सन् २०१३ मा सनी देओलसँग चलचित्र ‘सिंह साहब द ग्रेट’ चलचित्रमार्फत बलिउड भित्रिएकी अभिनेत्री हु्न– उर्वशी रौतेला । यद्यपि उनले प्रसिद्धि पाइन् चलचित्र काबिलको सारा जमाना..गीतको नृत्यबाट । उक्त गीतको प्रोमो टेलिभिजनबाट प्रसारण हुन थालेपछि दर्शकहरूले उनका बारेमा चासो दिन थालेका थिए ।
त्यति हुँदासमेत उर्वशीले ठूलो बजेटका चलचित्र पाइनन् । त्यसै कारण बलिउडमा स्थापित हुने लक्ष्यका साथ उनले हेट स्टोरी–४ जस्तो चलचित्रमा काम गरिन् । यस्ता चलचित्रको विशेषता भनेकै बोल्ड दृश्य तथा विषय हुन्छ । कतिपय मानिस उर्वशीको उक्त चलचित्रमा अभिनय गर्ने निर्णयलाई गलत भनिरहेका छन् । त्यसै पनि हेट स्टोरी श्रृंखलाका चलचित्रले अहिलेसम्म कसैलाई पनि फाइदा पुर्याएको छैन ।
यद्यपि उर्वशीले जोखिम मोलेरै उक्त चलचित्रमा अभिनय गरिन् । चलचित्रको हालै सार्वजनिक ट्रेलरबाट यसमा प्रसस्त बोल्ड दृश्य छन् भन्ने कुरा प्रमाणित भैसकेको छ । हालैको एउटा अन्तर्वार्तामा उर्वशीले हेट स्टोरी–४ का बोल्ड दृश्यमा अभिनय गर्नुअघि बुवा–आमालाई जानकारी दिएको बताइन् । अविभावकले अनुमति दिएपछि मात्र आफू उक्त चलचित्रमा अभिनय गर्न तयार भएको उर्वशीको दाबी छ ।