संसारमा सबै मानिस प्रशंसाका भोका हुन्छन् । मलाई मन पर्ने लेखक धुव्रचन्द्र गौतम लेख्नुहुन्छ, ‘यहाँसम्म कि चितामा सुतेको मान्छेलाई समेत वाह ! क्या सानदार मृत्यु मर्दै हुनुहुन्छ भनेर भन्यो भने ऊ जुरुक्क उठेर मुस्कुराउँदै धन्यवाद भन्छ ।’
मान्छेलाई गाँस, बास र कपासको आधारभूत आवश्यकतापछि अर्को आवश्यक केही चीज छ भने सम्भवत: त्यो प्रशंसा नै हुँदो हो । जतिसुकै अप्ठेरोमा होस्, जतिसुकै विषम परिस्थितिहरूले घेरिएको होस्, एउटा झिनो प्रशंसा गरिदियो भने मानिस त्यसै मुस्कुराउँछ । उसको ह्दय पुलकित हुन्छ । नपत्याएको लवजमा शंका व्यक्त गर्दै ‘हो र ?’ भन्दै लजाउँदै खुसीले मखलेल हुन्छ । चाहे त्यो प्रशंसामा सत्यको मात्रा बढी होस् वा झूटको मात्रा बढी होस् ।
अरूले जस्तो धारणा राखून्, मलाई पनि प्रशंसा भन्ने चीज बडो मन पर्छ । चाहे त्यो कसैको नाउँमा वर्षाउन होस् चाहे आफैँले सहर्ष प्राप्त गर्न होस् । प्रशंसामा सकारात्मक तरङ्ग हुन्छन् । यसले मानिसमा बेग्लै किसिमको ऊर्जा भरिदिन्छ ।
एकपटक यस्तो भयो— एउटा मानिस थियो, जो मलाई असाध्यै घृणा गथ्र्यो । ऊ आफूभित्र मप्रति भएको घृणाको वमन मसँग प्रत्यक्षभन्दा पनि परोक्ष रूपमा बढी गथ्र्यो । प्रत्यक्ष ऊसित मेरो त्यति धेरै भेट भएको होइन । मैले उसको केही बिगारिदिएको पनि होइन । घृणा गर्नुपर्ने
त्यस्तो कारण, कमसेकम मचाहिँ केही देख्दिनथेँ ।
एक दिन मेरो भेट तिनै व्यक्तिसित हुन पुग्यो । म सन्त थिइनँ कि उसलाई देख्दा रिस नउठोस् । रिसाएँ मनमनै । आँखा जुधेपछि रिसमै पनि म मुस्कुराएछु । ऊ नमुस्कुराई रहन सकेन । ऊ मुस्कुराएपछि मेरो रिस केही शान्त भयो । ऊसित बोल्ने मुड भयो । बोल्दा उसको केही प्रशंसा गरिदिएँ । प्रशंसा झूटो थिएन । ऊसित भएका केही राम्रा गुणलाई घुमाइफिराइ अलिकति बढाइचढाइ उसैका अगाडि भनिदिएको थिएँ, ऊ एकदमै नतमस्तक भयो । गाला गुलाफी बनायो । उसको ओठको पिङमा मुस्कान झुल्न थाल्यो । पाँच सात पटक ‘धन्यवाद’ भन्यो । कफीका लागि आफ्नो घरमा मलाई आमन्त्रण गर्यो । मैले जति नै नगरे पनि केही थोरै प्रशंसा उसले मेरो पनि गर्यो र त्यो दिनदेखि त्यो व्यक्तिको ह्दयबाट मप्रतिको घृणा समाप्त भयो ।
हरेक मानिसमा केही सद्गुण पनि हुन्छन् र केही दुर्गुण पनि । सरल भाषामा भन्ने हो भने कुनै पनि मानिसमा भएको खुबीलाई उधिनेर उसैका अघिल्तिर उसलाई जानकारी गराउनु नै प्रशंसा हो । यसले वातावरण नै सुन्दर हुन्छ । प्रशंसित हुने त खुसी भैहाल्ने नै भयो । प्रशंसा गर्ने पनि उसको खुसी देखेर खुसी हुन पुग्छ । प्रशंसाले पेट त भरिँदैन, तर आँतलाई भने तृप्त बनाउँछ । कहिलेकाहीं त केही मानिस बिहान पाएको कुनै एउटा प्रशंसाकै कारण सिंगो दिन खुसी भएर बस्न सक्छ ।
यद्यपि प्रशंसा भन्ने चिज औषधीको मात्राजस्तै हो । अलिकति मात्र पनि कम वा बढी भयो भने त्यहाँ औषधीको असर होइन, प्रतिअसर बढी भेटिन्छ । कसैको प्रशंसा गर्दा त्यति नै गर्नुस् जति प्रशंसाको भारी ऊ बोक्न सक्छ । कसैको क्षमताभन्दा अघि बढेर प्रशंसाको भारी बोकाउन खोज्दा त्यसले सम्बन्ध नै ढलमलाउन सक्छ र कसैको प्रशंसा आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्न गरिरहनुभएको छ भने त्यो प्रशंसा कम चाप्लुसी वा चाकडी बढी ठहर्नेछ । हामीकहाँ कुनै काम निप्ट्याउन वा केही स्वार्थ पूर्तिका लागि प्रशंसा गर्ने प्रचलन छ । कसैको प्रशंसा गर्न कुनै अवसर किन कुर्ने ?
कुनै मानिस राम्रो छ भने ऊ सधैँ राम्रो छ । भनिदिनुस् न नहिच्किचाई । जसको जे कुरा तपाईंलाई मन पर्छ, त्यो उसलाई भनिदिनुस् निर्धक्क भएर र कहिलेकाहीँ उसको आलोचक पनि बनिदिनुस् । किनभने प्रशंसा गर्नेलाई हक हुन्छ, कसैको केही मन नपरेको खण्डमा आलोचना गर्न वा सुझाव दिन । माया गर्नेलाई नै हक हुन्छ कहिलेकाहीँ गाली पनि गर्न ।
मानिसहरू खुसी हुने अनेक उपाय खोजिरहेका छन् । यस्ता धेरै उपायमध्ये कसैको प्रशंसा गर्नु पनि एउटा महत्वपूर्ण उपाय हो । यो राम्रो थेरापी हो— खुसी हुने । किनभने अरूलाई खुसी बनाउनु भनेको आफैँ खुसी हुनु हो ।