होली र चोलीबीच रमाइलो सम्बन्ध छ । किनभने होलीमा प्रयोग गरिने रंग, लोला तथा पानीले चोली भिज्दा जुन दृश्य देखिन्छ, त्यो हेर्न लायक हुन्छ । यद्यपि होलीको अरू पक्षसँग पनि गहिरो सम्बन्ध भने छँदैछ ।
महेश लिम्बू, रेडियोकर्मी
तरकारी र नुनबीच जस्तो सम्बन्ध छ, होली र चोलीको पनि त्यस्तै सम्बन्ध छ ।
राम थापा, कलाकार
कुनै पनि पर्व सृष्टिकै महत्वपूर्ण अंग अर्थात् नारीबिना अधुरो हुन्छ । अझ होलीजस्तो रंगीन पर्वमा त बिनाचोलीको होली नुनबिनाको तरकारीसरह नै हुन्छ ।
निकेश खड्का, निर्देशक
मलाई यी दुई शब्द सुन्नासाथ होलीले रंग्यायो मेरो चोली भन्ने गीत याद आउँछ, अनि त्यसमा भएको राजेश दाइको डान्स सम्झन्छु । सायद युवावस्थाको सुरुवात र त्यो अवस्थामा हुने रमाइलोको आभास दिन्छ यी दुई शब्दले ।
लिना रेग्मी, संगीत उद्यमी
यो एक उत्सव र जवानीको सुमधुर मिश्रण हो, जुन युवा–युवतीमा विशेष झल्कन्छ भने मलाई आफ्नो समयको खुसीको क्षणको सम्झना आउँछ ।
पल्पसा डंगोल, अभिनेत्री
हे हे हे...होली र चोलीबीच गहिरो सम्बन्ध छ । चोलीले ढाकेको जवानीलाई होलीको रंग जस्तै रंगीन बनाउनुपर्छ भन्ने भावना झल्कन्छ ।
दीपिका भट्ट, अभिनेत्री
रंगको खोलीमा होली मनाइन्छ र प्रीतको रंगमा चोली बनाइन्छ । चोलीले होलीमा लोली मिलाउने काम गर्छ । होली र चोलीबीच सम्बन्धको बोली बोल्दा होलीमा मायाको गोली मिसिएर चोली रंगिँदा डोली पनि सजिन सक्छ । हिजोआज त होलीको मुख्य टार्गेट नै चोली हुने भएकाले कलियौगिक सम्बन्ध छ ।
जनक खड्का, निर्देशक
चोली जवानी हो, होली माया र सद्भाव । यो जवानी र मायाको सद्भावबीचको आत्मीय सम्बन्ध नै चोली र होलीबीचको सम्बन्ध हो ।
शिव परियार, गायक
तराईको होली चोली लगाएर खेल्ने परम्परा छ । त्यसैले पनि होली र चोलीको केही न केही सम्बन्ध छ । त्यसबाहेक होली र चोली उच्चारण गर्दा पनि उस्तै सुनिन्छ, त्यसैले पनि यी दुईबीच सम्बन्ध गाँसिएको होला ।
दिनेश शाही, मोडल
होलीको रंगमा रंगिएको चोलीमा ग्ल्यामर देखिने भएकाले यी दुईबीच नजिकको सम्बन्ध हुनुपर्छ ।
सुमित खड्का, गायक
होली भन्नेबित्तिकै रंगहरूको पर्व बुझिन्छ । चोली महिलाहरूको सुन्दर पहिरन हो । होली र चोलीमा खासै सम्बन्ध नभए पनि एउटा समानताचाहिँ छ— दुवैको चरित्र रंगीन हुन्छ ।
शिवम अधिकारी, निर्देशक
अहिलेजस्तो पहिलेका महिलाहरूले टिसर्ट, सर्ट अथवा अन्य परिहनमा नभै चोलीमा होली खेल्थे । महिलाहरू चोली लगाएर होलीको रंगमा रंगिन पानीले भिज्दा सुन्दर देखिने अनि सबैको मन लोभ्याउने भएकाले पनि होली र चोलीलाई जोडिएको होला ।
ध्रुव विस्को, गायक
चोली नहुँदो हो त होलीको रौनक कहाँ ? केटाहरू तब मात्र होलीलाई सार्थक महसुस् गर्छन्, रंगको गोलीले चोली भिज्छ जहाँ ।
दीपक आचार्य, निर्देशक
होली महान् पर्व हो । चोली महिलाले लगाउने पहिरन हो । महिलाको त्यही चोलीमा रंग दलेर माया साटासाट गर्ने पर्व भएकाले होली र चोलीबीच नजिकको सम्बन्ध स्थापित भएको हुनुपर्छ ।
जोर्डन राज भण्डारी, मोडल
होली र चोलीलाई जोडेर धेरै गीत बनेका छन् । तिनै गीतहरूकै कारण होली र चोलीबीच सम्बन्ध स्थापित भएको हुनुपर्छ ।
रञ्जित झा, चिकित्सक/गायक
नारी र सारीबीचको सम्बन्ध जस्तै छ, होली र चोलीबीचको सम्बन्ध ।
गोपाल ढकाल छन्दे, कलाकार
होली र चोलीको सम्बन्ध भनेको मौकामा चौका जस्तै हो । रंग दल्ने बहानामा पुरुषहरूले महिलाहरूको चोलीमा नजर लगाउने हो । सुरेश थापा, निर्देशक प्रश्न सुनेर मेरो त दिमागै हल्लियो । सोचेर जवाफ दिन्छु ल ।
पुष्पन प्रधान, गायक
चोलीले होली पर्खन्छ, होलीले चोली । होलीमा चोली मक्ख अनि चोलीले होली पाएपछि झन् मक्ख । चोलीबिना होली अपुरो, होलीबिना चोली । होलीमै हो चोलीको बढी भाउ हुने, चोलीको नि होलीमै हो भिजिदिने दाउ । बच्चादेखि बूढासम्म ताक्ने सबै चोली, रंग दल्न–पानी छ्याप्न सबैलाई चाहिने होली ।
महेश आचार्य, गीतकार
होली र चोलीबीचको सम्बन्ध गजबको छ । चोली लगाएर युवतीहरू होली खेल्न निस्कने हो भने यसले हाम्रो संस्कारको पनि जगेर्ना गर्छ, जुन अहिलेको समयमा पटक्कै देखिंदैन तर यसको सुरुवात गर्न सक्नुपर्छ ।
आनन्द कार्की, गायक
होली भन्नाले हिन्दू धर्मावलम्बीहरूले वर्षमा एकपटक मनाउने रमाइलो चाड हो । चोली भन्नाले महिलाहरूले शरीरको माथिल्लो भाग छोप्ने अथवा लगाउने पोसाक हो । त्यसकारण होली र चोलीबीचको सम्बन्ध नङ र मासुजस्तै हुन्छ । चोली नलगाई खेलिएको होली भनेको नुनबिनाको तरकारीजस्तै हो । अझ होली र चोलीबीचको सम्बन्ध थप सुमधुर हुँदैछ, किनभने युवाले युवतीको चोलीलाई नै लक्षित गरेर लोला जो हान्छन् ।
गणेश ईशारा, हास्य अभिनेता
मलाई लाग्छ, होली र चोलीबीच निकै गाढा सम्बन्ध छ । यो सम्बन्धलाई प्रगाढ बनाउने काम भने विभिन्न नेपाली तथा हिन्दी चलचित्रका गीतहरूले नै गरेका हुन् ।
नरहरि प्रेमी, संगीतकर्मी