साप्ताहिक संवाददाता
म सांगीतिक क्षेत्रमा सक्रिय भएको झन्डै डेढ दशक भयो । करिब १७ वर्षअघि नै मैले त्यो बेलाका लोकप्रिय संगीतकार सुनिल वर्देवाको संगीत निर्देशनमा एउटा पप गीत रेकर्ड गराएकी थिएँ । ‘झिमझिम परेलीमा...’ शीर्षकको उक्त गीत त्यति बेला एफएमहरूमा असाध्यै बज्यो । मेरो आफ्नै शब्दको उक्त गीतमा एक प्रकारको मिठास त छँदै थियो, फास्ट बिटमा आधारित पप गीत भएकाले नृत्य गर्न पनि सहज थियो । एफएममार्फत गीत त लोकप्रिय भयो, तर गायिकाका रूपमा मेरो नाम मात्र चर्चामा आयो । मेरो अनुहारलाई अधिकांश दर्शक तथा स्रोताले चिन्नु भएन । किनभने त्यति बेला आजको जस्तो न त म्युजिक भिडियो बनाउने चलन थियो, न त यति धेरै टेलिभिजन च्यानल नै थिए, न त त्यो बेला आजको जस्तो युट्युब नै थियो ।
मेरो पहिलो गीत लोकप्रिय भएपछि मैले एकल गीति एल्बम ‘लुकीचोरी’ पनि सार्वजनिक गरेकी थिएँ । त्यसपछि म गौरीघाट, काठमाडौंमा स्टुडियो साउन्ड मिल स्थापना गरेर गीत रेकर्डिङमा सक्रिय भएँ । लगत्तै आफ्नै विधामा सक्रिय संगीतकर्मी महेश्वरमान राजभण्डारी (रेकर्डिस्ट) सँग वैवाहिक जीवनमा बाँधिएँ । रेकर्डिङ स्टुडियोको व्यवस्थापन सम्हाल्दा–सम्हाल्दै विस्तारै म गायनबाट टाढा भएँ । पारिवारिक बन्धनमा बाँधिएपछि गायनलाई निरन्तरता दिन गारो पर्ने रहेछ ।
हालसालै मैले गायन कर्मलाई पुन: निरन्तरता दिने निर्णय गर्दै आफ्नो पुरानै लोकप्रिय गीत ‘झिमझिम परेलीमा...’लाई रि–रेकर्ड गरें । अत्याधुनिक स्टुडियोमा अत्याधुनिक वाद्ययन्त्रसहित गीतको रेकर्डिङ सम्पन्न गरियो । गीत तयार भएपछि म्युजिक भिडियो बनाउने योजना बन्यो । निर्देशक नितिन चन्दले नृत्यपरक भिडियो बनाउने सल्लाह दिनुभयो । मोडल एलिशा राईलाई लिएर भिडियो पनि तयार भयो । भिडियो राम्रो बन्यो जसलाई युट्यबुमा अपलोड पनि गरियो ।
कुनैबेला लोकप्रिय भैसकेको मेरो आफ्नै गीतले अहिले आएर पुन: एक प्रकारको परीक्षा दिनु परेको छ । अहिले युट्युबमा जति धेरै पटक हेरियो, उति नै लोकप्रिय भन्ने मान्यता विकसित भैसकेको रहेछ । सुनील वर्देवा जस्ता दिग्गज संगीतकर्मीको संगीतको उक्त गीतको भिडियोले १२–१३ हजार मात्र दर्शक पाएको छ । भ्युअर्स मात्र गन्ने हो भने मेरो गीतको भिडियोलाई सफल मान्न सकिँदैन, तर कुनै बेला गीत लोकप्रिय भएर गीत गाउने गायिकालाई कन्सर्टहरूमा व्यस्त बनाउने गीतलाई अहिले आएर युट्युबको मापदण्डमा बाँधिने कुराले मलाई चिन्तित बनाएको छ । कुनै राम्रो गीतले युट्युबमा भने जस्तो भ्युज पाएन भने के त्यो असफल नै हो त ? यो मेरो मात्र होइन, संगीतमा संघर्ष गरिरहेका हरेक कलाकारको प्रश्न हो ।