साप्ताहिक संवाददाता
साथीभाइ एवं पारिवारिक सम्बन्धलाई अझ नजिक बनाउने उद्देश्यका साथ फेसबुकले आफ्नो न्युजफिडमा नयाँ अपडेटको घोषणा गरेको छ । अब तपाईंले आफ्नो न्युजफिडमा प्रकाशक, मिडिया आदि पेजको पोस्टको संख्या पहिलेको तुलनामा धेरै थोरै देख्न पाउनुहुनेछ । साथीभाइ एवं आफन्तका पोस्टहरू कम देखाएर सामाजिक सञ्जाल फेसबुक बढी नै ‘व्यापारिक सञ्जाल’ बन्ला कि भन्ने प्रयोगकर्ताहरूको आशंकालाई ध्यानमा राख्दै फेसबुकले न्युजफिडमा साथीभाइहरूकै पोस्टलाई प्राथमिकता दिन लागेको हो ।
रमाइलो र मनोरन्जन मात्र भन्दा पनि मानिसहरूलाई फाइदा हुने काम गर्नु आफ्नो उत्तरदायित्व भएको बताउँदै फेसबुकले विभिन्न अनुसन्धान गरेर त्यसको प्रतिवेदनका आधारमा यो परिवर्तन गर्न लागेको जनाएको छ ।
के छ अपडेटमा ?
तपाईंको न्युजफिडमा कस्ता सामग्री देखाउने भनेर फेसबुकले अहिले पोस्टमा आएको रियाक्सन, कमेन्ट र सेयर आदिका माध्यमबाट निर्णय लिन्छ, तर नयाँ अपडेटमा मानिसहरूबीच हुने कुराकानी र अन्तक्र्रियालाई ध्यानमा राखी न्युजफिडको सामग्री निर्धारण गरिन्छ । यसका लागि फेसबुकले तपाईंले अन्तक्र्रिया गर्न सक्ने खालको पोस्ट पहिल्याउनेछ र तपाईंको न्युजफिडमा प्राथमिकताका साथ देखाउँछ ।
तपाईंको न्युजफिडमा त्यस्ता किसिमका पोस्ट देखिनेछन्, जसमा तपाईंले अन्तक्र्रिया वा सेयर गर्न सक्ने सम्भाव्यता बढी हुन्छ, चाहे त्यो तपाईंको साथीले कुनै सल्लाह मागेको पोस्ट होस् अथवा धेरै अन्तक्र्रिया भएका समाचार सामग्री ।
फेसबुक पेजमा पर्न सक्ने असर
मानिसहरूको न्युजफिडमा विभिन्न पेजबाट प्रकाशित सामग्री कम देखिने भएकाले पेजको ‘रिच’, पेजको भिडियो हेरिने समय तथा फेसबुकबाट आउने ‘ट्राफिक’ घट्ने निश्चित प्राय: छ । सबैभन्दा चर्को मार पर्ने पेज चाहिँ ती हुनेछन्, जसमा कमेन्ट र अन्तक्र्रिया थोरै हुन्छन् । न्युजफिडमा तिनै पेजका पोस्ट धेरै देखिनेछन्, जसले मानिसहरूबीच बढी अन्तक्र्रिया गराउन सक्छन् ।
फेसबुकको यो अपडेटबाट धेरै मारमा पर्ने ती पेज हुनेछन् जसले फेसबुकका माध्यमबाट व्यापार गरिरहेका छन् । व्यापार गर्ने पेजको ‘पोस्ट रिच’ घट्नेबित्तिकै स्वत: उनीहरूको विज्ञापन हेर्ने मानिस कम हुनेछन् भने व्यापारसमेत घट्नेछ ।
त्यसैगरी यो अपडेटको मारमा पर्ने अर्को समूह भनेको समाचार प्रकाशक अथवा मिडिया हाउस हुनेछन् । अहिले विश्वव्यापी रूपमै अधिकांश मिडियाले आफ्नो समाचार जनमानसमा पुर्याउन फेसबुकको व्यापक प्रयोग गर्दै आएका छन् । जब फेसबुकको नयाँ अपडेटअनुसार फेसबुक पेजलाई कम प्राथमिकतामा राखिन्छ, यसले अधिकांश प्रकाशन गृहको समाचार सामग्री थोरै मानिसका बीच मात्र पुग्नेछ भने उनीहरूको पाठकको संख्यासमेत घट्ने सम्भावना छ । यसैगरी फेसबुकको ‘इन्स्ट्यान्ट आर्टिकल’ प्रयोग गरेर कमाउने प्रकाशन गृहलाई पनि यसको मार पर्नेछ ।
फेसबुकको चलाखी
फेसबुकमा पेजको सामग्रीलाई न्युज फिडमा कम गर्ने घोषणा गरिए पनि फेसबुकले विज्ञापन घटाउने कुरा भने गरेको छैन । यसको सोझो अर्थ फेसबुकले पेजहरूमार्फत बिज्ञापन चाहिरहेको छ जुन फेसबुकको आम्दानीको प्रमुख हिस्सा हो । घुमाउरो तरिकाबाट अहिले फेसबुकले पेजहरूलाई बिज्ञापन दिन बाध्य तुल्याउन लागेजस्तो देखिन्छ ।
फेसबुक पेजले के गर्ने ?
फेसबुकको यो अपडेटको मार कम गर्न अब फेसबुक पेजहरूले अन्तक्र्रिया हुने र धेरै कमेन्ट आउने खालका पोस्टहरू गर्न आवश्यक छ ।
यद्यपि बढी कमेन्ट आउने भन्दैमा फेसबुकले सबै प्रकारका पोस्टलाई यो श्रेणीमा राख्दैन । ‘तपाईं मेष राशिको भए लाइक गर्नुहोस्’, ‘देवीलाई लाइक गर्नुहोस्’ जस्ता विभिन्न उपाय अपनाएर लाइक र कमेन्ट बढाउने शैलीलाई फेसबुकले पहिले नै नियन्त्रणको प्रयास थालिसकेको छ । त्यसै गरी ‘यसलाई ट्याग गर्नुहोस्’, ‘उसलाई ट्याग गर्नुहोस्’ जस्ता पोस्टलाई पनि फेसबुकले नियन्त्रण गरिरहेको छ । यस क्रममा फेसबुकमा आफ्नो पेजको अन्तक्र्रिया र ‘रिच’ बढाउन प्रकाशकले फेसबुकमा बिज्ञापन गर्न पनि जरुरी देखिएको छ ।