खाऊँ साथी हो ! खाऊँँ
खाऊँ साथी हो ! खाऊँँ
यो देशलाई पिसेर धूलो पारेर खाऊँँ
ऐन–नियमको आँखामा फुलो पारेर खाऊँ
हाब्रो सकेसम्म ठूलो पारेर खाऊँ
खाऊँ साथी हो खाऊँ
कानुनमा दुलै दुलो पारेर खाऊँ ।
सात पुस्तालाई मात्र होइन
सोह्र पुस्तालाई पुग्ने गरी खाऊँ
खाँदा–खाँदा आफ्नै दिसा–पखालामा
आफै डुब्ने गरी खाऊँ
नंग्याएर, दारेर, निचोरेर खाऊँ
भुत्ल्याएर, रेटेर, चिथोरेर खाऊँ
सुतेर खाऊँ, बसेर खाऊँ
खाऊँ साथी हो ! खाऊँ
नालीमै घुँडा धसेर खाऊँ ।
क्रान्तिकारी मजेत्रोमा
लुटपुटिएर खाऊँ
गेरु वस्त्रमा गुटमुटिएर खाऊँ
दौरामा ढुकुटी लुकाएर खाऊँ
लँगौटीमा सुकुटी सुकाएर खाऊँ
हिसाब हिनामिना गरेर खाऊँ
लेनदेन मिनाहा गरेर खाऊँ
नगरिदिनुपर्ने गरिदिएर खाऊँ
गरिदिनुपर्ने नगरिदिएर खाऊँ
खाने खाडलहरू खनी–खनी खाऊँ
‘खानु हुँदैन’ भनी–भनी खाऊँ
प्रश्न र प्रमाणहरूका मुख
सिलाएर खाऊँ
खाऊँ साथी हो ! खाऊँ
शौचालयदेखि न्यायालयसम्म
सेट मिलाएर खाऊँ ।
खबरदार
हजार–लाख खाएर कुख्याति नकमाऊँ
करोड–अरब खाएर मान बढाऊँ
समातिए पनि बदनाम नहुने गरी खाऊँ
थुनिए पनि नाम चल्ने गरी खाऊँ
हाकाहाकी खाऊँ, भकाभकी खाऊँ
ढाटदेखि खाँदै खाँदै घाटसम्मै खाऊँ
खाऊँ साथी हो † खाऊँ
यो देशलाई अगस्तीहरूको बस्ती बनाएर जाऊँ ।