होलीलाई प्रेम र सद्भावको पर्वका रूपमा लिइन्छ । होली कुन युवालाई मन नपर्ला र ? सांस्कृतिक रूपमा यही समूहसँग मात्र होली मनाइन्छ भन्ने हुँदैन, तैपनि विद्यार्थी भएपछि त्यही सर्कल नै सहज सर्कल हो । स्वभाविक रूपमा होलीको मज्जा लिन त्यही समूह उपयुक्त हुन्छ ।
सानो छँदा वरपरका साथीहरूसँगको होली अविस्मरणीय नै हुन्छ भने विद्यालय जान थालेपछि स्कुलकै साथीहरूसँगको होली रमाइलो थियो । विद्यालयमा होली मनाउँदा रंग र पानीले किताबसहित भिजाएर निथ्रुक्क भएर घर आउँदा पनि आमा–बुबाले केही भन्नुहुन्नथ्यो । समय क्रमसँगै सानोमा पिचकरीले रंग हानेर खेलिने होली विद्यालयमा पुग्दा लोला हान्नेमा पुग्नु स्वभाविक हो ।
कलेज अध्ययनका क्रममा साथीहरूसँग होली खेल्ने कुरा प्राथमिकतामा पर्छ नै । विद्यालय पढ्दा र अहिले होली खेल्ने तरिका भने फरक हुँदै गएको छ । कलेज समयमा रंगसँगै फेस पेन्ट गर्ने चलन पनि बढ्दै गएको थियो । यद्यपि होली खेल्दा नकारात्मक असर नगर्ने तरिकाले खेल्नुपर्छ । आफ्नो उमेर समूहका साथीहरूसँग खेलिने होली सबैभन्दा उपयुक्त हो ।
यद्यपि मलाई एक हप्ताअघिदेखि नै खेलिने होली भने मन पर्दैन । जबर्जस्ती लोला हान्लान, फोहोर पानी खन्याउलान भन्ने चिन्ता लाग्छ । एकपटक म त्यस्तो फन्दामा परिसकेकी छु । होलीको दुई दिनअघि कलेज जाने क्रममा फोहोर पानीले सेतो सर्ट कालो भएर घर फर्कनुपरेको थियो । खराब नियत भएका केटाहरूले होलीको फाइदा उठाउँदै संवेदनशील अंगमा छुने, लोला हान्ने जस्ता काम गर्छन्, जुन असभ्यता मात्र हो ।
संस्कृतिका नाममा गाँजा भाङ, जाँड–रक्सी खाएर अभद्र व्यवहार गर्ने युवाहरू पनि उत्तिकै हुन्छन् । समूह मिलाएर सहज तरिकाले खेलिने होली भने बिछट्टै रमाइलो हुन्छ । यसलाई प्रेम र सद्भावको पर्वका रूपमा मनाउनुपर्छ । युवा भन्दैमा जे पायो त्यही गर्नु आफ्नो र समाजका लागि पनि राम्रो हुँदैन । बढ्दै गएका विकृतिहरू हटाउँदै होलीलाई आधुनिक र परिस्कृत बनाउँदै लानुपर्छ । त्यसका लागि विशेष गरी युवाहरू जिम्मेवार हुनुपर्छ ।
बिस्तारै परिवारसँग बसेर होली खेल्ने रुचि पनि बढ्न थालेको छ । कलेज बिदा हुने दिन नै कलेजमा होली खेलिन्छ भने होलीको दिन घरमै परिवारसँग होली मनाइन्छ । परिवारसँग होली मनाइसकेपछि म दौंतरीहरूसँग बाहिर पनि निस्कन्छु । बाहिर जान मन नालगे साथीभाइलाई घरमै बोलाउने अनि मीठा–मीठा परिकार खाएर रमाइलो गर्ने चलन पनि बढेको छ ।
होलीमा धेरै लामो समयदेखि भेटघाट नभएका साथीहरूसँग भेटघाट हुन्छ । अझ साथीहरूसँग होलीको अवसरमा आयोजना हुने विभिन्न पार्टीहरूमा सहभागी भइन्छ । मलाई मन पर्ने पुल पार्टी हो त्यहाँ होलीका साथै सांगीतिक वातावरण पनि हुन्छ । यो मेरो मात्र नभएर मजस्ता धेरै युवाहरूको रोजाइ हो ।
- एमबीबीएस, विद्यार्थी