साप्ताहिक संवाददाता
अभिनेत्री रेखा थापाको करियर अहिले दोधारमा पुगेको छ । नायिकाका रूपमा उनको अभिनय करियर त करिब–करिब अन्तिम चरणमा पुगेको छ भन्दा फरक पर्दैन भने रेखाको राजनीतिक करियरसमेत धरमराएको छ ।
एमाओवादीबाट राप्रपामा पुगेकी रेखा यतिबेला एमालेमा हामफाल्न लागेकी छिन् भन्ने गाइँगुइँसमेत चल्न थालेको छ । यसबीच कुनै बेलाकी हटकेक यी नायिकाको नाममा एउटा गीत नै तयार पारिएको छ । गायक पर्शुराम रिजालले अभिनेत्री थापाप्रति समर्पित ‘रेखा थापाले...’ शीर्षकको उक्त गीत गाएका हुन् ।
कृष्णराज भण्डारी उक्त गीतका गीतकार तथा संगीतकार हुन् । रमाइलो कुरा के छ भने उक्त गीत बन्नुमा साप्ताहिकको समेत ठूलो भूमिका छ । कुनै बेला रेखा थापा साप्ताहिकमा लभ गुरु स्तम्भ सञ्चालन गर्थिन् । त्यसक्रममा सुनसरीको तरहराबाट कृष्णराजले रेखालाई पटक–पटक आफ्नो प्रेम–समस्या पठाए । यद्यपि रेखाले उनको समस्या समाधान गरिनन् ।
आजित भएर ती युवाले अन्तिम प्रश्न पठाए– ‘मैले रेखा थापासँग बिहे गर्न के गर्नुपर्छ ?’ उक्त प्रश्नको जवाफ पाउनुअघि नै साप्ताहिकमा लभगुरु स्तम्भ बन्द भयो । त्यही तोडमा आफ्नो भावना समेटेर कृष्णराजले यो गीत रचना गरेका रहेछन् । अहिले म्युजिक भिडियोका रूपमा दर्शकमाझ आएको यो गीतको भिडियोलाई सुव्रत आचार्यले निर्देशन गरेका छन् ।