प्रजातन्त्र आज तिम्रो जन्मदिन रे
तिमीलाई शुभकामना दिनेको ओइरो लाग्नेछ आज
मन छ तिमीलाई शुभकामना दिन
तर खै
के भनेर शुभकामना दिउँ तिमीलाई
म भन्दा धेरै अघि
निकै पिडादायी प्रशब बेदनापछी जन्मिएका
मेरा अग्रज तिमी
अनि
बिबेकी बाबुआमाका सन्तान तिमी
तर
कति अभागी रहेछौ
बाल्यकालमा राम्रो स्याहार नपाउदै
बाबुआमा गुमाउन पुग्यौ
काकाकाकीले राम्रैसँग स्याहार्छु भन्थे
तर सकेनन
कुपोषणको शिकार बन्यौ तिमी
तिम्रो जीवनले
आज सत्सट्ठी वसन्त पार गरिसक्यो
तैपनि
तिमीमा जवानी कहिल्यै आएन
आफ्नो जवानीको रसस्वादन गर्न पाएनौ तिमिले
न त आफ्नो जवानीले कसैलाई लोभ्याउन सक्यौ
तिमी त सिर्फ
सधैं शिशु प्रजातन्त्र
जसले पनि
आफ्नो मनोरञ्जनको लागि
खेलाउन सक्ने
घुमाउन सक्ने
रुवाउन सक्ने
आनि दिक्क लागे
झोलुङ्गोमा राखेर सुताउन सक्ने
त्यसैले त
तिमीले कुल धान्न सक्दैनौ भनेर
तिम्रा काकाकाकीले
भाइहरु जन्माए
उनीहरुको नाम पनि
करिब तिम्रै जस्तै
लोकतन्त्र अनि गणतन्त्र
के सक्लान त
तिम्रा भाइहरुले कुल धान्न रु
खै मलाइ त बिश्वास छैन
तिमीलाइ पोषण दिन नसकेर
कुपोशित बनाउने
अनि संस्कार दिन नसकेर
यताको न उताको बनाउने
तिम्रा अभिभावकले
लोकतन्त्र र गणतन्त्रलाई
राम्रो स्याहार गर्लान त ?
हृष्टपुष्ट बनाउलान त ?
असल संस्कार देलान त ?
आशा गरौं प्रजातन्त्र
तिम्रो जस्तै नियती
तिम्रा भाइहरुले भोग्न नपरोस्
आफ्नो जन्मदिनको अबसरमा
तिमी पनि
आशिर्वाद देउ आफ्ना भाइहरुलाइ
फेरि पनि
के भनेर दिउँ शुभकामना तिमिलाइ
तर पनि
जन्मदिनको लाखौं लाख शुभकामना
प्रजातन्त्र
तिमीलाइ शुभकामना