साप्ताहिक संवाददाता
भनिन्छ, दक्षिण र उत्तर कोरिया अझै पनि प्राविधिक रूपमा युद्धमै छन् । उनीहरूबीच चलेको युद्धले औपचारिक रूपमा टुंगो पाएको छैन । कुनै समय यी एउटै देश थिए । यी देशमा फरक–फरक राजनीतिक प्रणाली छन् र दुवै अहिलेसम्म पनि लगातार शीत युद्धमै छन् । पछिल्लो समय यी दुई देशबीचको सम्बन्ध अझ संकटमा परेको छ, सँगै यी देशलाई समर्थन गर्ने देशहरू पनि एक खालको द्वन्द्वमा अल्झिएका छन् । यसको प्रमुख कारण उत्तर कोरियाको आणविक महत्त्वाकांक्षालाई मानिदै आएको छ ।
यसबीच लगातार चिन्तायुक्त समाचार पनि आइरहेका छन् र प्रत्येकपटक भयानक युद्धको सम्भावना तयार भैरहेको छ । यी सबै पृष्ठभूमिमै अहिले चलिरहेको छ– शीतकालीन ओलम्पिक । यसको आयोजक हो, दक्षिण कोरियाली सहर प्योङचाङ । फेब्रुअरी ९ देखि २५ सम्म शीतकालीन खेलकुदका प्रेमीको नजर पर्नेछ, प्योङचाङमा । प्योङचाङ सहरको सबैभन्दा ठूलो विशेषता हो— उत्तर कोरियाबाट निकै नजिक हुनु अर्थात् मात्र ५० माइलको दूरीमा ।
उत्तर कोरियाको राजधानी हो, प्योङयाङ । प्योङचाङको नाम धेरै हदसम्म प्योङयोङसँग मिल्छ, त्यसैले पनि प्राय: विदेशीहरू यो सहरको नामलाई लिएर अन्यौलमा पर्छन् । कोरियाली भाषामा उस्तै–उस्तै उच्चारण भए पनि कम्तीमा अंग्रेजीमा अन्योल नहोस भनेर दक्षिण कोरियाले आफ्नो सहरको नामको हिज्जे नै परिवर्तन गरेको थियो र यस क्रममा नाम तयार भयो— प्योङचाङ । दक्षिण कोरियाले आफ्नो समृद्धताको उदाहरण पेस गर्ने सहर पनि हो– प्योङचाङ ।
दक्षिण कोरिया र प्योङचाङमा पर्याप्त मात्रामा शीतकालीन खेलकुदका रिसोर्ट छैनन्, जति युरोप, उत्तर अमेरिका तथा जापानमा छन्, तर यो ओलम्पिकको आयोजना पछि दक्षिण कोरिया यसमा पनि समृद्ध हुनेछ । दक्षिण कोरियाले अघोषित रूपमा शीतकालीन खेलकुद र त्यसका लागि चाहिने भौतिक पूर्वाधारमा आफूलाई बलियो बनाउने रणनीति बनाएको छ ।
यसपटकको शीतकालीन ओलम्पिकमा कुल ९२ देशको सहभागिता छ र त्यसमा समावेश खेलको संख्या छ— १५ । यी १५ खेलका १ सय ५ स्पर्धामा खेलाडीहरूले पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् । समावेश १५ खेलमध्ये केही हाम्रा लागि परिचित छन् भने केही नयाँ लाग्न सक्छन्, जसमा प्रमुख छन्, अल्पाइन स्किङ, बायोथलन, क्रस कन्ट्री स्किङ, फिगर स्केटिङ, आइस हकी, स्कि जम्पिङ, स्नो बोर्डिङ तथा स्पिड स्केटिङ आदि ।
प्रतियोगिताको मस्कट हो— सुहोरङ । यसको अर्थ हुन्छ, सेतो बाघ । प्रतियोगिताकै क्रममा कालो भालु पनि मस्कटका रूपमा रहनेछ र यसले प्यारा ओलम्पिकको प्रतिनिधित्व गर्नेछ । ओलपिक्सको उदघाटनको अवसरमा दुवै कोरियाले एक देशका रूपमा भाग लिइरहेका छन् । यति मात्र होइन, महिला हकी टिममा दुवै देशका खेलाडी समावेश थिए । यसपटकको शीतकालीन ओलम्पिकले दुवै देशलाई केही हदसम्म नजिक ल्यायो भने त्यसलाई पनि यसको सफलता नै मानिनेछ ।
शीतकालीन ओलम्पिकको इतिहास पल्टाउने हो भने सन् १९२४ मा पुग्नुपर्नेछ । त्यति बेला पहिलोपल्ट फ्रान्सको चामोनिक्समा पहिलो संस्करणको शीतकालीन ओलम्पिक सञ्चालन भएको थियो । सन् १८९४ मा पहिलो ओलम्पिकको आयोजना ग्रिसमा भएको थियो र पछि त्यो ओलम्पिकले गृष्मकालीन ओलम्पिकको नाम पायो । सुरुमा केही शीतकालीन खेल ग्रीष्मकालीन ओलम्पिककै एउटा भागमा रूपमा हुन्थे भने पछि मात्र दुवै छुट्टिए ।
ग्रिसतिर हुने पुरानो ओलम्पिकमा पनि शीतकालीन खेल समावेश हुन्थे । अचेल शीतकालीन ओलम्पिकलाई पनि खेलकुद इतिहासकै एक वृहत, भव्य र बहुप्रतीक्षित खेल महोत्सवका रूपमा लिइन्छ । यसलाई हिउँ र बरफको ओलम्पिकका रूपमा पनि लिइन्छ । शीतकालीन ओलम्पिक खास–खास देशमा निकै लोकप्रिय छ, विशेषत: युरोप, उत्तर अमेरिका र जापानतिर । नर्वे शीतकालीन ओलम्पिकको सबैभन्दा सफल देश हो र उसैले इतिहासमा सबैभन्दा बढी कीर्तिमान पदक जितेको छ ।