साप्ताहिक संवाददाता
‘होरी खेलय रघुबिरा अबधमे,
केकरे हाते कनक पिच्कारी
केकरे हात अबिरा
अबधमे होरी खेलय रघुबिरा’
उल्लास र उमङ्गको सञ्चार गर्ने पर्व होलीका बेला गाउँघरमा गाइने रघुबिरा गीत सुनिन छाडेको छ । होली आएको संकेत दिन ८/१० दिन अघिदेखि नै गाउँ घरमा गुञ्जिने रघुबिरा गीत सुनिन छाडेपछि लोप हुन थालेको भन्दै गाउँलेहरू चिन्तित छन् । होलीको परम्परागत मौलिकता हराउँदै गएको छ । रंगहरूको पर्व होलीमा रघुबिरा सुन्न नपाउँदा होली खल्लो हुँदै गएको बताउनेहरू पनि कम छैनन् ।
यो वर्ष यहाँ कहीँ–कतै रघुबिरा गीत सुनिएको छैन । विशेष गरी तराईका जिल्लामा रमाइलो गरी होली मनाउन गाउँ–सहरका बूढापाका तथा युवाहरू रघुबिरा र जोगिरा लयमा भाका हाल्थे । समूह बनाएर युवादेखि बुढापाकाहरू ढोल, मुजुरा, हार्मोनियम, डम्फु तथा झ्याली बजाउँदै रघुबिरा र जोगिरा गाएर रमाइलो गर्थे ।
रघुबिरा र जोगिरा लयमा हाँसो–ठट्टा, गाली–गलौज र व्यंग्य गीत अनि भजन तथा चुड्का भन्दै रमाइन्थ्यो । अपशब्द प्रयोग गरेर गालीगलौज र हाँसो–ठट्टा गर्दा पनि सबैले त्यसलाई सामान्य रूपमा लिन्छन् । यद्यपि आज–भोलि गाउँ, टोल, चोक, बजार कहींकतै रघुबिरा गीत र जोगिरा लय सुनिँदैन । जोगिरा सुन्न नपाएर ५/६ वर्षदेखि होली खल्लो लागिरहेको अवध साहित्यकार राघवेन्द्र श्रीवास्तवले बताए । यसको आफ्नै महत्व छ, रघुबिरा र जोगिरा सुन्दै शुद्ध माटो र हिलोले होली खेले भाइचारा र आपसी सद्भाव अझ मजबुत हुन्छ, उनले बताए ।
पहिले–पहिले होली सुरु हुन नपाउँदै नयाँ ढोल, मुजुरा र हार्मोनियम बजाउने तथा पुराना बाजा मर्मत–सम्भारको चटारो हुन्थ्यो तर अहिले त्यस्तो केही देखिँदैन, —सिहोखोर गाविस–४ का ७० वर्षे सजन धोबी भन्छन् । उनी १० वर्षअघिसम्म होलीका बेला रघुबिरा र जोगिरा गाएरै ६ महिनाको खर्च जम्मा गर्थे, तर अब त्यो परम्परा लोप हुँदै गएकोमा धोबी पनि दु:खी छन् । वसन्तपुर गाविसका प्रेम गिरी पनि समूह बनाएर रघुबिरा र जोगिरा सरर गाउँदै गाउँ–गाउँ चहार्थे तर अब जोगिरा बोलीमा मात्र सीमित भएको छ । होलीका बेला एफएम तथा टेलिभिजनबाटै रघुबिरा र जोगिरा प्रसारण हुने हुँदा सिकारुहरूले विस्थापित हुनुपरेको गिरीले बताए । जोगिरा गाउन धेरै मेहनत गर्नुपर्छ, एफएमबाट सजिलै सुनिने हुँदा धेरै उतै आकर्षित भएका छन्, —गिरीले बताए ।
जोगिरा सुन्न पहिले–पहिले टाढा–टाढाबाट साथीभाइ–इष्टमित्रहरू आफ्नो घर आउँथे भन्दै वसन्तपुरकै कैलाशनाथ मिश्रले त्यसले दु:ख साटासाट र एक–अर्काको पिरमर्का कम गर्ने गरेको बताए । रघुबिरा र जोगिरा नगाइँदा अहिले गाउँघर, सहरबजार र चौकहरू सुनसान छन् । होली आएको संकेत पाउन पनि गार्हो भएको छ, —मिश्र भन्छन् ।
जोगिरा गाउँदै रंग र अबिर खेलेर मनाइने होलीको अर्कै मज्जा छ, —महाराजगन्जका गणेश पाण्डे भन्छन् । पाण्डेले जोगिराले दु:ख–पीडामा मल्हम लगाउने भएकाले तराईको महत्वपूर्ण परम्परा लोप हुन नदिन सबै सक्रिय हुनुपर्ने कुरामा जोड दिए ।