अन्डरवल्र्ड शैलीमा विदेशमा लुकेर नेपालमा क्राइम र्याकेट चलाइरहेका गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउण्टरमा मारिएका छन् । ३ वर्षदेखि प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका मनोज बुधबार विहान झिसमिसेमै रुपन्देहीको देवदह—४ भवानीपुरमा प्रहरीसँगको इन्काउण्टरमा मारिएका हुन् ।
उनीसँगै उनका निकट सहयोगी सोम लामा पनि इन्काउटरमा मारिएका छन् । देवदहको भवानीपुरमा प्रहरीसँग आमने—सामने भएपछि पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि उनीहरुमाथि प्रहरीले गोली चलाएको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताए ।
गोली लागि घाइते भएका उनलाई तत्कालै उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल लगिएको थियो । अस्पतालमा नै दुवैलाई मृत घोषित गरिएको थियो । सोम उनको दायाँ हात बनेर अपराधकर्ममा सक्रिय थिए । केन्द्रीय अनुसन्धान ब्यूरोले (सिआईबी) लामो समयदेखि यी दुवै जनालाई खोजी गरिरहेको थियो ।
डिएसपी कुमुद ढुंगेलको कमाण्डमा रहेको प्रहरी टोलीसँगको इन्काउण्टरमा मनोज मारिएका हुन् ।
कुमुद तिनै प्रहरी अधिकारी हुन्, जो २०७१ साउन २१ मा धादिङ र काठमाडौंको सीमाना नागढुंगामा भएको चर्चित चरी इन्काउण्टर गर्ने टोलीमा पनि थिए । मनोजकै खोजी गर्नका लागि प्रहरीले गत सातामात्रै कुमुदलाई रुपन्देही पठाएको थियो । सिइआईबीका इन्स्पेक्टर दीपेन्द्र अधिकारी र सई रमेश बजगाई उनकै खोजीमा भारतको गोवा पुगेका थिए । दुई दिनअघि मनोजलाई गोवामा पक्राउ गरिएका खबर केही अनलाइनहरुमा सार्वजनिक भएका थिए । तर, प्रहरीले अधिकारीहरुले उक्त समाचारको खण्डन गरेका थिए ।
को हुन् मनोज पुन?
हत्या, अपहरण तथा शरीर बन्धक, फिरौती, हातहतियार तथा खरखजना, ब्ल्याकमेलिङ, गुण्डादीगर्दीका आधा दर्जनभन्दा बढी अपराधिक घटनाका अभियुक्त हुन्—मनोज पुन । रुपन्देहीको देवदह—६ खैेरेनीका ३२ वर्षीया मनोजको वास्तविक थर भने बुढामगर हो ।
२०७० सालदेखि विभिन्न अपराधिक गतिविधीमा संलग्न भइरहेका उनलाई प्रहरीले मोष्ट वान्टेडको सूचीमा राखेको थियो । त्यसअघि उनी राजनीतिक संरक्षण खोज्दैं एमालेको युवा संघमा पनि आवद्ध भएका थिए, युवा संघअघि उनी वाइसिएलमा थिए । तर, उनका अपराधिक गतिविधीमा संलग्न भएपछि उनलाई युवा संघले कारवाही गरेको थियो । २ असोज २०७० मा मनोजमाथि गोली चलाएको अभियोगमा हातहतियार तथा खरखजाना मुद्धा दायर भएको थियो । सोही मितिमा मनोजमाथि ज्यान मार्ने उधोगमा मुद्धा दर्ता भएको छ ।
४ पुस २०७३ मा उनकै योजनामा एमालेको भातृ संगठन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो । त्यसपछि प्रहरीले उनलाई संगठित रुपमा कर्तब्य ज्यान मुद्धा लगाएको छ । त्यसको केही दिनपछि नै मनोजले ८ पुस २०७३ मै इन्टरनेटमार्फत कल गरी एक ब्यापारीलाई २० लाख फिरौती माग गरेका थिए । तर, ती ब्यापारीले आफूले त्यति धेरै रकम दिन नसक्ने बताएपछि उनको अपहरण गर्ने धम्की दिएका थिए । पछि मनोजले ती ब्यापारीबाट आफ्नो सहयोगी पठाएर २ लाख रुपैयाँ फिरौती असुलेका थिए । संगठित रुपमा अपहरण उधोगमा पनि उनीमाथि मुद्धा दर्ता भएको छ ।
२० साउन २०७४ मा मनोजकै योजनामा फिरौती नदिएपछि रुपन्देही मणिग्रामका मार्बल ब्यवसायीमाथि दुई राउण्ड गोली प्रहार भयो । मनोजले भण्डारीसँग ४० लाख फिरौती मागेका थिए, उक्त फिरौती नदिएपछि तर्साउनका लागि उनले भण्डारीमाथि कन्ट्याक्ट सुटर प्रयोग गरी गोली हान्न लगाएका थिए ।
२१ पुसमा मनोजले नै फर्निचर ब्यवसायी बसन्त (बलु) पौडेलको हत्या गराएका थिए । यी दुई हत्याबाहेक उनको संलग्नता ब्यवसायी शरदकुमार गौचन हत्यामा पनि देखिएको प्रहरी अधिकारीहरुको दाबी छ । यस्तै, गत वर्षको चैतमा गुण्डा नाइके दावा लामामाथि राजधानीको गौरीघाटमा भएको गोली प्रहारमा पनि उनकै समूहको संलग्नता रहेको बताइन्छ ।
यतिमात्र होइन्, मनोजले रुपन्देही र काठमाडौंलगायतका ठाउँका ठूला ब्यापारी तथा ब्यवसायीबाट पनि फिरौती माग्दै नदिए ज्यान मार्ने धम्की दिने गरेका छन् । उनले विभिन्न ब्यवसायी, ब्यापारीहरुलाई अहिले पनि इन्टरनेट कलमार्फत फोन गरेर ज्यान मार्ने धम्की दिदैं करोडौ रुपैया फिरौती माग्ने गरेका थिए ।