साप्ताहिक संवाददाता
पाँचौं प्राचीन कपिलवस्तु महोत्सव सुरु भएको छ । ऐतिहासिक, पुरातात्विक र प्राकृतिक मनोरम स्थलको प्रचारप्रसार गरि पर्यटकीय गन्तव्यको स्थल बनाउन महोत्सव गरिएको हो ।
महोत्सवमा महत्वपुर्ण पुरातात्विक स्थलको नमुना आकर्षण राखेर पर्यटकीय गन्तव्य स्थल बनाउन सक्दो कोशिस गरिएको छ । बुद्धपरिपथ नाम दिएर ४ बुद्धस्थललाई कलात्मक सृजना दिईएकोछ । राजा शुद्धोदनको राजप्रासाद तथा राजकुमार सिद्धार्थले २९ वर्षको युवा अवस्था विताएको तिलौराकोट र भगवान गौतम बुद्धले ज्ञानप्राप्त गरेपछि पहिलो पटक आमाबुवालाई भेटघाट गरेको निग्रोधारामको तस्विरलाई जस्ताको तस्तै उतारिएको छ । सम्राट अशोक तीर्थाटन गर्न आउदा गोटिहवा र निग्लिहवामा बनाएको अशोक स्तम्बलाई पनि हुबहु उतारिएकोछ ।
जिल्लाका पर्यटकीय तथा ऐतिहासिक स्थलको तस्विर प्रर्दशनी र भगवान गौतम बुद्धसंग सम्बन्धि ऐतिहासिक वृत्तचित्र प्रर्दशनी गरिएकोछ ।
महिलाहरुले बनाएका घरेलु तथा हस्तकलाका घरासयी प्रयोगका सामग्रीका विषेश स्टल छ । कुस, काँस, केराको बोक्रा र बाँस लगायतका स्थानीय सामग्री प्रयोग गरि बनाईएका सामग्री स्टलमा छन् । स्थानीय उत्पादन प्रयोग गरि महिला शिप र श्रमलाई प्रोत्साहन दिन महिला स्टल प्रोत्साहन गरेका छौं तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव संयोजक गयादिन कुर्मीले बताए । ‘यस्ले महिला उत्साहित हुन्छन्’ उनले भने, ‘स्वदेशी समान प्रयोग गर्ने बानीको विकास हुन्छ ।’ ‘धेरै भन्दा धेरैले यहाका मनोरम पर्यटकीय स्थलबारे थाहा पाउन् हाम्रो एउटा मात्र उद्देश्य हो’ उनले भने, ‘यस्ले जिल्लालाई चिनाउन सहयोग पुग्छ ।’
घरेलु तथा कुटिर उद्योगका उत्पादनको प्रर्दशनी र विक्री वितरण पनि गरिनेछ । महोत्सवमा दैनिक स्थानीय र राष्ट्रिय कलाकारले गीत गाएर दर्शकलाई नचाईरहेकाछन् । त्यस्तै हाँस्य हास्यकलाकारले प्रर्हशन प्रस्तुत गरेर दर्शकलाई भरपुर मनोरञ्जन गराईरहेकाछन् । कृषकलाई जानकारी र र सुचना दिन कृषि उपजका प्रर्दशनी पनि गरिएकोछ । महोत्सव दिउसो भन्दा रातिमा बढी रमाईलो हुने गर्छ ।
महोत्सवमा कृषिजन्य, घरेलु, कुटिर, इलेक्ट्रिक तथा ईलेक्ट्रोनिक्स र विज्ञान प्रविधिका स्टल रहेकाछन् । त्यस्तै तयारी कपडा, जुत्ता, उपभोग्य सामग्री र खाद्यान्नका स्टल रहेकाछन् । महोत्सव आकर्षणका रुपमा रोटे पिङ, मौतका कुवा, ढोंगा पिङ, ड्राइगन ट्रेन र बाल उद्यान छन् । ५० स्थानीय र सय बढी बाहिरबाट स्टल छन् । ढेड लाख दर्शकले महोत्सवको अवलोकन र १ करोड बढीको करोवार हुने संघको कोषाध्यक्ष अनन्त भारतीले बताए । फागुन २० मा सुरु भएको महोत्सव ३० सम्म सदरमुकाम तौलिहवा स्थित बुद्ध पद्मम उच्च माविको खेलमैदानमा चल्ने छ ।