बलिउडमा अचेल जुन शैलीका चलचित्र निर्माण भैरहेका छन्, ती चलचित्रमा मनलाई जोड्न पर्वहरूलाई समावेश गर्न सकिने सम्भावना प्रशस्त छन्, यद्यपि यस्तो निकै कम मात्र भैरहेको छ । चलचित्र हेर्ने युवावर्गको रुचि पनि परिवर्तन भैरहेको छ । सम्भवत: यही कारणले होला, अचेल बलिउडका चलचित्रमा होलीको प्रयोग कम छ । अघिल्लो वर्ष प्रदर्शनमा आएको चलचित्र जोली एलएलबी–२ मा अक्षय कुमार तथा हुमा कुरैशीबीच एउटा होली गीत छायांकन गरिएको थियो ।
होलीको प्रसंग आउनेबित्तिकै हिन्दी चलचित्रको प्रसंग आउनु स्वभाविक हो । होलीको रंग बलिउड चलचित्रको एउटा चिनारी रहँदै आएको छ । बलिउडका थुप्रै निर्देशकले चलचित्रमा होलीको रंग घोलेका छन् । थुपै्र चलचित्रका होली गीत यति लोकप्रिय भएका छन् कि आज पनि होलीको अवसरमा ती गीत रेडियो तथा टेलिभिजनमा दिनभरी जसो बजिरहन्छन् ।
बलिउडका चलचित्रमा होलीको प्रयोग अभिनेता दिलीप कुमारको पहिलो चलचित्र ज्वार भाटामार्फत प्रारम्भ भएको मानिन्छ । उक्त चलचित्रमा पहिलो पटक पर्दामा होली खेलिएको थियो । चलचित्रका निर्देशक अमिय चक्रवर्तीले १९४४ मा होलीको दृश्य छायांकन गरेर एउटा इतिहास नै रचेका थिए ।
हिन्दी चलचित्रमा होलीको रंग देखाउने प्रसंगमा चलचित्रकर्मी यश चोपडाले बलिउडका अन्य सबै निर्देशकलाई पछाडि छाडिदिएका छन् । यश चोपडाले चलचित्र सिलसिलामार्फत ‘रंग बरसे भीगे चुनर वाली...’ का रूपमा बलिउडलाई होलीको सर्वाधिक लोकप्रिय गीत दिए । त्यसपछि चोपडाले चलचित्र ‘मशाल’ मा ‘होली आई, होली आई, देखो होली आई रे...’, चलचित्र ‘डर’ मा ‘अंग से अंग लगाना...’ तथा पछि ‘मोहब्बतें’ मा ‘सोनी–सोनी अंखियों वाली, दिल दे जा या दे जा तू गाली’ मार्फत ठूलो पर्दामा होलीको रंग घोले ।
चलचित्रमा होलीको रंग घोल्ने अभिनेताहरूमा अमिताभ बच्चनको नाम अग्रपंक्तिमा आउँछ । अभिनेत्री रेखासँग चलचित्र ‘सिलसिला’ मा रंग बर्साएको लामो समयपछि अमिताभले अभिनेत्री हेमा मालिनीसंग चलचित्र ‘बागबान’ मा ‘होली खेले रघुवीरा...’ मार्फत पुन: एकपटक ठूलो पर्दालाई रंगीन बनाइदिए । अमिताभ विपुल शाहको चलचित्र ‘वक्त’ मा अभिनेता अक्षय कुमार तथा प्रियंका चोपडासंग ‘डू मी ए फेवर, लेट्स प्ले होली...’ गीतमा नाच्दा पनि निकै सुहाए ।
बलिउडको अर्को लोकप्रिय जोडी धर्मेन्द्र तथा हेमा मालिनीले पनि पर्दाको होलीलाई ऐतिहासिक बनाएका छन् । उक्त जोडीमाथि छायांकन गरिएको चलचित्र ‘सोले’ को गीत ‘होली के दिन दिल खिल जाती है’ ले आज पनि होलीको मस्तीलाई उत्कर्षमा पुर्याउँछ । त्यसपछि यो जोडीले चलचित्र ‘राजपूत’ मा ‘भागी रे भागी रे ब्रिजबाला, कान्हा ने पकडा रंग डाला’ मा नाच्दै होली खेले ।
बलिउड चलचित्रमा होली मनाउने प्रचलनको सूत्रधार चलचित्र भक्त प्रह्लाद पनि हो । भक्त प्रहलादमाथि पहिलो पटक सन् १९४२ मा तेलुगु चलचित्र ‘भक्त प्रह्लाद’ निर्माण भएको थियो, जसलाई चित्रपू नारायण मूर्तिले निर्देशन गरेका थिए । त्यसपछि भक्त प्रहलादमाथि सन् १९६७ मा यही नामबाट एउटा हिन्दी चलचित्र निर्माण भयो ।
बलिउडका चलचित्रमा होलीलाई गीतमा मात्र होइन, चलचित्रको समग्र विषयवस्तु मै समेटिएको छ । बलिउडमा अहिलेसम्म होलीको नामबाट दुई, होली आइ रे नामबाट एक तथा फागुन नामबाट दुईवटा चलचित्र निर्माण भैसकेका छन् ।
होलीसँग सम्बन्धित एउटा रोचक पक्ष के छ भने केही चलचित्रकर्मीले होलीलाई आफ्नो चलचित्रको कथालाई अघि बढाउने माध्यमका रूपमा उपयोग गरेका छन् भने कतिपयले यसलाई चलचित्रको टर्निङ प्वाइन्टका रूपमा प्रयोग गरेका छन् । केही निर्देशकले भने होलीलाई केवल मोजमस्ती तथा गीत समावेश गर्ने उद्देश्यले मात्र आफ्नो चलचित्रमा उपयोग गरेका छन् ।
चलचित्र निर्देशक राजकुमार सन्तोषीले आफ्नो चलचित्र ‘दामिनी’ मा होलीको दृश्यको उपयोग चलचित्रको टर्निङ प्वाइन्टका रूपमा गरेका छन्, जबकि उनले चलचित्र ‘आखिर क्यों’ को गीत ‘सात रंग में खेल रही है दिल वालों की होली रे’ तथा चलचित्र ‘कामचोर’ मा ‘मल दे गुलाल मोहे’ मा होलीको प्रसंगमार्फत नै चलचित्रको कथा अघि बढाएका थिए ।
थुप्रै चलचित्रमा होलीको दृश्य तथा गीतलाई मनोरञ्जनका लागि मात्र प्रयोग गरिएको छ । यस्ता चलचित्रमा ‘मदर इन्डिया’ को नाम अग्रपंक्तिमा आउँछ । उक्त चलचित्रको गीत ‘होली आई रे कन्हाई’ आज पनि उत्तिकै बज्छ । त्यसबाहेक चलचित्र ‘नवरंग’ को ‘जा रे हट नटखट’, चलचित्र ‘फागुन ’ को ‘पीया संग होली खेलूँ रे’ तथा चलचित्र ‘लम्हे’ को ‘मोहे छेडो न नंद के लाला’ गीतले पनि होलीमा रंग भर्ने काम गरेका छन् ।
कतिपय चलचित्रमा अभिनेताहरूले रंगको पर्व होलीको माध्यमबाट अभिनेत्रीहरूको जीवनमा रंग भर्ने प्रयास गरेको देखिन्छ । चलचित्र ‘धनवान’ मा राजेश खन्ना ले रीना रायसंग ‘मारो भर–भर पिचकारी’ गाएका थिए । चलचित्र ‘फूल और पत्थर’ मा धर्मेन्द्रले मीना कुमारीका लागि ‘लाई है हजारों रंग होली’ गीत गाएका थिए । त्यसैगरी चलचित्र ‘कटी पतंग’ मा राजेश खन्नाले आशा पारेखको अतित स्मरण गराउन ‘आज न छोडेंगे बस हमजोली’ गाएका थिए ।
कतिपय चलचित्र त्यस्ता पनि छन्, जसमा होलीका केही दृश्य मात्र समावेश गरिएका छन् । केतन मेहताको चलचित्र ‘मंगल पाण्डे’ मा आमिर खान होली खेलिरहेका देखिन्छन् भने विजय आनन्दले चलचित्र ‘गाइड’ मा ‘पिया तोसे नैना लागे रे’ गीतमा ‘आई होली आई’ को अन्तरा समावेश गरेका छन् ।
अघिल्लो वर्षको सुपरहिट चलचित्र ‘बद्री नाथकी दुल्हनीयाँ’ मा समावेश गरिएको ‘खेलन क्यूँ न जाए तूँ होली रे रसिया...’ बलिउड चलचित्रमा प्रयोग गरिएको पछिल्लो लोकप्रिय होली गीत मानिन्छ ।
बलिउडका होली गीत
बलिउडमा करिब ५८ वर्षअघिदेखि होली गीत समावेश गर्न थालिएको एउटा तथ्यांकले देखाएको छ । होली गीतको चर्चा गर्दा हिन्दी चलचित्र ‘नवरंग’ को ‘जा रे हट नटखट...’ सम्झना जो–कसैलाई आउँछ, जसमा अभिनेत्री सन्ध्याले पर्दामा अभिनेता तथा अभिनेत्री दुवै चरित्र निर्वाह गरेकी छिन् ।
होली गीतमा लिजेन्ड अफ हिन्दी सिनेमा ‘मदर इन्डिया’ को गीत ‘होली आई रे...’ पनि अत्यधिक लोकप्रिय छ । यो गीतको धुन तथा बोल सबैको मन तथा ओठमा झुन्डिएको छ । बलिउडका ट्रेजेडी किङ दिलीपकुमार तथा मीनाकुमारी अभिनीत चलचित्र ‘कोहिनूर’ को ‘तन रंग लो जी आज मन रंग लो..’ पनि लोकप्रिय छ । चलचित्र सोलेको होली के दिन दिल खिल जाते है...लाई बलिउडकै सदावहार होली गीत मानिन्छ । उक्त गीतमा धर्मेन्द्र तथा हेमा मालिनीको आकर्षक केमेस्ट्रि हेर्न पाइन्छ ।
चलचित्र ‘नदियाँ के पार’ को गीत ‘जोगी जी धीरे धीरे...’ पनि उत्तिकै लोकप्रिय लोकप्रिय गीत हो । चलचित्र ‘कटी पतंग’ को ‘आज ना छोडेंगे हम जोली...’ सुन्ने हरेक श्रोता होलीको मुडमा पुग्छन् । चलचित्र ‘सिलसिला’ को ‘रंग बरसे भीगे चुनरवाली...’ गीतमा अमिताभ बच्चनको नृत्य लोभलाग्दो छ । यसलाई सर्वाधिक लोकप्रिय होलीगीत पनि मानिन्छ । चलचित्र ‘मशाल’ को ‘यही दिन था यही मौसम जवाँ जब हमने खेली थी’ गीत पनि लोकप्रिय छ ।
चलचित्र ‘डर’ को ‘अंग से अंग लगाना...’ गीतले पनि होलीमा रामै्र स्थान पाउँछ । चलचित्र ‘बागबान’ को होली गीत पनि उत्तिकै मन पराइएको छ । उक्त गीतमा शाहरूख खान तथा जुही चावलाको केमेस्ट्रीले राम्रै चर्चा पाएको थियो ।
चलचित्र ‘वक्त’ को ‘डू मि अ फेवर लेट्स प्ले होली..’ हिजोआजका युवाहरूको रोजाइको होली गीत हो । अनु मलिकको स्वरको यो गीतमा अक्षय कुमार तथा प्रियंका चोपडाले आकर्षक नृत्य गरेका छन् । यसैगरी रणवीर कपुर–दीपिका पादुकोण अभिनीत ‘बलम पिचकारी’ पनि उत्तिकै कणर््प्रिय छ ।
अघिल्लो वर्षको होलीमा सार्वजनिक भएको चलचित्र बद्री नाथकी दुल्हनियाँको ‘खेलन क्यूँ न जाए तुँ होली रे रसिया...’ पछिल्लो समयको लोकप्रिय होली गीत हो । वरुण धवन तथा आलिया भट्टको आकर्षक नृत्यसहितको उक्त गीतको भिडियो आजको मितिसम्म आइपुग्दा ३५ करोड ७५ लाख पटक हेरिसकिएको छ । देव नेगी, नेहा कक्कर तथा इक्काद्वारा स्वरवद्ध उक्त गीतको शब्द शब्बिर अहमदले लेखेका हुन् । तनिस्क बाग्ची उक्त गीतका संगीतकार हुन् ।
होलीका १० उत्कृष्ट हिन्दी गीत
चलचित्र | गीत |
दिवानी | बलम पिचकारी ये जवानी |
बागबान | होरी खेले रघुवीर |
मोहब्बतें | सोनी सोनी |
वक्त | डू मि अ फेवर |
शोले | होली के दिन |
अंंग से अंग लगाना | डर |
जोली एलएलबी २ | गो पागल |
रंग बरसे
आज न छोडेंगे | सिलसिला कटि पतंग |