साप्ताहिक संवाददाता
हामीले मनाउने चाडपर्वहरूमा मलाई होली पनि उत्तिकै प्रिय लाग्छ । यद्यपि म साथीभाइ र परिवारबीच मनाइने होलीमा मात्र रमाउँछु । हुल बाँधेर, अरुलाई दु:ख तथा चोट पुर्याउने हिसाबले मनाइने होली मलाई मात्र होइन, कसैलाई पनि मन पर्दैन । मलाई होलीमा लोलाको प्रयोग पटक्कै मन पर्दैन ।
गालामा हल्का अबिर लगाएर पनि होली मनाउन सकिन्छ भने कसैलाई ताकेर किन लोला हान्नु ? होलीमा प्रयोग गरिने लोला युवतीहरूप्रति बढी लक्षित हुन्छ । त्यसक्रममा लुकेर, पछाडिबाट, टाढाबाट, नजिकबाट जसरी पनि युवतीहरूमाथि लोलाको प्रहार हुनसक्छ ।
पानीले भरिएको लोलाको प्रहारबाट युवतीहरूको शरीरको कुनै पनि ठाउँमा चोट लाग्न सक्छ । अझ लोलाको प्रहार युवतीहरूको संवेदनशील अंगमा पर्यो भने त उनीहरू भुतुक्कै हुन्छन् । त्यसैले पनि मलाई होलीमा लोलाको प्रयोग पटक्कै मन पर्दैैन । केही वर्षअघिको होलीमा म आफैं लोला प्रहारको शिकार भएकी थिएँ । होली आउनुभन्दा केही दिनअघि कै कुरा हो ।
एउटा म्युजिक भिडियोको छायांकनका लागि घरबाट बाहिर निस्कँदै थिएँ, मूल सडकमा पुग्ने बित्तिकै ममाथि लोला प्रहार भयो । रातो अबिर मिसाइएको लोलाको प्रहारबाट म निथ्रुक्क भिजें । मलाई छायांकनस्थलमा पुग्न ढिला भैसकेको थियो, एकाबिहानै लोला खाएपछि पुन: घर फर्किएर लुगा फेरेर जानुपर्दा एकातिर म समयमा छायांकनस्थलमा पुग्न सकिन भने अर्कोतिर उक्त लोलाले मलाई जुन प्रकारको पीडा दिएको थियो, त्यो म कसैलाई बताउन सकिरहेकी थिइन् भने लुकाउन पनि सकिरहेकी थिइन ।