साप्ताहिक संवाददाता
नेपाली चलचित्रमा गीत–संगीत नक्कल भएको आरोप लाग्नु तथा केही समयपछि त्यसको खण्डन गरिनु सामान्य भैसकेको छ । विगतमा संगीतकर्मी अल्मोडा राना उप्रेती यो प्रसंगमा पटक–पटक तानिँदै आएका छन् । यतिबेला यो प्रकरणमा युवा संगीतकर्मी टंक बुढाथोकीसमेत मुछिएका छन् ।
गायक, संगीतकार तथा गीतकारका रूपमा स्थापित भैसकेका बुढाथोकीलाई अहिले चलचित्र शत्रुगतेको ‘रूपै मोहनी...’ गीत हुबहु चोरी गरेको आरोप लागेको छ । लोकगायक कुमार बस्नेतको ‘रउसी खान जाउँ...’ सँग उक्त गीत हुबहू मिलेको आरोप लागेको हो । ‘मेरो गीत चोरी भएको विषयमा हरिवंश आचार्यसँग सोधेको थिएँ, हरिवंशले होइन दाइ भनेर हल्का जवाफ दिए, गायक कुमार बस्नेतको भनाइ छ । बस्नेत जस्ता पुराना गायकले आफ्नो गीत चोरी गरिएको आरोप लगाएपछि संगीतकार बुढाथोकीले उक्त आरोपको खण्डन गरेका छन् ।
‘कुमार बस्नेत आफैं प्रतिलिपि अधिकार संरक्षण समाज नेपालका संस्थापक हुनुहुन्छ, बुढाथोकीको भनाइ छ– ‘गीत मिलेकै हो भने आफ्नो अधिकार कानुनी रूपले पनि लिन सक्नुहुन्छ, होइन भने अरेका भरमा लागेर अरूले प्रेसर दिँदैछन् भनेर आरोप लगाउन सुहाउँदैन ।’ बुढाथोकीले रूपै मोहनी तथा कुमार बस्नेतको गीतको बिट उस्तै भएको तथा दुवै गीत लोकशैलीको भएकाले अलि–अलि त्यस्तो सुनिनु संयोग मात्र हो समेत भनेका छन् ।’