साप्ताहिक संवाददाता
मभन्दा ठूलो कलाकार मेरी आमा हुन् । किनभने मैले जिन्दगीको पहिलो पाइला आमाकै सहारामा चालें । मेरो जीवनको पहिलो अभिनय त्यही थियो । जीवनको पहिलो शब्द आमाबाटै सिकें । त्यो मेरो पहिलो कला थियो । आमाले हौसला दिँदै हरेक कुरा सिकाउँदै आज यो ठाउँसम्म पुर्याउनुभएको छ । मेरी आमा नै मेरी गुरु हुन् र आमा नै मभन्दा ठूलो कलाकार ।
दीपशिखा खड्का, अभिनेत्री
गायक उदित नारायण । म उनकै गीत सुन्दै हुर्किएको कलाकार हुँ । एउटा सानो ठाउँबाट आएर पनि उनी अहिले अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउन सफल छन् । प्राकृतिक स्वरका कारण उदित नारायणलाई मैले प्रेरणाको स्रोत एवं रोल मोडल मानेको छु ।
विक्रान्त मेहता, गायक/चिकित्सक
मभन्दा ठूलो कलाकार मभित्र भएको आत्मविश्वास हो, किनभने जस्तोसुकै परिस्थिति आए पनि मलाई त्यो आत्मविश्वासले डगमगाउन दिँदैन ।
मनीषा पोखरेल, गायिका
मैले दुई जनालाई आफूभन्दा ठूलो कलाकार मानेकी छु । पहिलो त मेरी आमा । मेरी आमा हरिमाया श्रेष्ठ, जसले जीवनको जस्तोसुकै कठिन अभिनयमा पनि उत्रिनुपर्छ भन्ने सिकाउनुभयो । अर्की अभिनेत्री गौरी मल्ल मभन्दा धेरै ठूली कलाकार हुन् ।
अर्पणा श्रेष्ठ, गायिका
हामीभन्दा अग्रज सबै कलाकार नै मभन्दा ठूला कलाकार हुन् । म उहाँहरूको योगदानको सम्मान गर्छु ।
दीपाश्री निरौला, अभिनेत्री/निर्देशक
माता–पिता नै ठूला कलाकार हुन्, किनभने आफ्नो सन्तानलाई कलात्मक तरिकाले हुर्काउने र संस्कार सिकाउने काम उहाँहरू बाटै हुन्छ ।
डिजराज पौडेल, गायक
सबैभन्दा पहिले त म ठूलो कलाकार नै होइन...त्यसैले यो संसारमा जति पनि कलाकार छन्, उनीहरू मभन्दा धेरै ठूला कलाकार हुन् ।
दीया मास्के, अभिनेत्री
पर्दाभित्र हरिहर शर्मा अनि पर्दा बाहिर मेरी आमा, किनभने...व्याख्या गर्न नसकिने गुणहरू छन् उहाँहरूसँग ।
हेमन्त गौतम, रंगकर्मी
मलाई दिवंगत निर्देशक तथा अभिनेता आलोक नेम्बाङ ठूलो कलाकार हुन भन्ने लाग्छ । पर्दा भित्रमात्र होइन, पर्दा बाहिर पनि । किनभने राम्रो कलाकार हुन मानवीय गुण पनि आवश्यक छ । आम दर्शकले कस्तो भनेको, के गरेको हरेक कुरा हेर्ने भएकाले पनि सबैको नजरमा उत्कृष्ट हुन गाह्रो छ । अभिनेताका रूपमा आलोक नेम्बाङको चलचित्र नुमाफुङ हेरेपछि उहाँ मलाई मन पर्न थाल्नु भएको हो ।
सञ्चिता लुइँटेल, अभिनेत्री
मह जोडी । उहाँहरू प्रेरणादायी हुनुहुन्छ । उहाँहरू पूरै मनोरञ्जन उद्योगको परिभाषा नै परिवर्तन गर्ने कलाकार हुनुहुन्छ । उहाँहरूले सामाजिक सन्देशमार्फत सबैलाई रोमाञ्चक मात्र बनाउनु हुन्न, सबै उमेर समूहका दर्शकले सजिलै बुझिने शैलीसमेत अपनाउनुहुन्छ ।
सुनिता डंगोल, मिस नेवा:
मेरा लागि भूषण दाहाल ठूला कलाकार हुन्, किनभने उनको व्यक्तित्व, बौद्धिकता तथा सिर्जनशीलताका कारण उनी मभन्दा धेरै ठूलो कलाकार भएका छन् ।
समन अधिकारी, निर्देशक
कलाकारमा सानो–ठूलो भन्ने हुँदैन । मैले आफूभन्दा अग्रज कलाकार तथा नव आगन्तुक कलाकारबाट समेत सिक्ने मौका पाइरहेकी छु । त्यसैले मेरा लागि सबै कलाकार बराबर हुनुहुन्छ ।
क्षितिजा शाक्य, अभिनेत्री/डिजाइनर
मभन्दा ठूला कलाकार धेरै हुनुहुन्छ । भर्खर तीन वर्ष भयो मैले अभिनेताका रूपमा काम गर्न थालेको । मैले नेपाली चलचित्र हेर्न थालेको आर्यन सिग्देलको चलचित्रबाट हो । त्यसैले उनी जहिले पनि मेरा लागि रोल मोडल छन् । पर्दाबाहिर चाहिँ मेरो ड्याडीलाई म ठूलो कलाकार मान्छु, किनभने उहाँको सपना नै कलाकार बन्ने थियो, जुन सपना म अहिले पूरा गर्दैछु ।
आमेश भण्डारी, अभिनेता
नेपालका नेताहरूलाई पो ठूलो कलाकार मान्नुपर्ने बेला आएको छ । हामी कलाकारहरूले भन्दा राम्रो अभिनय उहाँहरूले नै गरिरहनुभएको छ ।
गोपाल ढकाल, अभिनेता
सीताराम कट्टेल र कुञ्जना घिमिरे । किनभने उहाँहरू कलाकार मात्र नभै धेरै मानिसको घाउमा मल्हम लगाउने व्यक्तित्व हुनु भएको छ ।
सीताराम पोखरेल, गायक
धुर्मुस–सुन्तली । पर्दामा जति सुन्दर अभिनय गर्नुहुन्छ, बाहिर पनि त्यति नै रियल हिरोको काम गर्नुभएको छ ।
नीता ढुंगाना, अभिनेत्री
मेरी श्रीमती । उनीभन्दा ठूली कलाकार मैले अहिलेसम्म देखेको छैन ।
रोशन पराजुली, संगीतकर्मी
पर्दाभित्रको ठूलो कलाकार मदन गोपाल नै लाग्छ भने पर्दाबाहिर सम्पूर्ण दर्शक तथा श्रोता नै मभन्दा ठूला कलाकार हुन् ।
मदन गोपाल, गायक
मभन्दा ठूला कलाकार त धेरै छन्, तर म फेसन र मोडलिङ उद्योगमा सक्रिय भएकाले मलाई अर्जुन रामपालको फेसन सेन्स तथा मोडलिङ क्यारेक्टर सबैभन्दा राम्रो लाग्छ ।
दीपक घिमिरे, मोडल
आफू हास्य विधासँग जोडिएकाले मलाई मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य ठूला लाग्छन् । नेपालमा यो विधालाई स्थापित गर्न उहाँहरूको महत्वपूर्ण योगदान छ । उहाँहरू दुई जनामध्ये एक जनाको मात्र नाम भन्ने अधिकार मसँग छैन ।
राधिका कँडेल, आरजे/भिजे