सन २०१८ का लागि मिस नेपालको खोजी कार्य प्रारम्भ भएको छ । मिस नेपालको २३ औँ संस्करणका लागि ‘द हिडेन ट्रेजर’ले मिस नेपालको खोजी प्रक्रिया विधिवत रुपमा प्रारम्भ गरेको हो ।
मिस नेपाल खोजीका लागि अहिले आयोजक टिम विभिन्न कार्यक्रमका साथ देशका विभिन्न सहरमा निस्किएको छ ।
वीरगन्ज, विर्तामोड, धरान, पोखरा, चितवन, नेपालगंज, बुटवल र धनगढीमा अडिसन चरणको पैतियोगीता सम्पन्न भएको छ । फेब्रुअरी १७ मा काठमाडौंमा समेत अडिसन चरणको प्रतियोगीता सम्पन्न भैसकेको छ । विभिन्न अडिसन चरणमा गोपाल सुन्दर लाल कक्षपति, सुवर्ण क्षेत्री, पूर्व मिस नेपालद्वय माल्भिका सुब्बा र सुविन लिम्बु तथा कोरियोग्राफर रचना गुरुङ शर्मा निर्णायकका रुपमा रहेका थिए । अडिसन राउन्डमा सहभागी युवतीहरुको आत्मविश्वास, व्यक्तित्व, सुन्दरता, बौद्धिक क्षमता लगायतका कुराहरुको मुल्यांकन गरिएको थियो ।
मिस नेपाल आयोजक संस्थाका अनुसार अडिसनबाट चयन भएका फाइनलिष्टहरु ७ साता लामो प्रशिक्षणमा सहभागि हुने बताइएको छ । जसमा मुख्य प्रशिक्षकका रुपमा कोरियोग्राफर रचना गुरुङ शर्मा रहनेछन् भने राजभाई सुवाल अफिसियल फोटोग्राफरका रुपमा हुनेछन् । यस पटक आउँदो अप्रिल ११ तारिख अर्थात् चैत्र २८ गते बूधबार मिस नेपाल २०१८ को ग्राण्ड फिनालेबाट मिस नेपाल वल्र्ड, मिस नेपाल युनिभर्स मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनलका रुपमा विजेताहरु चयन हुनेछन् । उनीहरुले क्रमश: २०१८ को मिस वल्र्ड, मिस युनिभर्स, मिस अर्थ तथा मिस इन्टरनेसनल अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता जनाउनेछन् ।