साप्ताहिक संवाददाता
यतिबेला फ्लोरमा रहेका अर्थात् छायांकन भैरहेका चलचित्रको संख्या झन्डै एक दर्जन छ । यही माघ तथा फागुन महिनामा फ्लोरमा रहेका केही चलचित्र :
साली कसको भेनाको
माघको पहिलो साता छायांकन प्रारम्भ भएको चलचित्र साली कसको भेनाको को छायांकन यसै साता सम्पन्न भएको छ । चितवनबाट प्रारम्भ भएको चलचित्रको छायांकन धम्पुसमा पुगेर सम्पन्न भएको हो । भद्र भुजेलद्वारा निर्देशित यो चलचित्रमा रजनी गुरुङ, मरिष्का पोखरेल, देव सागर बिसी, विल्सन विक्रम राई, सुष्मा कार्की, बुद्धि तामाङ, रवि गिरी, प्रिया रिजाल, जयनन्द लामा आदि कलाकारले अभिनय गरेका छन् ।
जय भोले
पुराना चलचित्र निर्देशक तथा निर्माता अशोक शर्मा लामो समयपछि नयाँ चलचित्रको निर्माणमा सक्रिय भएका छन् । शर्माले निर्देशन तथा निर्माण गर्न लागेको चलचित्रको शीर्षक हो— जय भोले । गत शिवरात्री अर्थात् फागुन १ गते मंगलबार शर्माको गृहनगर झापाबाट यो चलचित्रको छायांकन प्रारम्भ भएको हो । चलचित्रको अधिकांश छायांकन झापा तथा इलाममा गरिने छ । चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सलोन बस्नेत, जयनन्द लामा, राजाराम पौडेल, बसुन्धरा भुसाल आदि कलाकारले अभिनय गरिरहेका छन् ।
कायरा
अभिनेता आर्यन सिग्देलको पछिल्लो चलचित्र कायरा पनि यतिबेला फ्लोरमा छ । फिलिपिन्सका आकर्षक लोकेसनमा छायांकन गरिएको यो चलचित्रमा आर्यनसंग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो पटक अनस्क्रिन रोमान्स गरेकी छिन् । साम्राज्ञी आर्यनको जोडीका रूपमा कस्ती देखिने हुन्, प्रतिक्षाकै विषय भएको छ । चलचित्र कायराको छायांकनस्थलबाट हालै एउटा तस्बिर सार्वजनिक भएको छ, जसमा आर्यन र साम्राज्ञीलाई फिलिपिन्सको समुद्री किनारमा रोमान्टिक मुडमा देख्न सकिन्छ । कायराका निर्देशक लक्ष्मण रिजाल हुन् ।
गरुड पुराण
चलचित्र गरुढ पुराण झन्डै तीन साताअघि देखि छायांकनमा छ । यो चलचित्रमा फरक पृष्ठभूमिबाट आएर काठमाडौंमा बाँच्नका लागि गरिरहेका युवाहरूको संघर्षको कथा समेटिको छ । हास्यप्रधान यो चलचित्रको निर्देशन सुवास कोइराला तथा सुसन प्रजापतिले संयुक्त रुपमा गरिरहेका छन् । चलचित्रमा कर्मा शाक्य, प्रविण खतिवडा, कामेश्वर चौरसिया, नाजिर हुसेन, प्रकाश घिमिरे आदि कलाकारले अभिनय गरिरहेका छन् । नयाँ अनुहार प्रियंका सिंह ठकुरीले यही चलचित्रमार्फत अभिनेत्रीका रूपमा डेब्यू गर्दैछिन् । चलचित्र गरुड पुराणको छायांकन काठमाडौं वरिपरिका आकर्षक लोकेशनमा भैरहेको छ ।
पण्डित बाजेको लौरी
माघको तेस्रो साता छायांकन प्रारम्भ भएको चलचित्र पण्डित बाजेको लौरीको निर्देशन दीपक ओलीले गरिरहेका छन् । यो चलचत्रिमा भोलाराज सापकोटा, प्रविण खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी आदि कलाकारले अभिनय गरिरहेका छन् । महेश दवाडीको कथा, पटकथा तथा संवाद रहने यो चलचित्रमा श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत निर्देशन छ ।
रामकहानी
निर्देशक सुदर्शन थापाको चलचित्र ‘रामकहानी’ को छायांकन पनि फागुनको पहिलो साता नै प्रारम्भ भएको छ । यो चलचित्रमा पूजा शर्मा तथा आकाश श्रेष्ठको मुख्य भूमिका रहनेछ । चलचित्रमा पूजा र आकाशसहित केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा आदि कलाकारले अभिनय गरिरहेका छन् । दिनेश न्यौपाने तथा महेश दवाडीको लेखनको यो चलचित्रको छायांकन शिवरात्रीको दिन प्रारम्भ भएको हो । अर्जुन पोखरेलको संगीत निर्देशनको यो चलचित्रका छायांकार सौरभ लामा हुन् ।
अरु०ाा भट्टराई