साप्ताहिक संवाददाता
नेपाली चलचित्र क्षेत्रमा अहिले सबैभन्दा धेरै रुचाइएको नाम हो– अनमोल केसी । उनै अनमोल केसीले अभिनय गरेको चलचित्र ‘कृ’ देशभरका करिब १ सय १८ हलमा प्रदर्शन भैरहेको छ । गत शुक्रबार रिलिज भएको यो चलचित्रले प्रदर्शनको छैठौं दिनसम्म झण्डै ५ करोड ४० लाख ग्रस कलेक्शन गरेको निर्माण टिमले जनाएको छ ।
अनमोलसँग स्क्रिन शेयर गर्दै रजतपटमा डेब्यु गरेकी अभिनेत्री अदिती वुढाथोकीको पनि यो चलचित्रका कारण राम्रो चर्चा छ । चलचित्रले ५ करोड ५० लाख ग्रस कलेक्शन गर्दा आफ्नो हातमा २ करोड ४० लाख पर्ने निर्माता सुवास गिरीले बताएका छन् ।
यस्तै, चलचित्रको ओभरसिज राइट्स ८० लाख र विभिन्न ब्रान्डबाट ५० लाख आफ्नो हातमा आइसकेको सुवासको भनाई छ । यसरि, हेर्दा चलचित्रले हालसम्म ३ करोड ७० लाख रुपैयाँ निर्माताको हातमा सुरक्षित गरिसकेको छ । चलचित्रको बजेट साढे ३ करोड माथिको बताइएको छ ।
यस्तै, चलचित्रका अर्का निर्माता भुवन केसीले चलचित्रमा महंगो रकम लगानी भएपनि राम्रो चलचित्र बनाउँदा दर्शकले मन पराइदिनुहुन्छ भन्ने विश्वास ‘कृ’ले दिएको बताए । उनले, आफूहरुको प्रतिस्पर्धा नेपाली चलचित्रसँग नभई हिन्दी चलचित्रसँग भएको बताए । उनले, ठूलो हिन्दी चलचित्रलाई ‘कृ’ले पछारेको दाबी गरे ।
चलचित्रका निर्देशक सुरेन्द्र पौडेलले आफूहरुको मिहिनेत सफल भएको भन्दै आफू अत्यन्त खुशी भएको बताए । केहि नकारात्मक टिप्पणी आफूहरुले सुनेपनि दर्शकले चलचित्र मन पराएको उनको भनाई छ ।
नायिका अदिती वुढाथोकीले पहिलो चलचित्रबाट नै राम्रो प्रतिक्रिया पाएको भन्दै खुशी व्यक्त गरिन् ।
चलचित्रमा अनमोल र अदितीको अलवा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।