साप्ताहिक संवाददाता
तेस्रोलिंगीको भावना समेटिएको नाटक ‘जिउँदो आकाश’ काठमाडौंमा पुन: मञ्चन हुने भएको छ । सर्वनाम थिएटरमा केही महिनाअघि मञ्चित उक्त नाटक भोलि शनिबार पुन: सर्वनाम थिएटरमै मञ्चन हुन लागेको हो ।
चन्द्रप्रसाद पाण्डेको लेखन तथा आरके मेहता रोशनको निर्देशनको उक्त नाटकलाई सम्रान्त थापा तथा टंक टाइगरले निर्माण गरेका हुन् । नाटकमा अनिल सुब्बाको एकल अभिनय हेर्न पाइनेछ ।
झन्डै एक घण्टा लामो यो नाटकमा अनीलले तेस्रोलिंगीको बालापनदेखि युवा अवस्थासम्मको उतारचढाव र अनुभूतिलाई जीवन्त रूपमा प्रस्तुत गर्ने जमर्को गरेका छन् । यही नाटक फागुन २८ गते नयाँ दिल्ली तथा फागुन ४० गते असमको गुवाहाटीमा मञ्चन हुनेछ ।
बाल–रंगमञ्च
बाल–रंगमञ्चको अन्तर्राष्ट्रिय छाता संगठन ‘आसितेज इन्टरनेसनल’को एसिया बैठक सम्पन्न भएको छ । जापानको टोकियोमा नाट्य महोत्सवका साथ साना बालबालिकाका लागि रंगमञ्चको अवधारणा ‘थिएटर फर योङ पिपल’का सम्बन्धमा विमर्श भएको थियो । आसितेज एसियाको उक्त बैठकमा नेपालका तर्फबाट आसितेज नेपालका संस्थापक तथा अभिनेता दिपर्शनजंग राणा सहभागी भएका थिए । बैठकमा उनले नेपालमा बाल–रंगमञ्चसम्बन्धी गतिविधिका बारेमा जानकारी गराएका थिए ।