मोरङको मिक्लाजुङ गाउँपालिकाकी देवी श्रेष्ठले आफ्ना एक मात्र छोरा र हुनेवाला बुहारीका लागि विवाहका लत्ताकपडा खरिद गरेर ल्याइन् । छोराको विवाहका लागि उनले बेलैमा भारतको जोगवनी गएर खरिदारी गरेकी हुन् । ‘एउटा काम बेलैमा सकियो,’ श्रेष्ठले भनिन्, ‘सबैका लागि कपडा ल्याइसक्यौं । अब चाँडै टेर्लसमा कपडा सिलाउन दिन्छौं र विवाहको अरू तयारीमा लाग्छौं ।’
मंसिरको सुरुवातदेखि नै विवाहको लगन सुरु भएको छ । विवाहको कपडा खरिद गर्न देवी मात्र होइन, पूर्वी नेपालका अधिकांश मानिस जोगबनी पुग्छन् । विवाहको लगन सुरु हुनुअघिदेखि नै सीमापारिको जोगवनी बजारमा नेपाली ग्राहकको भीड लाग्न थालेको छ । स्वेदशी बजारभन्दा सस्तो, राम्रो अनि ग्राहकको रोजाइअनुरूपका सरसामान पाइने भएकाले जोगवनीमा ठूलो परिमाणमा विवाहका लत्ताकपडा बिक्री हुने गरेको छ । विराटनगरको तुलनामा जोगवनीमा विवाहका कपडाको व्यापार अहिले चार गुणा बढेको व्यवसायीहरू बताउँछन् । अरू बेला सरदर दैनिक २०/३० हजार रुपैयाँको कपडा बिक्री हुने पसलमा विवाहको मौसममा दैनिक १ देखि २ लाख रुपैयाँभन्दा बढीको बिक्री हुने जोगवनीका व्यवसायीहरूको दाबी छ ।
चार दशकदेखि जोगवनीमा रुपमिलन सारी शोरुम सञ्चालन गर्दै आएका आनन्द लखेरिया नेपालमा महँगी बढेको र जोगबनीमा सस्तो मूल्यमा सामान पाइने भएकाले ग्राहक बढेको बताउँछन् । खुला सीमाका कारण पूर्वी नेपालका ८० प्रतिशतभन्दा बढी खरिदकर्ता विवाहको मौसममा किनमेलका लागि जोगवनी आउने उनले बताए । ‘विवाहको मौसमसँगै हामीले १ हजार देखि ५० हजार रुपैयाँसम्मका साडी ल्याएका छौं,’ उनले भने, ‘ग्राहकको रोजाइ र क्षमताअनुसार सारी बिक्री हुने गरेको छ ।’ अहिले सिफन, बनारसी तथा विभिन्न डिजाइन एवं बुट्टा भरिएका साडी बढी बिक्री हुने आनन्दको भनाइ छ । लखेरिया भन्छन्, ‘विवाहको सिजनमा साडी अलिक बढी नै स्टक राख्छौं ।’ विवाहको मौसममा एउटै पसलबाट एक जना ग्राहकले ३० हजारदेखि ७० हजार रुपैयाँसम्मको कपडा खरिद गर्ने जोगवनीका नेताजी सुपर मार्केटस्थित सिमरन साडी महलका सञ्चालक महमद फैयाज अन्सारीले जानकारी दिए । ‘बेहुला–बेहुलीका लागि त लाने नै भए,’ उनले भने, ‘आफन्त तथा दिदी–बहिनीका लागि पनि १/१ जोर साडी, कुर्था सुरुवाल अनि लेहेंगा लान्छन् ।’ कोट–पाइन्टमा रेमन्ड, डोनियर, डिग्जामको कपडा बढी बिक्री हुने अन्सारीले बताए ।
जोगवनी बजार व्यवस्थापन समितिका अनुसार जोगवनीमा साना तथा मझौला गरी करिब ५ सय पसल छन् । लत्ताकपडा महँगो भएकाले सिजनमा पनि नेपाली बजार सुनसान हुने विराट व्यापार संघका अध्यक्ष शिवप्रसाद रिजाल बताउँछन्, ‘नेपालकै ग्राहकहरू जोगवनी पुग्ने भएकाले त्यहाँका पसलेहरूलाई सामान दिन भ्याइ–नभ्याइ छ, तर नेपाली व्यापारी भने ग्राहकको प्रतीक्षामा झिँगा मारेर दिन काट्न बाध्य छन् ।’ विराट व्यापार संघका अध्यक्ष रिजालले भने । जोगवनीमा विशेष गरी सीमा जोडिएको विराटनगरसँगै धरान, इटहरी, इनरुवा, दुहबी, दमकदेखि धनकुटा, भोजपुरसम्मका उपभोक्ता पुग्छन् ।
भारतीय बजारमा नेपालीको पसल
स्वदेशी बजारमा भन्दा सीमावर्ती बजार जोगवनीमा ग्राहकको चहलपल बढी हुने र बिक्री पनि बढी हुने भएपछि नेपाली व्यापारीहरूले समेत उतै पसल खोल्ने गरेका छन् । स्वदेशी बजारमा भन्दा जोगबनीको बजारमा ग्राहकको भीड बढेपछि उतै पसल सार्नुपर्ने बाध्यता भएको व्यापारीहरू बताउँछन् । ‘सर्वसाधारणले खरिद गर्ने दैनिक उपभोग्य सामग्रीदेखि लत्ताकपडासम्म खरिद गर्न भारतीय बजार नै पुग्ने चलन छ,’ विराटनगरमा लामो समय पसल चलाएपछि हाल जोगवनीमा खुद्रा पसल सञ्चालन गर्दै आएका अमित गुप्ता भन्छन्, ‘व्यापारमा मन्दी आएपछि पसल सारेको हुँ ।’ अहिले व्यापार राम्रो चलेको उनले बताए । विराटनगरका साथै जोगवनीमा पनि पसल गर्दै आएका व्यापारीको संख्या एक दर्जनभन्दा बढी छ ।
मेहन्दी तथा संगीत समारोहका लागि पहिरन
अहिले मानिसहरू अरु समुदायका चाडपर्व, संस्कृति आदिलाई समेत पछ्याउँदै जीवनलाई सुन्दर बनाउने प्रयासमा छन् । सोहीअनुरूप मारवाडी तथा भारतीयहरूमाझ विवाहका अवसरमा निकै लोकप्रिय मेहन्दी तथा संगीत कार्यक्रमको सिको अरु समुदायले समेत गर्न थालेका छन् । विवाहमा दुलहीले लगाउने मेहन्दी सोर्हशृंगारअन्तर्गत नै पर्छ । अहिले साथीभाइ एवं आफन्तहरूलाई बोलाई सबैले मेहन्दी लगाउँदै रमाइलो गर्ने शैलीको विकास भएको छ । जसरी विवाहको पार्टी, अन्माउने दिन तथा स्वयंवरका लागि भिन्दाभिन्दै पहिरन डिजाइन गरिन्छ त्यसरी नै मेहन्दी तथा संगीत कार्यक्रमका लागि पनि अहिले ड्रेस डिजाइन गराउन थालिएको छ ।
मेहन्दी कार्यक्रमका लागि हल्का रंगको सजिलो पहिरन उपयुक्त हुन्छ । पहिरनको रंगको थिमअनुसार इन्टेरियर डेकोरेसन गर्ने चलन पनि मौलाउँदै गएको छ । मेहन्दीमा दाग लाग्ने बढी सम्भावना हुने भएकाले धेरै महँगो तथा ह्याभी इम्ब्रोइडरी गरिएको पहिरनको साटो सजिलो पहिरन लगाउनुपर्छ । त्यसका लागि लो नेक, ब्याकलेस चोलीमा लेहेंगा नै उपयुक्त हुन्छ । चुडीदार कुर्ता–सुरुवाल लगाउँदा खुट्टामा मेहन्दी लगाउन गार्हो हुन्छ । ओपन तथा स्लिभलेस पहिरन नै मेहन्दी कार्यक्रमका लागि उपयुक्त मानिन्छ । पहेंलो रंगको लेहेंगामा रातो प्याच निकै राम्रो देखिन्छ । यदि दुलही काली छिन् भने अफ ह्वाइट, मरुन वा क्रिम कलरको पहिरन छनौट गर्नु उपयुक्त हुन्छ भने गोरीहरूलाई सुन्तला, लेमन ग्रिन, एल्लो तथा पहेंलो रंग नै सुहाउँछ ।
संगीत कार्यक्रमका दिन जमेर नाचिने भएकाले साडीबाहेक आफूलाई सजिलो हुने पहिरनलाई प्राथमिकता दिनुपर्छ । यो कार्यक्रमका लागि धेरै घेरा भएको अनारकली कुर्ता वा लेहेंगा उपयुक्त हुन्छ । यसमा आरामसँग नाच्दै पार्टीको मज्जा लिन सकिन्छ । संगीत कार्यक्रमका लागि गोल्डेन इम्ब्रोइडरी राम्रो देखिन्छ । त्यसका लागि हल्का रंगका भेल्भेट टच भएका कम इम्ब्रोइडरी कुर्ता तथा लेहेंगा पनि उपयुक्त हुन्छन् ।
खुश्बु राना, विभिद बुटिक, पानीपोखरी
मेकअप किट्समा के–के राख्ने ?
१. क्लिन्जिङ मिल्क, २. मोइस्चराइजर, ३. फाउन्डेसन, ४. टेल्कम पाउडर, ५. सेटिङ लोसन, ६. आइस्याडो, ७. आइब्रो पेन्सिल, ८. नेलपलिस, ९. नेल फाइलर, १०. नेलपलिस रिमुभर, ११. ह्यान्ड लोसन, १२. बडी लोसन, १३. नाइट क्रिम, १४. सनस्किन लोसन, १५. कम्प्याक पाउडर, १६. हेयर स्प्रे, १७. गाजल, १८. लिपिस्टिक–लिपग्लस, १९. मस्कारा, २०. आई लाइसेस कर्लर, २१. परफ्युम, २२. ब्लसर, २३. मेकअप ब्रस, २४. फेसवास, २५. प्याक, २६. प्राइमर, २७. हाइलाइटर, २८. टीका तथा २९. काइँयो तथा हेयर ब्रस ।