साप्ताहिक संवाददाता
शीतकालीन ओलम्पिकको नर्वेसँग अटुट सम्बन्ध छ । नर्वे नै त्यस्तो देश हो जसले लामो समयदेखि यो ओलम्पिकमा आफ्नो प्रभाव कायम गर्दै आएको छ । त्यसैले शीतकालीन ओलम्पिकको इतिहासमा उत्कृष्ट र सफल तीन खेलाडीको सूची बनाउँदा तीनै जना नर्वेजियनको नाम लिनुपर्यो भने आश्चर्य नमाने हुन्छ । शीतकालीन ओलम्पिकको एउटा उल्लेखनीय पक्ष यो पनि हो । को–को हुन् त शीतकालीन ओलम्पिकका सबैभन्दा ठूला तीन खेलाडी ?
ओले आइनर ब्योर्डनलेन
बायोथलनका खेलाडी हुन्— ओले आइनर ब्यार्नडलेन । ओलम्पिकको इतिहासमा एउटा पदक जित्नु पनि ठूलो उपलब्धि हुन्छ, तर केही खेलाडी अनेकौं पदक जितेर पनि थाक्दैनन् । यस्तै खेलाडी हुन्, ब्योर्डनलेन । शीतकालीन ओलम्पिकको इतिहासमा उनले कुल १३ पदक जितिसकेका छन् । ओले नै यो ओलम्पिकमा सर्वाधिक पदक जित्ने खेलाडी हुन् । सन् २०१४ को सोची ओलम्पिकमा उनले २ वटा स्वर्ण जितेका थिए । उनले जितेका कुल पदकमा ८ स्वर्ण, ४ रजत तथा १ कांस्य छन् । ओले अहिले ४४ वर्षका भए र उनी लगभग संन्यासको संघारमा छन् ।
ब्योर्न डाहली
क्रस कन्ट्री स्किङका खेलाडी ब्योर्न डाहलीले १२ वटा पदक जितेका छन् र कुल पदक संख्यामा ओले आइनर ब्योर्डनलेन भन्दा एक पदकले मात्र पछाडि छन् । ब्योर्डनलेनले नै डाहलीलाई चार वर्षअघि उछिनेका हुन् । डाहली सन् ९० तिरका चर्चित खेलाडी हुन् र त्यही समयकालमा शीतकालीन खेलमा उनको पूर्णत: प्रभुत्व थियो । डाहलीले तीन संस्करणको शीतकालीन ओलम्पिक खेले र त्यसबीच ८ स्वर्ण तथा ४ रजत जिते । सन् १९९९ मा खेलकै क्रममा दुर्घटनाको सिकार भएपछि उनको खेल जीवनमा पूर्ण विराम लागेको थियो ।
म्यारिट ब्योर्गन
शीतकालीन ओलम्पिकका सबैभन्दा सफल महिला खेलाडी हुन्— म्यारिट ब्योर्गन । उनले कुल ११ पदक जितेकी छिन् र त्यसमा ६ स्वर्ण, ३ रजत तथा १ कांस्य छन् । सन् २०१० को भ्यान्कुभर ओलम्पिकका क्रममा उनले आफूलाई इतिहासकै सफल महिला खेलाडीका रूपमा स्थापित गरेकी हुन् । ब्योर्गन प्योङचाङमा पनि सहभागी छिन् र उनका सामु आफ्नो पदक संख्या वृद्धि गर्ने एउटा ठूलो अवसर मात्र छैन, ओले आइनर ब्योर्डनलेनलाई उछिन्ने मौकासमेत छ ।