माघ ८ गतेको बिहान । सिंगो काठमाडौं राम्रोसँग ब्युँझिसकेको थिएन । हुस्सुको पातलो पर्दा बाँकी नै थियो । ट्याक्सी चढेर महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुगेकी एउटी युवतीले जब रुँदै हारगुहारको शैलीमा आफ्नो कथा सुनाइन्, वृत्तमा भएका प्रहरीहरू अचम्मित भए । युवतीले रुँदै भनेकी थिइन्— ममाथि सामूहिक बलात्कार भयो । अपराधीहरू अझै पनि होटलमै छन् । लौन तिनीहरूलाई पक्रिनुपर्यो ।
कुरा सुन्नेबित्तिकै कमलपोखरी वृत्तबाट दुईवटा गाडी युवतीले देखाएको लोकेसनतर्फ हान्नियो । दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा पुगेको टोलीले एकैछिनमा खानतलासी सुरु गर्यो । कोठाभित्र युवतीले भनेका केटाहरू थिएनन् । बरु खान बाँकी आधा बोतलभन्दा केही कम ब्ल्याक लेबल, थोरै वाइन र केही प्रयोगमा आइसकेका कन्डम थिए ।
कमलपोखरी वृत्तले प्रारम्भिक खानतलासी थालेको केही बेरमै दरबारमार्ग एरिया हेर्ने महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोली पनि घटनास्थल पुग्यो । त्यसपछि घटनाको सबै विवरण दरबारमार्ग वृत्तलाई बुझाएर कमलपोखरी वृत्तको टोली फर्कियो । झन्डै आधा दर्जन प्रहरीले होटलबाहिर सुरक्षा दिए भने सई चन्द्र भण्डारी र प्रहरी जवान उमेश पालले होटलभित्र बसेर मुचुल्का उठाए । होटलका कर्मचारीको बयानपछि युवतीलाई दुई प्रहरी र होटलकै एक कर्मचारीले ट्याक्सीमा राखेर ललितपुरस्थित उनको घर पुर्याइदिए ।
गम्भीर अनुसन्धान अघि बढ्नुपर्ने उक्त घटनामा त्यसपछि भने अनौठो ट्विस्ट आयो । अनुसन्धानमा संग्लन प्रहरी अधिकारीहरू नै घटनाका सम्बन्धमा मौन बसे भने पीडित भनिएकी युवती पनि सम्पर्क बाहिर पुगिन् ।
आखिर त्यस्तो कुन घटना थियो, जसमा प्रहरीको ठूलो टोली परिचालन भएको थियो अनि मुचुल्का विवरण उठाइसकिएको घटना कसरी झन्डै हप्ता दिनसम्म गुपचुप रह्यो र त्यसपछि मिडियामा छताछुल्ल भएपछि प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी कार्यालयले छुट्टा–छुट्टै छानबिन समीति गठन गर्नुपर्यो ।
कैलालीकी एक २२ वर्षीया युवती ललितपुरमा बस्थिन् । करिब सात महिनाअघि रामेछाप दुरागाउँ घर भै धुम्बाराही बस्ने शैलेश कार्कीसँग उनको चिनाजानी भयो । त्यही चिनाजानी र हाई–हेल्लो बिस्तारै भेटघाट र प्रेममा परिणत भयो । उनीहरूबीचको चिनाजानी यति छिट्टै बाक्लियो कि बारम्बार भेटने, घुमफिर गर्ने र रात बिताउनेसम्मका कुरा सामान्य हुँदै गए । माघ ७ गते उनी एक जना साथीलाई भेट्न भन्दै घरबाट निस्किएकी थिइन् । शैलेसले खाजा खान लाजिम्पाट बोलाएपछि उनी त्यतै पुगिन । म:मसँगै थोरै वाइन पिएपछि उनलाई असहज महसुस भयो । त्यसपछि शैलेस उनलाई लिएर दरबारमार्गस्थित ल्यान्डमार्क होटल पुगे । त्यस दिन शैलेसका साथी दीपक श्रेष्ठले होटलका पाँचवटा कोठा बुक गरेका थिए । शैलेस आफ्नी प्रेमिकासँग कोठा नम्बर ४ सय ५ मा छिरे ।
राति करिब साढे नौ बजेतिर शैलेसको कोठामा अन्य तीन जना पनि प्रवेश गरे । दीपक श्रेष्ठ, विकास गौतम र रवि पौडेल । उनीहरूले त्यही होटलको बारबाट वाइन र ब्ल्याक लेबल मगाएर पिउन थाले । युवतीले पिउने वाइनमा ब्ल्याक लेबल मिसाइएपछि उनलाई अझ अप्ठ्यारो भयो । त्यही मौका छोपेर शैलेस र अन्य तीन जनाले युवतीमाथि बलात्कार गरे । घटनाको भोलिपल्ट थापाथलीस्थित प्रसूति गृहमा मेडिकल चेकजाँचका क्रममा युवतीले घटनास्थलको बयान गर्दै उक्त कुरा बताएकी हुन् ।
ती चारै जनाले मेरो लुगा फुकालिदिए । मैले ट्वाइलेटमा छिरेर आफूलाई सेभ गर्न खोजें । उनीहरूले मलाई तानेर बेडमा पुर्याए अनि शैलेसले सेक्स गर्न थाल्यो । त्यो सबै दृश्यको भिडियो आफूलाई पुलिस बताउने एउटा व्यक्तिले खिचिरहेको थियो ।
सामूहिक बलात्कारको यति ठूलो घटना प्रहरीकहाँ पुग्यो अनि छानबिन पनि सुरु भयो । युवतीको स्वास्थ्य परीक्षणसमेत भयो । घटनाको भोलिपल्ट प्रहरीले प्रेमी शैलेस कार्कीलाई पक्रेर एक रात थुनामा राखे पनि पर्सिपल्ट बिहानै छोडिदियो । त्यसपछि भने उक्त घटना गुपचुप भयो ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गको मुद्दा शाखाका इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरी ती प्रहरी अधिकारी हुन्, जो मुद्दाको थप अनुसन्धान गर्ने बाटो नसमातेर, पैसाको लेनदेनका आधारमा घटनालाई सामसुम पार्न अघि सरे । इन्स्पेक्टर ठकुरीलाई सहयोग गर्न तयार भए, मुद्दा शाखाकै सई चन्द्र भण्डारी । घटनाको चौथो दिन अर्थात् १० गते केटा र केटी पक्षका बाबुआमाबीच आर्थिक लेनदेनका आधारमा घटनालाई गुपचुप राख्ने सहमति भएको थियो । चक्रसिंह ठकुरी नामका एक व्यक्तिले पैसाको लेनदेन मिलाउन बिचौलियाको भूमिका खेलेका थिए । उनीहरूले एक जना वकिललाई झम्सिखेलस्थित एक होटलमा बोलाएर कागज गर्न लगाएका थिए ।
घटनालाई गुपचुप राख्न ३० लाख रुपैयाँ खर्चिएको देखिन्छ । स्रोतका अनुसार वकिललाई कागज तयार गरिदिएबापत ३० हजार रुपैयाँ दिइएको थियो । त्यस्तै घटनाका सम्बन्धमा चुपचाप बस्ने सर्तमा युवतीकी आमाको हातमा २७ लाख रुपैयाँ थमाइएको थियो । बाँकी २ लाख ७० हजार रुपैयाँ भने चक्रसिंहले लगेका थिए । स्रोतका अनुसार जसमध्ये केही रकम इन्स्पेक्टर ठकुरी तथा सई भण्डारीलाई दिइएको थियो ।
यसरी गुपचुप मिलाइएको उक्त घटनाका सम्बन्धमा धेरै ढिलो गरी प्रहरी परिसर काठमाडौंले सूचना पायो । त्यसलगत्तै परिसरले एसपी रामदत्त जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्यो । समिति गठन भएको तेस्रो दिन ती प्रहरी युवतीको सम्पर्कमा पुग्यो । त्यतिबेलासम्म समितिले युवतीको स्वास्थ्य परीक्षण गरिएको, प्रेमी शैलेसलाई एक रात थुनामा राखेर छोडिएको जस्ता तथ्यको यथार्थ बुझिसकेको थिएन । प्रहरीसँग सम्पर्कमा आएकी युवतीले कुनै त्यस्तो घटना नभएको र आफूमाथि कसैले बलात्कार नगरेको बताएपछि अनुसन्धान समिति संकटमा पर्यो । पीडित युवतीले नै बयान फेरेपछि घटनाले पुन: एकपटक अनौठो टर्न लियो ।
प्रहरीले युवती र उनकी आमालाई दुई दिनसम्म निगरानीमा राखेर फेरि बयान लियो । दोस्रो पटकको बयानमा प्रहरीले स्वास्थ्य परीक्षणका क्रममा युवतीले दिएको घटनास्थलको विवरण पनि हात पारिसकेको थियो भने माघ ११ गते युवतीकी आमाको बैंक खातामा अस्वाभाविक रूपमा २७ लाख रुपैयाँ डिपोजिट भएपछि प्रहरीले उक्त रकमको स्रोतको सोधीखोजी गर्यो । त्यसपछि बल्ल युवती घटनाका सम्बन्धमा सविस्तार बताउन र घटनामा संग्लनहरूका बारेमा जाहेरी दर्खास्त दिन तयार भइन् ।
घटना बाहिरिएलगत्तै प्रहरी परिसर काठमाडौंले दरबारमार्ग वृत्तका डिएसपी तिलक भारतीलाई परिसरमा तान्यो भने इन्स्पेक्टर ठकुरी र सई भण्डारी निलम्बनमा परे । घटनाको १८ दिनपछि अर्थात् २५ माघमा प्रहरी परिसर काठमाडौंले छानबिनको प्रतिवेदन तयार पार्यो । उक्त प्रतिवेदनमा इन्स्पेक्टर ठकुरी तथा सई भण्डारीलाई बर्खास्त गर्नुपर्ने तथा डिएसपी भारतीलाई जिम्मेवारीबाट हटाएर हदैसम्मको कारबाही गर्नुपर्ने सिफारिस गरिएको छ । प्रतिवेदनमा भनिएको छ— सामूहिक बलात्कारजस्तो गम्भीर फौजदारी अपराधमा कानुनी प्रक्रिया अघि बढाउनुको साटो पीडित पक्षहरूलाई आर्थिक प्रलोभन देखाई मिलापत्र गराई अपराध लुकाउने–छिपाउने कार्यमा संग्लन व्यक्तिहरूको पहिचान भएको छ । प्रहरीले घटनामा संग्लन चारै जनाको खोजी कार्य जारी राखेको छ ।
को थिए त्यतिका धेरै पैसा खर्चिने
प्रहरीका अनुसार घटनामा संग्लन चारमध्ये दुई जना जना ठेकेदार हुन् । हेटौंडाका विकास गौतम ‘क’ श्रेणीका ठेकेदार हुन । उनको मोतीदान कन्स्ट्रक्सनले सरकारी विकास–निर्माणका काममा मात्र करिब ३ अर्ब रुपैयाँ हाराहारीको ठेक्का लिएको छ । कान्ति लोकपथ निर्माण तथा हेटौंडाकै शिवम् सिमेन्टको चुनढुंगा खानीमा समेत उक्त कन्स्ट्रक्सनले काम गर्दै आएको छ । घटनाको भोलिपल्ट नै विकास र दीपक काठमाडौंबाट दिल्ली हुँदै चेन्नई पुगेको सूचना प्रहरीले पाएको थियो । विकास र दीपकले चेन्नईमै बसेर त्यति ठूलो रकम पीडित युवतीलाई उपलब्ध गराउने चाँजो मिलाएको अनुमान प्रहरीको छ । |
घटना गोप्य राख्ने सहमतिको कागजमा यस्तो लेखिएको छ
शैलेस कार्कीसँग साथीका रूपमा चिनजान भै हामीहरू बेलाबखत भेटघाट गर्ने, घुम्न जाने, सँगै बस्ने–खाने गथ्र्यौं । हामीहरू विवाह गर्नेसमेत सरसल्लाह भैसकेका कारणले गर्दा आजभन्दा दुई महिनाअघि काठमाडौं चक्रपथस्थित होटल कम्पार्टमा एक रात सँगै बसेकोमा निज र मेरो सल्लाहअनुसार नै हामीहरूबीच शारीरिक सम्पर्कसमेत भएकोमा यस्तैमा मिति २०७४/१०/०७ गते रातिको समयमा कमलादीमा रहेको होटल ल्यान्डमार्क एन्ड अपार्टमेन्टको कोठा नम्बर ४०५ बुक गरी हामीहरू दुवै जना सँगै बसेकोमा हामीहरूले वाइन, रक्सीसमेत सेवन गरेको उक्त दिन पनि हामीहरू दुवै जनाको सहमतिमा एक चोटि शारीरिक सम्पर्क भएकोमा पछि निज साथी शैलेस कार्कीसँग नशाको सुरमा वादविवाद भएको र निजले मलाई होटलमै छोडी गएका कारण मैले रिसको आवेगमा सोको भोलिपल्ट बिहान अन्दाजी ८ बजेको समयमा कमलपोखरी प्रहरी कार्यालयमा गै मलाई शैलेस कार्कीसमेत निजका साथीहरूले जर्बजस्ती करणी गरेको भनी मौखिक जानकारी गराएकी हुँ, तर कुनै लिखित निवेदन जाहेरी दर्खास्त पेस गरेकी छैन । रिसको आवेगमा मलाई होटलमा जबरजस्ती करणी गरेको भनी प्रहरी कार्यालयमा गै जानकारी गराउनु मेरो गल्ती भयो । मलाई कोही कसैले अनुचित यौनसम्पर्क, शारीरिक सम्पर्क गर्नेजस्ता अनैतिक कार्य गरेको छैन । अब आइन्दा यो विषयलाई लिएर कहीं–कतै उजुर–बाजुर गर्ने छैन । गरे–गराएमा कानुनबमोजिम सजाय भोग्न तयार छु भनी यो कागज लेखी लेखाइ सही छाप गरिदियौं । साथै अनुसन्धानको सिलसिलामा यो कार्यालयमा ल्याइएका शैलेस कार्कीलाई निजकै आमाले सकुशल जिम्मा बुझिलिई सही छाप गरिदिए ।