साप्ताहिक संवाददाता
चाडपर्व भन्ने बित्तिकै तन–मनमा एक किसिमको तरंग पैदा हुन्छ, जसले गर्दा एउटा छुट्टै उर्जा मिल्छ । हामी जीवनका दु:ख, कष्ट भुलेर त्यसमै रमाउन थाल्छौं । होली हामी नेपालीहरूको महान् चाड हो, रंगहरूको पर्व हो । त्यसैले होलीको दिन सबैले आफ्नो दु:ख–कष्ट भुलेर आफ्नो परिवार, साथीभाइ साथै अपरिचित व्यक्तिहरूसँग पनि होली मनाएको देख्न सकिन्छ ।
होली मनाउने क्रममा हरेकका आ–आफ्नै तीता–मीठा अनुभवहरू हुन सक्छन् । मेरो पनि आफ्नै रमाइलो अनुभव छ । म विराटनगरमा हुँदा हरेक वर्ष होली मनाउँथे । ०५६ सालको होली मेरो जीवनको अविष्मरणीय होली हो । म सधैं परिवार र नजिकका साथीहरूसँग होली खेल्थे । हामी आफ्नै घर वरपर मात्र होली खेल्थ्यौं, तर त्यो वर्षको होली आफ्नो घर वरपरमात्र सीमित भएन । साथीहरूको लहैलहैमा लागेर म विभिन्न किसिमका रंगका पोका, पिचकारी बोकेर होलीको फरक अनुभवमा रमाउने योजनामा लागें ।
हाम्रो समूहमा ६/७ जना थियौं । त्यसमध्ये विजय साह भन्ने मेरो राम्रो मिल्ने साथी पनि थियो । होली खेल्दै जाने क्रममा बाटोमा हामीलाई अरूले र हामीले अरुलाई रंग छ्याप्ने, लगाइदिने क्रम बढिरहेको थियो । अझ केटीहरूलाई देख्ने बित्तिकै अनुमति बिनै रंग दलिन्थ्यो । त्यसै क्रममा विराटनगर पूरै घुम्ने सोच बनाएर अघि बढेका हामीसँग अर्को साइडबाट आएका हामी जस्तै अनुहार नचिनिने समूहसँग जम्काभेट भयो, जसमा केटा–केटी सबै थिए । तिनीहरूले हाम्रो नाम लिँदै रंग र अविर हाम्रो अनुहारभरि दलिदिए । हामी पनि राम्रै तरिकाले उनीहरूसँग होली खेल्दै थियौं । तिनीहरूमध्ये एउटाले भाङ हालेको मिठाइ खाउ भनेर एउटा कागजमा पोको पारेको मिठाइ हामीलाई दियो । हामी सबैले एक–एक वटा मिठाए खायौं ।
हल्का तीतो, हल्का टर्रो अनि हल्का मीठो अनुभव भयो । त्यो मिठाई खाएपछि त टाउको फनफनी घुमाउन थाल्यो । बोली लरबराउन थाल्यो । त्यसपछि कसैले मलाई त्यसलाई लगाइदे, लगाइदे, दाँतमा, दाँतमा भनेको मात्र सुनें । मैले आफूलाई बचाउने प्रयास गरेको तर नसकेको अनि कसैले मुखमा जबरजस्ती कुनै तीतो धुलो हालेको अनुभव भयो । भाङ लागेको सुरमा त्यहाँ एक–अर्कालाई मुख छाड्ने, लुगा च्यातिदिने सम्मका कार्य भए । वास्तवमा म त्यो माहौलबाट उम्कन चाहन्थें, तर भाङले लट्ठ भएको म कहाँ भाग्न सक्थें र ? उनीहरूले मलाई पनि लछार–पछार पारेर मेरो सर्ट च्यातिदिए ।
होलीको निउँमा त्यहाँ ठूलो विकृति मच्चिसकेको थियो । त्यसक्रममा एकले अर्कालाई नालीमा फाल्न थाले, नालीको पानी असाध्यै फोहोर थियो । त्यही पानी एक–अर्कालाई छ्याप्न थालियो । मोबिल मिसिएको कालो गन्हाउने पानीको होली खेल्न थालियो । सर्ट मात्र च्यातेर नपुगेर साथीहरूले एउटा साथीको पाइन्ट समेत च्यातिदिए । त्यसपछि त त्यहाँ पाइन्ट नै च्यात्ने प्रतिस्पर्धा नै चल्न थाल्यो । पहिले नै सर्ट च्यातिएर अर्धनग्न भैसकेका हामी पाइन्ट च्यातिन थालेपछि कुन हालतमा पुग्यौं होला ? अब सबैको शरीरमा कट्टुमात्र बाँकी रह्यो । त्यो पनि कति जनाको त च्यातिएर झन्डै नांगै भैसकेका थिए ।
त्यो कट्टु पनि च्यातिदेलान् भन्ने डरले म त्यहाँबाट भाग्ने तरखर गर्दै थिएँ । दुई–तीन जनाले मलाई समातेर फोहोर पानीमा फालिदिए । त्यसपछि मलाई असह्य भयो । म भए भरको बल निकालेर प्रतिकार गर्न थालें ।
रिसको झोंकमा मैले कसैलाई चिनिन । भर्खर–भर्खर सितोरियो कराँते सिकेकाले होला त्यहाँ भएका ३/४ जनासंग प्रतिकार गरी उम्किएर घर पुगें । परिवारका सदस्यहरूले मलाई कट्टुमा देख्छन् भन्ने लाजले हतार–हतार बाथरुम छिरेर नुहाउन थालें अनि लुगा फेरेर घरमै बसें । त्यो मेरो जीवनको कहिले नभुल्ने होली हो । त्यसपछि म काठमाडौं आएँ । अहिले पनि होली आउने बित्तिकै मलाई विराटनगरको त्यही होलीको सम्झना आउँछ ।
त्यो होलीपछि मैले झन्डै १४ वर्ष होली खेलिन । हुन त पहिले र अहिलेको होलीमा धेरै नै अन्तर छ । अहिले धेरै सभ्य भएर होली खेल्न थालिएको छ । चलचित्र क्षेत्रमा सक्रिय हुन थालेपछि म पुन: सामूहिक रूपमा होली खेल्न थालेको छु, यद्यपि होलीमा भाङ खाने गल्ती भने दोहोर्याएको छैन ।