साप्ताहिक संवाददाता
‘सम्वृद्धिको लागि संगीत’ भन्ने नाराका साथ स्थापना भएको कृपा फाउन्डेसनले आफ्नो पहिलो वार्षिकोत्सवमा रत्न शमशेर थापा र गायक योगेश बैधलाई ‘कृपा संगीत रत्न सम्मान’द्वारा सम्मान गरेको छ ।
फाउन्डेसन अध्यक्ष शिव कुमार लामिछाने, कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक प्रेमध्वज प्रधान, फाउन्डेसन संरक्षक बराह ज्वेलरी प्रमुख बिष्णु माया लामिछाने, बराह ज्वेलरी धरान प्रमुख मान बहादुर बिकले संयुक्त रुपमा दोसल्ला ओढाउदै प्रमाण पत्रद्वारा सम्मान गरेका हुन् । सोहि अवसरमा पछिल्लो समय किड्नीमा समस्या आएपछि उपचार गराईरहेका वरिष्ठ गायक ओम बिक्रम बिष्टलाई फाउन्डेसनको तर्फबात नगद ५१ हजार प्रदान गरिएको थियो ।
सम्मानित सर्जकलाई सम्मान सहित समर्पित गर्दै गायक शिव लामिछानेले केहि गीत प्रस्तुत गरेका थिए । उनले रत्न शमशेर थापाद्वारा रचना गरिएको तथा स्वरसम्राट नारायण गोपालद्वारा संगीत तथा स्वर दिइएको गीत स्वर्गकी रानी, शिव अधिकारी लिखित तथा वरिष्ठ संगीतकार नातिकाजीद्वारा संगीत तथा योगेश बैधद्वारा स्वर दिइएको गीत सपना भुलाई सारा र एल्वर्ट सुब्बाद्धारा लिखित, रोबर्ट सुब्बाको संगीतमा वरिष्ठ गायक ओम बिक्रम विष्टद्वारा स्वर दिइएको गीत म मौनतामा लाइभ प्रस्तुत गरेका थिए ।