धादिङको धूवाँकोट, रातमाटेमा जन्मिएकी गायिका रेखा शाह बाल्यकालदेखि नै गीत गुनगुनाउँथिन् । नारायणगोपाल, भक्तराज आचार्य, अरुण थापा, अरुणा लामा, तारा देवी आदि गायक–गायिकाका गीत गुनगुनाउने शाह काठमाडौं आएर सोझै रेडियो नेपाल प्रवेश गरिन् । रेडियो नेपालमा भ्वाइस टेस्ट दिन पुगेकी शाहले त्यहाँ ६–६ महिनामा मात्र स्वर परीक्षा हुने जानकारी मात्र पाइनन्, केही समयभित्रै राष्ट्रव्यापी लोक गायन प्रतियोगिता हुँदैछ भन्ने कुरा पनि सुनिन् । उनीसँग आफैंले संकलन गरेर लयसमेत तयार पारेको गीत थियो । २०४९ साल फागुन ७ गते रेडियो नेपालले आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा उनले सयौं दर्शकका अगाडि छाती फुलाएर गाइन्– ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा....’ ।
तीनदिने प्रतियोगिताको अन्तिम दिन नतिजा सार्वजनिक भयो । रेखा शाह आफ्नो विधामा अब्बल घोषित भइन् । प्रथम पुरस्कार प्राप्त गरेको उक्त क्षणलाई जीवनकै अविस्मरणीय क्षण मान्ने शाहले त्यही दिनदेखि गायिकाको उपाधि मात्र पाइनन्, लगत्तै रेडियो नेपालमा उक्त गीत रेकर्ड गर्ने अवसरसमेत हात पारिन् । त्यसको केही महिनापछि पुन: त्यही गीतलाई पुरुष गायकसहित युगल गीतका रूपमा तयार पारियो ।
जीवनको पहिलो गीत रेकर्ड भएको दिनबाट प्रारम्भ भएको उनको सांगीतिक यात्राले आजको मितिसम्म आइपुग्दा ठ्याक्क २५ वर्ष पूरा गरेको छ अर्थात् यही फागुन ७ गतेपछि उनी आफ्नो सांगीतिक यात्राको रजत महोत्सव मनाइरहेकी छिन् । यही रजत महोत्सवलाई सांगीतिक रूपमा अविस्मरणीय बनाउन गायिका शाह आफ्नो जीवनकै पहिलो एकल गायन कार्यक्रममा प्रस्तुत हुँदै छिन् ।
‘अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर यही फागुन २४ गते बिहीबार काठमाडौंमा पहिलो एकल गायन कार्यक्रममा सहभागी हुँदैछ,’ साप्ताहिकसँगको भेटमा गायिका शाहले भनिन्– मेरो सांगीतिक यात्राले २५ वर्ष पूरा गरेको अवसर पारेर रेखा शाह म्युजिकल सेलिब्रेसन–२०१८ शीर्षकको एकल गायन कार्यक्रम हुँदैछु । दरबारमार्गस्थित होटल याक एन्ड यतिमा झन्डै ६ सय दर्शकसामु प्रस्तुत हुने एकल गायन कार्यक्रममा गायिका शाहले झन्डै एक दर्जन वाद्यवादकसँग आफ्ना एक दर्जनभन्दा बढी गीत सुनाउने छिन् । रेखा यतिबेला त्यही कार्यक्रमको अभ्यासमा व्यस्त छिन् ।
२५ वर्षअघि रेकर्ड भएको आफ्नो सदावहार गीत ‘सिमसिमे पानीमा...’ आज पनि उत्तिकै लोकप्रिय छ । उक्त गीत रेकर्ड भएर रेडियो नेपालबाट दैनिक दर्जनौं पटक बज्न थालेपछि त्यो गीत स्वदेशमा मात्र होइन, विदेशमा समेत लोकप्रिय भयो । गीतको लोकप्रियता यसरी चुलियो, सिमसिमे पानीमा र रेखा शाह एक–अर्काको परिपूरक नै भए । सामाजिक सञ्जाल तथा युट्युबका बारेमा कल्पना नै नगरिएको समयमा रेकर्ड भएको उक्त गीत युवापुस्तालाई पनि सुनाउनुपर्छ भनेर गायिका शाहले तीन वर्षअघि उक्त गीतलाई रिमिक्स गरिन् र त्यसको म्युजिक भिडियो समेत तयार पारिन् । नितिन चन्दद्वारा निर्देशित उक्त भिडियोमा गायिका शाहले आफैं अभिनय गरिन् । युवापुस्ताको मन जितेको सिमसिमे पानीको उक्त म्युजिक भिडियो झन्डै साढे ३२ लाख पटक हेरिसकिएको छ ।
रेखा शाहका लोकप्रिय गीतहरु:-
गीत | संगीत | शब्द |
सिमसिमे पानीमा | रेखा शाह | रेखा शाह |
एक दिन तिमी फर्किआउने छौ | सुगम पोखरेल | भूपेन्द्र खड्का |
तिमीलाई केही हुँदै नहोस् | हरि लम्साल | भूपेन्द्र खड्का |
नजिक छौ तिमी | कमल खत्री | रेखा शाह |
तिम्रो हात समाई | हरि लम्साल | भूपेन्द्र खड्का |
तिमीबिना म एक्लै | कमल खत्री | भूपेन्द्र खड्का |
मैना चरीलाई | बुद्धि परियार | बुद्धि परियार |
आफ्नो स्वरमा रेकर्ड भएको पहिलो गीत लोकप्रिय भएपछि यी गायिका चुप लागेर बसिनन् । उक्त गीत रेकर्ड भएको केही महिनापछि नै उनले गायक युक्त गुरुङसँग मिलेर अर्को एउटा युगल गीत गाइन् । ‘मैना चरीलाई यो जीवन तिम्रै हो सधैंभरिलाई...’ शीर्षकको उक्त गीत पनि उत्तिकै लोकप्रिय भयो । यी दुई गीतको लोकप्रियतासँगै गायिका शाहले संगीतलाई मुख्य विषय बनाउँदै बागबजारस्थित पद्मकन्या क्याम्पसमा प्रमाणपत्र तहको अध्ययन प्रारम्भ गरिन् । फाट्टफुट्ट हुने सांगीतिक कार्यक्रममा सिमसिमे पानी गाउँदै अघि बढिन् ।
पारिवारिक तथा स्वास्थ्यका कारण त्यसपछिका केही वर्ष सांगीतिक क्षेत्रबाट टाढै बसेकी रेखाले २०६६ सालमा आफ्नो सांगीतिक जीवनको दोस्रो जीवन प्रारम्भ गरिन् पहिलो एकल एल्बम ‘द लाइन’ मार्फत । त्यसयता उनले बर्सेनि थप दुईवटा एकल एल्बम सार्वजनिक गरिन् । २०६३ सालदेखि गुरुदेव कामतसँग संगीतको औपचारिक प्रशिक्षण लिन थालेकी गायिका शाहले झन्डै सवा सय गीत रेकर्ड गराइसकेकी छिन् । तीमध्ये झन्डै एक दर्जन गीत श्रोताले अत्यन्त रुचाएका छन् ।
निकट भविष्यमै पंख फिँजाइ...तथा पछ्यौरी भिजायो...वोलका दुई नयाँ गीतमार्फत श्रोतामाझ आउन लागेकी गायिका शाहले पाँच दिनपछि आयोजना हुने एकल गायन कार्यक्रमका क्रममा समाजलाई योगदान दिने तीन जना महिलालाई सम्मान समेत गर्नेछिन् । सामाजिक सेवामा समेत रुचि राख्ने गायिका शाह पछिल्ला केही वर्षयता रेखा शाह फाउन्डेसन स्थापना गरेर बालबालिकाहरूलाई विभिन्न विद्यालयमा अध्ययन समेत गराइरहेकी छिन् ।
एल्बम
द लाइन (२०६६), स्मृति (२०६७), आकृती (२०६८)
पुरस्कार
छिन्नलता युवा पुरस्कार, रेडियो कान्तिपुरको स्रष्टा सम्मान, पब्लिक च्वाइस एवार्ड (इमेज च्यानल)