होली रङहरूको पर्व हो । रङ खेल्दा शरीरमा नकारात्मक असर पर्न सक्छ, तर आजभोलि शरीरमा रङ नलगाई पनि होली खेल्न सकिन्छ । आफ्नो स्मार्टफोनमार्फत अरूलाई रङ हान्न वा आफूलाई रङ लगाउन सकिन्छ । आफ्नो कम्प्युटर वा स्मार्टफोनमार्फत यस्ता रंगीन अनुभव आदान–प्रदान सम्भव छ । यसका लागि विभिन्न एप्स उपलब्ध छन् । यी एप्समार्फत आफ्ना साथीभाइ वा आफन्तलाई शुभकामना वा एसएमएस पठाउन मात्र नभै उनीहरूलाई रङसँग खेलेको अनुभूति दिलाउन सकिन्छ । कतिपय एप्स अफलाइनमै पनि प्रयोग गर्न सकिन्छ । यस्ता एप्स एन्ड्रोइड, आइओएस वा विन्डोज मोबाइलमा समेत उपलब्ध हुन्छन् ।
तस्बिरमा रङ भर्न
होलीमा रङ खेल्नु सबैको रुचिको विषय नहुन सक्छ, तर सबै साथीभाइलाई आफूले पनि होली खेलेको देखाउन विभिन्न प्रकारका एप्स प्रयोग गर्न सकिन्छ । आजभोलि धेरैले आफ्ना गतिविधि फेसबुक वा अन्य सामाजिक सञ्जालमा प्रदर्शन गर्ने चलन छ । त्यसैले ती एप्स यस्ता कार्यका लागि उपयोग गर्न सकिन्छ । एप्पी होली–कलर योर पिक्स त्यस्तै खालको एउटा एप्स हो । यसको सहयोगले आफ्नो तस्बिरमा रङ भर्न सकिन्छ ।
होली तस्बिर सजाउन
होलीका तस्बिर सजाएर राख्न विभिन्न एप्स उपलब्ध छन् । माई होली फोटो एप्स प्रयोग गरेर जो–कसैको तस्बिरमा रङ भर्न सकिन्छ । यसका कारण वातावरणसमेत शुद्ध राख्न सहयोग मिल्छ, किनभने कसैलाई रङ वा अबिर लगाउन उसैकहाँ पुग्नुपर्ने बाध्यता हुँदैन । आफूभन्दा टाढा रहेका साथीभाइको तस्बिरमा रङ वा अबिर लगाइदिएर होली मनाएको अनुभूति गर्न सकिन्छ । यसमा तस्बिरलाई सम्पादन समेत गर्न सकिने सुविधा छ ।
त्यसैगरी होलीको वातावरणलाई क्यामेरामा कैद गर्न र आवश्यक परे प्रिन्ट गर्न क्यामेरा एमएक्स एप्स प्रयोग गर्न सकिन्छ । क्यामेरा एमएक्समा रियल टाइम फिल्टर उपलब्ध छ । आफूले कैद गरेका तस्बिर प्रिन्ट गरेर निकाल्न पनि यसको प्रयोग गर्न सकिन्छ । यसमा लोमो, सेपिया, पप आर्ट, नेगेटिभ आदि विभिन्न प्रकारका इफेक्ट प्रयोग गर्न मिल्छ ।
फेसबुकमा कभर तस्बिर राख्न वा अलि ठूलो तस्बिर पठाउन होली वालपेपर एप्स प्रयोग गर्न सकिन्छ । यसमार्फत आफूलाई राम्रो लागेको वालपेपर डाउनलोडसमेत गर्न मिल्छ । त्यसैगरी ह्याप्पी होली वालपेपरबाट पनि विभिन्न प्रकारका वालपेपर डाउनलोड गर्न सकिन्छ ।
होली स्पेसल फोटो एनिमेटेड एप्सको सहयोगले आफूलाई होलीको रङमै समाहित गर्न सकिन्छ । यसको सहयोगले वर्षा, प्राकृतिक स्नो फल, उडिरहेको पन्छी आदिमा आफैंले रङ भर्न सकिन्छ । यसका कारण आफैंले पनि रङसँग खेलेको अनुभव हुन्छ । हिजोआज जीआईएफ तस्बिरको प्रचलन बढेको छ । यही कुरालाई मनन गरी होली जीआईएफ एप्स निर्माण गरिएको छ । आफ्ना साथीभाइलाई फरक तरिकाले होलीको शुभकामना प्रदान गर्न यो एप्स प्रयोग गर्न सकिन्छ ।
होलीसम्बन्धी जानकारी लिन
होलीसम्बन्धी जानकारी दिन विभिन्न एप्स उपलब्ध छन् । ती एप्सको सहयोगले होलीको सांंस्कृतिकदेखि आधुनिक सबै जानकारी प्राप्त गर्न सकिन्छ । होली फेस्टमा होलीसँग सम्बन्धित विभिन्न क्रियाकलाप गर्न सकिन्छ । उक्त एप्स ईश्वरप्रति विश्वास राख्नेहरूका लागि निर्माण गरिएको हो । यसमार्फत होलीको सांस्कृतिक पक्षका बारेमा विभिन्न जानकारी लिन सकिन्छ ।
होली नामक एप्समा होलीसँग सम्बन्धित सबै जानकारी फेला पार्न सकिन्छ । होलीको उत्पत्ति र अन्य विभिन्न पक्षका बारेमा जानकारी लिन यो एप प्रयोग गर्न सकिन्छ । यसमा होली र यससँग सम्बन्धित सबै जानकारी संकलन गरिएको छ ।
होलीलाई संगीतमय बनाउन
होलीसँग सम्बन्धित गीत प्रशस्तै छन् । ती सबै गीत सुन्न अनेकौं एप्स उपलब्ध छन् । एन्ड्रोइड, विन्डोज र ब्ल्याकबेरी सबै मोबाइलमा ती एप उपलब्ध हुन्छन् । ती एपमा होलीसँग सम्बन्धित विभिन्न प्रकारका गीत उपलब्ध छन् । त्यसैगरी होली सङ्समा होलीसँग सम्बन्धित हिन्दी गीतहरू उपलब्ध हुन्छन् । यसलाई अफलाइन पनि चलाउन सकिन्छ ।
होली परिकारका लागि
होलीमा मानिसहरू रङ खेल्न मात्र होइन, मीठा परिकार खानसमेत रुचाउँछन् । यही कुरालाई मनन गरी विभिन्न एप्स निर्माण गरिएका छन् । इन्डियन फुड्स नामक एप्सको सहयोगबाट त्यस्ता परिकार घरमै बनाउन सकिन्छ । विभिन्न स्वादका परिकार खाँदै होली खेल्नुको मज्जा बेग्लै हुन्छ । यसमा भारतका प्रसिद्ध सेफ विकास खन्ना, हरि नायक आदिले तयार पारेका परिकारसम्बन्धी विभिन्न भिडियो हेर्न सकिन्छ ।
होली एसएमएस
आफूलाई मन पर्ने मानिसलाई विभिन्न प्रकारका एसएमएस पठाउन होली एसएमएस एप प्रयोग गर्न सकिन्छ । यसमा अंग्रेजी तथा हिन्दी भाषाको ठट्यौला एसएमएसहरू उपलब्ध छन् ।