साप्ताहिक संवाददाता
झाडापखाला लाग्नेबित्तिक्कै थाइल्यान्ड कुदेर देशको ढुकुटी रित्तो पार्लान् भन्ने डर मात्र लाग्छ । खराब इन्जिन अनि पन्चर भएको गाडी चढेर लामो यात्रा गर्छु भन्नु त आफैंमा मुर्खता होइन र ?
याङहाङ सुब्बा
पानीजहाज चढेर चतरा घाट पुग्ने, पाइपलाइनको ग्याँसमा पकाएको चिया पिउँदै हावाको बिजुलीबाट टिभी चलाई विश्वकप फुटबल हेर्ने अपेक्षा छ ।
किसन राई
म अहिले कुवेतमा छु । फलामको बेडमा सुत्नुपरेको छ । मलाई अब काठको बेडमा सुत्न मन छ । ढाड पनि साह्रै दुखिरहन्छ । मेरो देश बनोस्, मलाई अरू केही चाहिँदैन । ओलीको नेतृत्वले देशलाई सुशासन एवं विकासतर्फ अग्रसर बनाउनेछ भन्ने आशा छ ।
दिलकुमार घलान
देशमा रोजगारीको अवसर सिर्जना होस् । अरूको देशमा दास बन्न जानु नपरोस् । महँगी नबढोस् । देशका दुर्गम ठाउँका जनताले एउटा सिटामोलको अभावमा ज्यान गुमाउनु नपरोस् ।
युरिकराज नेपाली
आमनेपालीले उहाँबाट आर्थिक समृद्धि र स्थिरताजस्ता विषयमा कुनै ठोस कदम चालिने अपेक्षा गरेका छन् ।
सूर्य गैरे
तपाईं धेरै अपेक्षा गरिएको प्रधानमन्त्री हो । देशमा रेलदेखि समुद्रमा नेपाली ध्वजावाहक जहाजसम्मको सबै सपना पूरा होस् ।
युवराज तामाङ
ओलीले टेलिभिजनमा एउटा हास्यव्यङ्ग्य कार्यक्रम होस्ट गर्नुहुन्छ कि भन्ने अपेक्षा छ ।
एलेक्स मैनाली
नहाँसेको पनि वर्षौं हुन लाग्यो । दुई–चारवटा नयाँ उखान–टुक्का सुन्न पाउने आशा राखेको छु ।
पाल्साङ तामाङ
शान्ति, स्थायित्व र सुशासनको अपेक्षासहित देशले आर्थिक समृद्धिमा फड्को मार्ने अपेक्षा छ । देशमै रोजगारी सिर्जना गरी खाडी मुलुक पुगेका युवाहरूलाई स्वदेश ल्याउने कुरामा जोड दिनुहोला ।
कैलाश भुजेल
म अहिले खाडी मुलुकमा रुमल्लिएको छु । अबको दिनमा मजस्ता युवाहरू खाडीमुलुकमा नरुमल्लिऊन् । थोरै कमाइ भए पनि आफ्नै देशमा केही सीप लगानी गरी घर–परिवारसँग बस्ने मौका मिलोस् ।
मनोज खत्री ।
बिहान सात बजेभन्दा अघि कान्तिपुर एफएमले जनतासँग बोली भन्ने एउटा कार्यक्रम राखे हुन्थ्यो । रामदेवले हँसाएर भारतलाई समृद्ध बनाए, अब नेपालमा खड्गदेवले हँसाउँदा कतै नेपाल पनि समृद्ध हुन्छ कि ?
विनोद गुरागार्इं
ओली बाबाट के नै आशा गर्नु र ? उहाँसँग काम गर्ने समय नै निकै छोटो छ ।
राज दिपेश
सिमाना जोगाउनुहोस्, कृषि–सिँचाइमा जोड दिनुहोस्, रोजगारीका लागि आन्तरिक एवं विदेशी लगानी प्रोत्साहित गर्नुहोस् । विदेश पुगेका छोराछोरीलाई फर्काएर यतै कर्म गर्ने वातावरण बनाउनुहोस्, भ्रष्टाचार रोक्नुहोस् ।
माधव सेढाईं
नयाँ–नयाँ उखान–टुक्का सुन्न पाइएला अब । पाइपबाट ग्याँस र अन्तरिक्षमा रकेट पठाउँछु त भनिसक्नुभयो । अरू यस्ता खत्रा–खत्रा सोच के–कस्ता होलान्, ती पनि सुन्दै र हाँस्दै गफ गर्न पाईएला भन्ने अपेक्षा राख्या छु ।
थापा राम