साप्ताहिक संवाददाता
निर्देशक : साम्तेन भुटिया
कलाकार : सत्यराज आचार्य, सुनिल थापा, मेनुका प्रधान, सुप्रिया कटवाल, कामेश्वर चौरासिया आदि ।
संगीतकार : सत्यराज–स्वरूपराज आचार्य
अहिले नेपालमा पनि सत्यकथामा आधारित चलचित्र निर्माण हुने क्रमले गति लिन थालेको छ । आज शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘साढे सात’ पनि एउटा सत्य घटनामा आधारित छ । दुई वर्षअघि भारतले नेपालमा लगाएको नाकाबन्दीमा आधारित यो चलचित्रमा नाकाबन्दीको समयमा मिडिया हाउस तथा सञ्चारकर्मीहरूले भोग्नुपरेका पीडालाई आकर्षक शैलीमा चित्रण गरिएको छ ।
चलचित्रमा गायकका रूपमा लोकप्रिय सत्यराज आचार्यले सञ्चारकर्मीको भूमिका निर्वाह गरेका छन् । म्युजिक भिडियोको अभिनयमा सक्रिय अभिनेत्री तथा मोडल सुप्रिया कटवालले यही चलचित्रबाट रजतपटको यात्रा प्रारम्भ गरेकी छिन् । चलचित्रमा सुप्रियाले सत्यराजकी श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् ।
यो चलचित्रमा पटकथा तथा सम्पादन पनि निर्देशक भुटियाकै छ भने चलचित्रका छायांकार अनिष तामाङ हुन् । चलचित्र साढे सातको निर्माण मौरी इन्टरटेन्मेन्ट, ब्ल्याक पेपर स्टुडियो तथा एबीसी एन्ड एआरसी ग्रान्डसन फिल्म प्रोडक्सनले संयुक्त रूपमा गरेका हुन् ।