साप्ताहिक संवाददाता
होली मात्र होइन, कुनै पनि चाडपर्वले सामाजिक सद्भाव एवं सांस्कृतिक सामीप्यता वृद्धि गर्छ र मानिसहरूलाई समान धरातलमा ल्याउँछ । नेपालको तराई र पहाड दुवै क्षेत्रमा धूमधामका साथ मनाइने पर्व हो— होली । त्यसैले यसले पहाड, हिमाल तथा तराईलाई भावनात्मक रूपमा जोडिरहेको छ । पहाडमा पनि रंगको उमंगमा रमाइन्छ भने तराईमा पनि रंगसँगै होली मनाइन्छ ।
हरेक चाडपर्वको सांस्कृतिक एवं भौगोलिक, सांस्कृतिक सीमाहरू हुन्छन् । यिनमा एउटै समानता भनेको सबै चाडले सद्भाव कायम गर्न सहयोग पुर्याउनु नै हो । होली वसन्त ऋतु आएको जानकारी दिने पर्व हो । यो रंगहरूको सम्मिश्रणमा खेलिने पर्व हो । होलीले सबै वर्ग, लिंग तथा उमेरकामा रोचकता भर्छ । सबै रंगको, सबैतिरको एउटै विशेषता के हो भने तिनीहरूको ‘प्रतीकात्मकता’ एउटै हुन्छ । जसरी पहाडले रातो रंगलाई विजयको प्रतीक मान्छ भने तराईले पनि त्यही मान्छ ।
सांस्कृतिक रूपमा हेर्ने हो भने पनि थोरै चाडपर्वमध्ये होली तराई र पहाडलाई दरिलोसँग जोड्ने एउटा पर्व हो । होलीमा भेदभाव हँुदैन । गरिबले पनि रंगकै होली खेल्छ, धनीले पनि त्यसैले खेल्ने हो । उमेरले पनि होली खेल्न रोक्दैन । बालबालीका हुन, युवा हुन् वा वृद्ध सबैमा यसको उमंग हुन्छ । यसले पहाडमा जन्मिइ–हुर्किएको र तराईमा हुर्किएको भनेर पनि छुट्याउँदैन । त्यहाँ लिंगको असमानता पनि हुँदैन । अझ रोचक कुरा त के छ भने मुस्लिम समुदायका मानिसहरू रंग खेल्न रुचाउँदैनन्, तर उनीहरू पनि सामूहिक रूपमा होलीमा सामेल हुन्छन् र हिन्दूहरूसँगै प्रेम र सद्भाव बाँडिरहेका पाइन्छन् ।
डा. रामदयाल राकेश,
संस्कृतविद्
अभद्र क्रियाकलाप गर्नेहरूलाई कानुनी कारवाही
होली पर्वलाई शान्तिपूर्ण बनाउन तथा कुनै पनि दुर्घटना हुन नदिन सुरक्षा व्यवस्था कडा र व्यवस्थित बनाएका छौं । कसैको इच्छाविपरीत रंग छर्कने तथा लोला हान्नेहरूलाई तत्काल कारबाही हुनेछ । मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थलमा होहल्ला गर्ने, सामाजिक व्यवस्थामा खलल पुर्याउनेहरूलाई तत्काल नियन्त्रणमा लिइनेछ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेहरू पनि हुन्छन्, त्यसकारण हाम्रो ट्राफिक चेकिङ कडा हुनेछ । यदि त्यस्तो पाइए तत्काल सवारी र चालक दुवैलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउँछौं ।
विगतका वर्षहरूमा महिलाहरूविरुद्ध यौन दुव्र्यवहार, बालबालिकाहरूसँग दुव्र्यवहार गर्ने जस्ता कार्यहरू पनि भएको पाइन्छ । त्यस्ता घटना नहुन भनेर हामी विशेष सतर्क छौं । यदि कहीं त्यस्ता घटना भएको पाइए तत्काल पक्राउ गरी मुद्दा दायर गरिनेछ । समग्रमा भन्ने हो भने कुनै मानिसको इच्छाविपरीत कसैले अधिकार हनन गर्ने मनसाय राख्छ भने प्रहरी त्यसका विरुद्धमा तत्कालै लाग्छ । कसैले कसैप्रति गरेको व्यवहारले कानुन आकर्षित हुन्छ भने त्योअनुसारको कारबाहीको भागिदार समेत बन्नुपर्छ । प्रहरी त्यसमा प्रतिबद्ध छ । हाम्रो अधिकतम प्रयास शान्तिपूर्ण तरिकाले इच्छाअनुसार होली खेल्ने वातावरण बनाउने ।
होलीलाई व्यवस्थित बनाउन त्यस दिन दैनिक रूपमा खटिनेभन्दा ५ सय बढी प्रहरी काठमाडौंमा खटिने छन् । यदि कसैले होलीका नाममा अराजकता निम्त्याए उसलाई पक्राउ गरी कानुनअनुसार मुद्दा चलाइनेछ । होलीको दिन मादक पदार्थ सेवन गर्ने, इच्छाविपरीत कसैलाई रंग लगाउने, लोला हान्ने काम गर्नुहँुदैन । त्यसो गरे ऊ कानुनको दायरामा आउँछ ।
तीन–चार वर्षयताको होलीको ट्रेन्ड हेर्ने हो भने अभद्र किसिमले खेलिने होलीमा कमी आएको छ । मानिसहरू सभ्य अनि शिष्ट हुँदै गएका छन् । नागरिकहरूले अरूको अधिकार र आफ्नो अधिकारको संरक्षण कसरी गर्ने भन्ने कुरा बुझ्दै गएका छन् । आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकारको सम्मान गर्नुपर्छ भन्ने कुरा बुझिसकेपछि यस्ता पर्वहरू आफैं मर्यादित हुँदै जान्छन् । शिष्ट र सभ्य रूपमा कानुन प्रयोग गर्ने अभ्यासमा प्रवेश गरिसकेपछि स्वभाविक रूपमा यस्ता कुरामा परिर्वतन आउँछ । जसले यो कुरा बुझ्दैन ऊ कानुनको दायरामा आउँछ ।
विश्वराज पोखरेल,
एसएसपी, महानगरीय प्रहरी परिसर, काठमाडौं