आस्मा डिसीको प्रेम सम्बन्ध हिन्दी चलचित्र ‘कभि हाँ कभि ना’ जस्तै छ । कहिले उनीहरू आफूलाई प्रेमी–प्रेमिकाका रूपमा प्रस्तुत गर्छन् भने कहिले असल साथी मात्र बताउँछन् । उनीहरूले जे भने पनि आम दर्शकमाझ उनीहरूले प्रेमी–प्रेमिकाकै छवि बनाइसकेका छन् । यो जोडीले केही चलचित्रमा समेत अनस्क्रिन रोमान्स गरिसकेको छ । तीमध्ये चलचित्र आभासको अभिनय दर्शकले मन पराएका थिए ।
पूजा शर्मा र सुदर्शन थापाआफूलाई नजिकको साथी भन्दै आए पनि अभिनेत्री पूजा शर्मा तथा निर्देशक सुदर्शन थापाबीच त्यसभन्दा नजिकको सम्बन्ध रहेको अनुमान जो–कसैले गर्दै आएका छन् । सुदर्शनले निर्देशन गर्ने अधिकांश चलचित्रमा पूजा छुट्दिनन् । अझ पछिल्लो समय त पूजाले सुदर्शनको चलचित्रमा लगानी समेत गर्न थालेकी छिन् । सार्वजनिक समारोहमा प्राय: सँगै हुने उनीहरूले हालसम्म खुलेर आफ्नो प्रेमसम्बन्ध स्वीकार नगर्नुलाई आश्चर्यका रूपमा लिइन्छ ।