साप्ताहिक संवाददाता
निर्देशक : घनश्याम लामिछाने
कलाकार : सौगात मल्ल, कर्मा, सृजना सुब्बा, बुद्धि तामाङ, जस्मिन श्रेष्ठ, प्रकाश घिमिरे, प्रमिला तुलाचन आदि ।
संगीतकार : कालीप्रसाद बाँसकोटा तथा विकास चौधरी ।
फरक विषयवस्तुमा आधारित चलचित्र निर्देशन गरेर चर्चामा आएका निर्देशक घनश्याम लामिछानेको नयाँ चलचित्र ‘पञ्जेबाजा’ को सार्वजनिक प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ । दर्शकहरूलाई मनोरञ्जनको शतप्रतिशत ग्यारेन्टी दिने दाबी गरिएको यो चलचित्रमा मौलिक नेपाली कथा चित्रण गरिएको बताइन्छ ।
राजेश शाहीद्वारा निर्मित चलचित्र पन्चैबाजामा नेपालको ग्रामीण भेकमा घट्ने घटनाक्रमलाई मुख्य विषय बनाइएको छ । नयाँ स्वाद पस्किने दाबी गरिएको यो चलचित्रको अधिकांश छायांकन पोखरा तथा आसपासका रमणीय लोकेसनमा गरिएको छ भने चलचित्रमा समावेश गरिएको घिनघिन मादल... गीत लोकप्रिय भैसकेको छ । यो चलचित्रमा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद छ ।
निर्देशक घनश्याम लामिछानेका अनुसार चलचित्र पञ्चैबाजामा नेपालका अधिकांश गाउँमा घटिरहने एउटा त्यस्तो घटनालाई प्रस्तुत गरिएको छ, जसलाई मानिसहरूले सुन्दै त आएका छन् तर वास्ता गरेका छैनन् । सामान्य तर गम्भीर विषयमा निर्माण भएको यो चलचित्र प्रदर्शन भएपछि मात्र दर्शकले उक्त विषयप्रति ध्यान दिने चलचित्र निर्माण पक्षको अनुमान छ ।