म २४ वर्षीय युवक हुँ । मेरो लिंग धेरै नै टेढो छ । मलाई यौनसम्पर्कमा असाध्यै रुचि छ । यौनसम्पर्कको याद आयो भने हातले लिंग नचलाई बस्न सक्दिनँ । यो उपाय अवलम्बन गरेको सात वर्षजति भयो । कतै यसैका कारण मेरो लिंग त्यस्तो भएको त होइन ? यो कस्तो समस्या हो ? म चाहेर पनि आफूलाई रोक्न सक्दिनँ । हातले हल्लाएन भने पनि धेरै कम असर हुन्छ । यौनसम्पर्क गर्दा पनि छिटै वीर्य स्खलन हुन्छ । मेरी यौन पार्टनर मेरो लिंग असामान्य छ भन्छिन् अनि यौनसम्पर्क गर्दा कम आनन्द प्राप्त भएको कुरा बताउँछिन्, बरु बढी पीडा हुन्छ रे !
-३५७४
बांगो लिंग
लिंगको बांगोपनको कुरा गरिहाल्नुभन्दा पहिले यसको संरचनाका सम्बन्धमा केही कुरा गरौं । लिंग मुख्यत: तीनवटा स्पन्जजस्तो संरचनाले बनेको हुन्छ । लिंगको माथितिर दुईवटा Corpus Cavernosa भनिने भाग हुन्छन् भने तलतिर Corpus Spongiosum । लिंग उत्तेजित हुँदा यिनै संरचनाहरूमा रगत भरिन्छ र लिंग मोटो अनि कडा हुन्छ । उत्तेजित नभएका बेला त लिंग एउटा लचिलो अङ्गका रूपमा रहेको हुन्छ र बांगोपनको खासै अनुभव हुँदैन, तर उत्तेजित हुँदा मात्र बांगोपन स्पष्ट रूपमा देखिन्छ ।
व्यक्ति–व्यक्तिअनुसार लिंगको नाप र आकारमा प्रशस्त भिन्नता हुन्छ र यो लिंगको विकासको क्रममै हुने कुरा हो । हाम्रो शरीरको पनि दायाँ–बायाँ ठयाक्कै बराबर हुँदैन, केही फरक हुन्छ । शरीरको बीचमा परेको भए पनि शरीरको विकासका क्रममा त्यसको प्रभाव लिंगमा समेत देखिन्छ । सबै पुरुषको लिंगको आकार एकै किसिमको हुँदैन र उत्तेजित अवस्थामा एकदम सीधा नभै लिंग आफैंमा केही मात्रामा टेढो (बांगो) हुन्छ । यो सामान्य नै हो । तपाईंले आफ्नो लिंगलाई कुन अर्थमा बांगो मान्नुभएको हो तथा कसरी आफ्नो लिंग सामान्यभन्दा बांगो भएको थाहा पाउनुभयो भन्ने कुरा खुल्नु आवश्यक छ । कतिपयले लिंग शरीरसँग टाँसिएको कोणको कुरालाई लिएर बांगोपनको कुरा गर्छन् ।
टेढोपन निकै छ भने समस्या गम्भीर हुनसक्छ, तर यस्तो स्थिति अति नै कम हुन्छ । मूत्रनलीको विकासमा गडबडी भएर टेढोपन भएको (hypospadias) स्थितिमा लिंग तलतिर बांगो हुन्छ । लिंग निश्चित (स्थायी) रूपमा बांगो भएको अवस्थालाई chordee भनिन्छ । मूत्रद्वारको संक्रमण पनि यस्तो बांगोपनको कारण हुनसक्छ । Peyronie's disease मा सामान्य लिंग अकस्मात निकै बांगो भै यौनसम्पर्क नै गर्न नसक्ने हुनसक्छ र दुख्छ पनि । पक्का रूपमा कारण थाहा नभएको यो रोग अक्सर ४० वर्षभन्दा माथिका मानिसलाई लाग्छ, जुन तपाईंलाई भएको भन्ने आधार छैन । यस्ता गम्भीर समस्याका लागि मात्र चिकित्सकको सहयोग आवश्यक हुन्छ ।
कतै हस्तमैथुनले लिंग बांगो बनाएको हो कि ?
माथि नै भनिसकियो, लिंग ज्यादै बांगो हुने प्रमुख कारण Peyronie’s Disease हो । यसको पक्का कारण थाहा हुन नसके पनि कतिपय अनुसन्धानकर्ताहरूका अनुसार लिंगमा चोट लाग्दा थोरै भए पनि भित्र रक्तश्राव हुन्छ र त्यसमै fibrous plaque बन्न थाल्छ । यस्तो स्थितिमा बिस्तारै लिंगको लचिलोपन कम हुने हुँदा उत्तेजित लिंगमा बांगोपन देखिन्छ र पीडा हुन्छ । कतिपय स्थितिमा लिंगमा यसरी चोटपटक लागेको थियो भनेर राम्रोसँग याद पनि नहुन सक्छ । अन्य केही स्थितिमा यसको वंशाणुगत कारण पनि हुन सक्छ भनिन्छ ।
सामान्य रूपमा गरिने वा गरिएको हातले लिंग चलाउने कार्य वा भनौं हस्तमैथुनले लिंगलाई बांगो बनाउँदैन । तपाईंले आफूले कसरी हस्तमैथुन गर्नुभएको भन्ने कुरा लेख्नुभएको छैन । असावधानीवश तपाईंले लिंग हल्लाउने क्रममा वा अन्य कारणले बारम्बार चोटपटक लागेको स्थितिमा भने यस्तो स्थिति उत्पन्न हुने स्थिति नहोला भन्न सकिँँदैन । अहिले तपाईं युवावस्थामै हुनुभएकाले सम्भावना कम भए पनि हुँदै नहुने भन्ने चाहिँ होईन । Peyronie’s Disease को उपचारका लागि केही औषधिको सेवन वा सुई दिने वा शल्यक्रियाजस्ता उपाय अवलम्बन गरिन्छ । यसको निदान तथा उपचारका लागि चिकित्सकको सहयोग लिनुपर्छ ।
बांगो लिंग यौनसम्पर्कमा पीडा
पुरुषलाई निकै चिन्ता हुने भए पनि हल्का किसिमको लिंगको बांगोपनले यौनसम्पर्कलाई कुनै किसिमको वाधा पुर्याउँदैन र यौनसुख लिन तथा दिन दुवै सकिन्छ । तपाईंको यौनसाथीले तपाईंको लिंग असामान्य र यौनसम्पर्कमा पीडा हुने कुरा बताउनुभएको छ, जसलाई राम्रोसँग केलाउनुपर्छ । तपाईंले हस्तमैथुन गर्दा यसको बांगोपनका कारण असजिलो भएको उल्लेख गर्नुभएको छैन ।
आसन मिलाउन सकिएको खण्डमा एक हदसम्मको लिंगको बांगोपनले महिलालाई यौन सुख प्राप्त गर्न मद्दत नै गर्छ । बांगोपनले लिंगको मोटोपन बढी भएजस्तो गरी कार्य गर्छ र यसले पीडा भएको हो भने लिंग प्रवेश र त्यसपछिको गतिलाई आसन र कोण मिलाउन सकिए एक हद सम्म पीडा कम गर्न सकिन्छ । बांगोपन धेरै भएको स्थितिमा भने यसको उपचार गर्ने प्रयास गर्नु उपयुक्त हुन्छ ।
अब अर्को पक्षमा पनि हेरौं, अधिकांश महिलाले यौनसुख भगांकुरको प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट प्राप्त गर्छन् । तपाईंलाई थाहै होला, भगांकुर बाहिर नै हुन्छ र यसको घर्षणका लागि लिंग नै चाहिन्छ भन्ने हुँदैन । त्यसैले समस्या गम्भीर नहुँदा आफ्नो लिंग सोझ्याउनेतिर लाग्नुभन्दा पहिले महिलाले कसरी यौन आनन्द प्राप्त गर्छन् भन्ने कुरा बुझ्न तिर लाग्नु बुद्धिमानी हो ।
अन्त्यमा के भनौं भने पीडादायक तथा अप्ठ्यारो यौनसम्पर्कलाई चिकित्सकीय भाषामा Dyspareunia भनिन्छ । महिलामा यौनसम्पर्कका बेला अनेक कारणले पीडा हुनसक्छ । एउटा प्रमुख कारण योनि सुख्खा हुनु हो । अर्को महत्वपूर्ण कारण योनिको मांसपेशी कडा हुनु हो । यस किसिमको अवस्थालाई Vaginismus भनिन्छ । धेरैजसो अवस्थामा भयातुर वा डर नै यसको कारण हुन्छ । त्यसबाहेक प्रजनन अंगको संक्रमण पनि त्यसको कारण हुन सक्छ । त्यसैले उपचारका लागि यतातिर पनि ध्यान दिई समस्याको कारण पत्ता लगाई त्यसको समाधान गर्नु आवश्यक छ ।