साप्ताहिक संवाददाता
नेपाली क्रिकेट अबको केही दिनमा सबैभन्दा ठूलो परीक्षाबाट गुज्रिनेछ । यो परीक्षा मात्र हुनेछैन, सबैभन्दा ठूलो अवसर समेत हुनेछ, वास्तवमै ठूलो अवसर । नेपालका सामु चार वर्षका लागि वान डे टिमको मान्यता प्राप्त गर्ने अवसर छ । जिम्बावेमा मार्च ४ देखि २५ सम्म आईसीसी वल्र्डकप क्वालिफायर हुँदैछ । यसमा कुल दस टिम छन् र सहभागी टिमहरूलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको अन्त्यमा शीर्ष दुई टिमले वान डे विश्वकपमा प्रवेश पाउनेछन् ।
नेपालको लक्ष्य भने त्यो दुई स्थान हुनेछैन, बरु हुनेछ, शीर्ष आठ स्थान । प्रतियोगिताको समूह ‘ए’ मा छन्, वेस्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड, पपुवा न्युगिनी र युएई । यसमध्ये वेस्ट इन्डिज र आयरल्यान्ड टेस्ट मान्यता प्राप्त टिम हुन् । अर्को समूहमा नेपाल छ र त्यसमा छन्, जिम्बावे, अफगानिस्तान, स्टकल्यान्ड र हङकङ । यसमा जिम्बावे र अफगानिस्तानलाई टेस्ट मान्यता छ । सुरुमा दुवै समूहमा लिग खेल हुनेछ र त्यसपछि सुपर सिक्सका खेलहरू हुनेछन् । नेपालले आफ्नो समूहका केही खेलमा राम्रो नतिजा निकाल्न सक्ने हो भने अबका चार वर्षका लागि वान डे मान्यता प्राप्त गर्नेछ । प्रतियोगिताको अन्त्यमा दुई टिम फेरि आईसीसी डिभिजन–टुमा झर्नेछन् । त्यसमा नपर्नु पनि नेपालका लागि ठूलो फड्को हुनेछ । यो सबै अवसर भर्खर सम्पन्न आईसीसी डब्लूसीएल डिभिजन–टुमा नेपालको राम्रो प्रदर्शनले तयार गरेको हो ।
उक्त प्रतियोगितामा नेपाल उप–विजेता रह्यो । फाइनलमा नेपाल युएईसँग ७ रनले पराजित भएको थियो । लिग चरणमा भने नेपाल पहिलो स्थानमा थियो । प्रतियोगिताअघि नेपाली टिमको आलोचना गर्नेहरू धेरै थिए । डर थियो, नेपालको प्रदर्शन कमजोर त हुनेछैन ? प्रतियोगितामा नेपालको ब्याटिङ त राम्रो हुन सकेन, तर बलिङ भने उत्कृष्ट रह्यो । टिमको प्रदर्शनमा आलोचना गर्न सकिने पक्ष धेरै थिए, यद्यपि नेपाल प्रतियोगिताको शीर्ष दुईमा रहँदै आईसीसी वल्र्डकप क्वालिफायरमा छनौट भयो ।
यो यात्राका नायक रहे— १४ जना खेलाडी । आईसीसी वल्र्डकप क्वालिफायरकै लागि भनेर भर्खरै टिम पनि घोषणा गरिएको छ र त्यसमा छन्, १५ जना खेलाडी । यसमा डिभिजन–टु खेलेका सबै १४ खेलाडी छन् । थपिएका एक खेलाडी हुन्, ललितनारायण राजवंशी । उनी स्पिनर हुन् र तल्लोक्रममा ब्याटिङ गर्छन् । अरु बाँकी १४ खेलाडी कस्ता छन् त ? डिभिजन–टुमा उनीहरूको प्रदर्शन कस्तो रह्यो ? यसबारे संक्षिप्त लेखाजोखा :
पारस खड्का
क्रिकेटमा एउटा भनाई खुबै दोहोर्याइन्छ, ‘कप्तानी इनिङ्स’ । आईसीसी डब्लूसीएल डिभिजन–टुमा पारसको प्रदर्शन त्यस्तै रह्यो । उनले छ इनिङ्समा २ सय ४१ रन बनाए । फाइनलमा युएईविरुद्ध उनले १ सय १२ रन बनाए भने युएई विरुद्ध नै लिग चरणमा ५१ रनको प्रदर्शन रह्यो । सन् २००९ देखि नेपाली टिमको कप्तानी सम्हालिरहेका पारस यसअघि यू–१९ का कप्तान थिए । पारसले तीन वर्षअघि प्राप्ति राज्यलक्ष्मी राणासँग विवाह गरेका थिए । पारसले क्रिकेट यू–१५ देखि खेल्न थालेका हुन् । उनको पहिलो टिम काठमाडौं थियो । पारस डीपीएल–टुमा विराटनगर किङ्गसको नेतृत्व गर्दैछन् भने उनकै नेतृत्वमा विराटनगर वारियर्सले ईपीएल–टुको उपाधि जितेको थियो ।
ज्ञानेन्द्र मल्ल
त्यसो त ज्ञानेन्द्र मल्ल आईसीसी डब्लूसीएल डिभिजन–टुमा राम्रोसँग चल्न सकेनन् । नेपालले ठूला–ठूला इनिङ्स तयार पार्न नसकेको एउटा कारण प्रारम्भिक ब्याट्सम्यानका रूपमा उनको असफलता पनि हो । त्यसैले प्रतियोगितामा उनको औसत ११ दशमलव ५० रन प्रतिखेल मात्र रह्यो । एक खेलमा उनी ब्याट्सम्यानसँगै विकेटकिपरको दोहोरो भूमिकामा पनि रहे । यद्यपि मल्ल नेपाली टिमका एक महत्त्वपूर्ण खेलाडी हुन् । कम्तीमा अबका दिनमा उनले नेपालका लागि राम्रो गर्नेछन् भन्ने अपेक्षा गर्न सकिन्छ । मल्ल पारस खड्काको अनुपस्थितिमा टिमको कप्तानसमेत हुन् । ईपीएल–टुमा ललितपुर प्याट्रिएट्सका कप्तान ज्ञानेन्द्रले डीपीएल–टुमा भने काठमाडौं गोल्डेन्सको नेतृत्व गर्दैछन् । मल्ल उमेर समूहको क्रिकेट यू–१५ बाट नेपाली टिममा पुगेका हुन् । उनको पहिलो क्लब भने यंगाल क्रिकेट क्लब हो । ज्ञानेन्द्रले केही वर्षअघि संगीतासँग प्रेमविवाह गरेका थिए ।
दिलीप नाथ
दिलीप नाथ विकेटकिपर ब्याट्सम्यान हुन् । भनिन्छ, विकेटकिपर विशेषज्ञ खेलाडी त हुनैपर्छ, त्यसमाथि अहिलेको आधुनिक क्रिकेटमा यस्ता खेलाडी ब्याटबाट समेत चल्न सक्नुपर्छ । संयोगले उनी त्यस्तै छन् । आईसीसी डब्लूसीएल डिभिजन–टुमा उनले पाँच खेल खेले भने ती सबै खेलमा उनी प्रारम्भिक ब्याट्सम्यानका रूपमा मैदानमा ओर्लिए । यी बायाँ हाते ब्याट्सम्यानको यही भूमिकाले नेपाली राष्ट्रिय टिममा सन्तुलन ल्याउने गरेको छ । सुदूर पश्चिमका खेलाडीहरूले आफ्नो प्रभुत्व बढाइरहेका बेला उनी त्यसको अर्को उदाहरण हुन् । दिलीपले आईसीसी डब्लूसीएल डिभिजन–टुमा कुल ७५ रन बनाए । डडेल्धुराका दिलीप ईपीएल–टुमा चितवन टाइगर्सका खेलाडी थिए ।
शरद भेषवाकर
नेपाली राष्ट्रिय टिमका अर्का ठूला स्टार हुन्— शरद भेषवाकर । उनी अभिनेत्री निशासँग विवाहित छन् । अहिले निशा अमेरिकामा पहिलो सन्तानको प्रतीक्षामा छिन्, यही कारणले शरदले पनि केही समय घरेलु क्रिकेटबाट आराम लिने सोच बनाएका छन् । आईसीसी डब्लूसीएल डिभिजन–टुमा शरदको प्रदर्शन ठीकठाक रह्यो । उनी माथिल्लो दर्जामा नियमित राम्रो प्रदर्शन गर्ने खेलाडी हुन् । आईसीसी–डब्लूसीएल डिभिजन–टुमा उनले १ सय ४ रन बनाए भने ३ विकेटसमेत लिए । घरेलु क्रिकेटका सबैभन्दा सफल खेलाडी शरदको नेतृत्वमा रहेको टिमले विरलै मात्र फाइनल गुमाउने गरेको छ । शरद पनि उमेर समूहबाटै नेपाली क्रिकेटमा उदाएका हुन् । ईपीएल–टुमा उनी भैरहवा ग्लाडियटर्सका कप्तान थिए ।
दीपेन्द्रसिंह ऐरी
यू–१९ एसियाकपमा नेपालले भारतमाथि ऐतिहासिक जित निकाल्दाका कप्तान हुन्— दीपेन्द्रसिंह ऐरी । त्यसपछि नै उनको चर्चा चुलिँदै गएको हो । यद्यपि उनले यसअघि नै आफूलाई घरेलु क्रिकेटमा स्थापित गरिसकेका छन् । दीपेन्द्रले नियमित रूपमा राम्रो प्रदर्शन गरिरहेका छन् । अलराउन्डर भए पनि राष्ट्रिय टिममा विशेषज्ञ ब्याट्सम्यानको भूमिका निर्वाह गरिरहेका दीपेन्द्रसिंहले आईसीसी डब्लूसीएल डिभिजन–टुमा ८४ रन बनाए । ऐरी ईपीएल–टुमा चितवन टाइगर्सका खेलाडी थिए ।
रोहित पौडेल
यू–१९ मा उत्कृष्ट प्रदर्शन गरेर नेपाली टिममा प्रवेश गरेका खेलाडीमध्ये एक हुन्— मध्यक्रमका ब्याट्सम्यान रोहित पौडेल । आईसीसी डब्लूसीएल डिभिजन–टुमा रोहित कप्तान पारस खड्कापछि टिमका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले नामिबियामा १ सय ४० रन बनाए । उनी पूरा प्रतियोगिताका सबै खेलमा नेपालका लागि दोहोरो अंकमा रन बटुल्ने एक मात्र खेलाडी हुन् । नवलपरासीका रोहितले बालुवाटार क्रिकेट क्लबमा क्रिकेट सिकेका थिए । एक प्रकारले उनी नेपाली टिमको सफलतामा पर्दा पछाडिका नायक हुन् । ईपीएल–टुमा उनी भैरहवा ग्लाडिएटरबाट आक्रामक ब्याट्सम्यानका रूपमा प्रस्तुत भएका थिए ।
आरिफ शेख
आईसीसी डब्लूसीएल डिभिजन–टुमा कुनै एक खेलाडीले निकै राम्रो खेलेका थिए भने उनी हुन्— आरिफ शेख । प्रतियोगितामा जति–जति बेला नेपाल संकटको स्थितिमा रहन्थ्यो, त्यति बेला आरिफले ब्याटबाट रन बटुले । यी अलराउन्डरले प्रतियोगितामा कुल ९७ रन बनाए । आरिफले ईपीएलमा भैरहवा ग्लाडियर्सबाट खेलेका थिए । उनकै भूमिकाले भैरहवा त्यति बेला फाइनलमा पुगेको थियो । आरिफको क्रिकेट वीरगन्जबाट प्रारम्भ भएको हो ।
सोमपाल कामी
सन् २०१३ मा उनलाई खोजी गर्ने काम गरेको थियो, नेपाल क्रिकेट फ्यान क्लबले । तत्कालीन प्रशिक्षक पुबुदु दसानायकेले नेपाली राष्ट्रिय टिमलाई राम्रो फास्ट बलर आवश्यक भएको बताएका थिए । त्यसै क्रममा फ्यान क्लबले फेसबुकबाट सोमपाललाई खोज्ने प्रयास गरेको थियो । उनले क्रिकेटको सुरुआती प्रशिक्षण भारतमा लिएका थिए, किनभने उनको जीवनको प्रारम्भिक समय भारतको पंजावमा बितेका थियो । आईसीसी डब्लूसीएल डिभिजन–टुमा उनको प्रदर्शन निकै राम्रो रह्यो, फास्ट बलरका रूपमा उनले १० विकेट लिए र यो सन्दीप लामिछानेपछि नेपालका लागि अर्को राम्रो योगदान हो । प्रतियोगितामा उनको ब्याटिङ योगदान पनि गतिलो रह्यो । ईपीएल–टुमा उनी काठमाडौं किङ्गस इलेभेनका मार्की प्लयेर थिए । सोमपालले डीपीएल–टुमा धनगढी टिम चौराहाको रणनीतिक खेलाडीको भूमिका निर्वाह गर्दैछन् ।
वसन्त रेग्मी
नेपाली टिमका अर्का अनुभवी खेलाडी हुन्— वसन्त रेग्मी । लामो समयदेखि नेपाली राष्ट्रिय टिमको सदस्य रहँदै आएका वसन्तका सम्बन्धमा भनिन्छ, जति–जति बेला नेपाली टिम संकटमा पर्छ, ठीक त्यही बेला निर्णायक भूमिकामा देखिन्छन्, वसन्त । यू–१७ स्तरको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका वसन्तले यो खेलको सुरुवाती ज्ञान भने आफ्नो जन्मथलो भैरहवामा प्राप्त गरेका थिए । तल्लो क्रममा राम्रो ब्याटिङ गर्न माहिर वसन्तको खास भूमिका हो, स्लो लेफ्ट आर्म अर्थोडक्स बलर । आईसीसी डब्लूसीएल डिभिजन–टुमा उनले कुल ३० रन बनाए भने ७ विकेट हात पारे । यस अर्थमा उनी निकै उपयोगी खेलाडी हुन् । विराटनगर वासियर्सले ईपीएल–टु जित्दा उनी त्यसका एक प्रमुख सदस्य थिए । वसन्तले एक वर्षअघि पूनमसँग विवाह गरेका थिए ।
करण केसी
बाग्लुङको स्थानीय क्रिकेटबाट माथिल्लो स्तरको क्रिकेटसम्मको यात्रा तय गर्ने करण केसी मूलत: बलर हुन् । घरेलु क्रिकेटमा माथिल्लो क्रममा ब्याटिङ गर्ने करणले आईसीसी डब्लूसीएल डिभिजन–टुमा भने तल्लो क्रमको ब्याट्सम्यानको भूमिका निर्वाह गरे । उनले क्यानाडाविरुद्धको खेलमा त गज्जबै गरे, त्यसका लागि करणले दसौं क्रमको ब्याट्सम्यानका रूपमा ४२ रन बनाउँदै सन्दीप लामिछानेसँग ५१ रनको साझेदारी गरे । त्यही साझेदारीको मदतले नेपालले अविश्वसनीय रूपमा खेल जितेको थियो । करण राइट आर्म फास्ट बलर हुन् । प्रतियोगितामा ५१ रन बनाएका करणले दुई विकेट पनि लिए ।
सन्दीप लामिछाने
नेपाली क्रिकेटमा सुरुआती विन्दूबाट कम समयमै ठूलो छलाङ मार्ने खेलाडीमा हुन्— सन्दीप लामिछाने । सन्दिप आईसीसी डब्लूसीएल डिभिजन–टुमा अपेक्षाअनुसार नै छाए पनि । त्यसैले उनी ‘म्यान अफ द सिरिज’ नै भए । उनले प्रतियोगितामा कुल १७ विकेट लिए । सन्दीप लगभग सबै खेलमा छाए, त्यसमा उनको सबैभन्दा राम्रो प्रदर्शन रह्यो, केन्याविरुद्ध पाँच विकेटको प्रदर्शन । उनले त्यसका लागि २० रन मात्र खर्चिएका थिए । आईसीसी डब्लूसीएल डिभिजन–टुमा उनको प्रदर्शन एक स्तरमाथि देखियो । प्रतियोगिताअघि नै सन्दीप अत्यधिक चर्चामा थिए र त्यसको कारण थियो, आईपीएल फ्रेन्चाइजी टिम दिल्ली डेयरडेभिल्सले उनलाई किन्नु । उनीमाथि २० लाख भारतीय रुपैयाँको बोली लागेको थियो । प्रतियोगिताका क्रममा दिल्ली डेयरडेभिल्सले आफ्नो फेसबुक पेजमार्फत लगातार उनलाई फलो गरिरहेको थियो र उनको उत्कृष्ट प्रदर्शनमा दिल्ली खुसी पनि देखियो । यी लेग स्पिनरले यो स्थानसम्म पुग्न निकै कम समय खर्च गरेका छन् मात्र चार वर्ष । राजु खड्काको प्रशिक्षणमा चितवनबाट क्रिकेटमा प्रवेश गरेका सन्दीपलाई पहिलो पटक प्रतिभाशाली खेलाडीका रूपमा चिन्ने श्रेय जान्छ, नेपाली टिमका पुराना प्रशिक्षक पुबुदु दसानायेकेलाई । ईपीएल–टुमा ललितपुर प्याट्रिएट्सबाट खेलेका सन्दीपको पहिलो टिम चितवन हो ।
अनिल साह
अनिल साहले आईसीसी डब्लूसीएल डिभिजन–टुमा मौका पाएनन्, उनले केवल एक खेल खेले, त्यसमा उनले खाता पनि खोल्न सकेनन्, शून्यमै आउट भए । बाराका अनिल पनि यू–१९ मा राम्रो प्रदर्शन गरेर राष्ट्रिय टिमसम्म पुगेका हुन् । ईपीएल–टुमा विराटनगर वारियर्सका लागि खेल्दै उनले राम्रो प्रदर्शन गरेका थिए । सम्भवत: अनिलले देशका लागि पहिलो प्रतियोगिता खेलेको हुँदा आफूले अपेक्षा गरे अनुरूप खेल्न सकेनन । विश्वास गर्न सकिन्छ, आउने दिन उनले राम्रो गर्नेछन् ।
शक्ति गौचन
नेपाली क्रिकेटमा सबैभन्दा लामो समय सेवा गर्ने खेलाडीमा पर्छन्— शक्ति गौचन । यू–१९ क्रिकेटबाट आफ्नो यात्रा प्रारम्भ गर्ने शक्तिले नेपाली क्रिकेटमा दुई दशकभन्दा लामो समय बिताइसकेका छन् । उनलाई अचेल प्राय: सोधिने प्रश्न हो, संन्यास कहिले लिने ? यसमा उनको उत्तर भने आएको छैन । एउटा तथ्य के हो भने यी अफ स्पिनरमा अझै दम छ, त्यसैले उनी लगातार राष्ट्रिय टिममा परिरहेका छन् । आजभोलि युवा खेलाडी उत्पादनमा केन्द्रित शक्तिले आईसीसी डब्लूसीएल डिभिजन–टुमा कुनै खेल खेल्न पाएनन् । शक्तिले डीपीएल–टुमा रूपन्देही च्यालेन्जर्सबाट खेले । डीपीएल–टुमा पनि उनी रूपन्देही च्यालेञ्जर्सकै रणनीतिक खेलाडीका रूपमा प्रस्तुत हुँदैछन् । लामो समयदेखि वैवाहिक जीवन बिताइरहेका शक्तिकी प्रमुख शक्ति पत्नी कविता नै हुन् ।
ललितसिंह भण्डारी
लेफ्ट आर्म फास्ट बलर ललितसिंह भण्डारीको सबैभन्दा ठूलो विशेषता हो, स्विङ बलिङ । त्यसो त नेपाली क्रिकेटमा बायाँ हाते फास्ट बलरको कमी छ, जति छन् भने जस्ता छैनन् । यसमा ललित अपवाद हुन् । यही विशेषताले उनलाई नेपाली टिममा प्रवेश गराएको हो । यसपटक आईसीसी डब्लूसीएल डिभिजन–टुमा उनलाई ‘अप्सनल’ खेलाडीका रूपमा राखिएको थियो, त्यसैले उनले खेल्न पाएनन् । ईपीएल–टुमा उनी चितवन टाइसर्गसँग आबद्ध थिए । ममता ललितकी श्रीमती हुन् ।