सांगीतिक क्षेत्रमा कठोर संघर्ष गरिरहेका सागर आलेलाई नेपाल आइडलले सेलिब्रेटी जीवन प्रदान गर्यो । टप ४ बाट बाहिरिए पनि नेपाली संगीतप्रेमीहरूको मनमा बस्न सफल भए सागर । नेपाल आइडलका प्रतिस्पर्धीहरूमध्ये सबैभन्दा बढी विदेश यात्रा गरिरहेका आलेका गीतले युट्युबमा लाखौं भ्युज पाइरहेका छन् । आफ्ना हरेक नयाँ गीत ट्रेडिङमा परेबाट हौसिएका सागर यसलाई दर्शक–श्रोताहरूको माया मान्छन् । स्टेजमा रकिङ पर्फमेन्स गर्ने सागर पहिलो पटक हङकङ आएका बेला साप्ताहिकको पाँच प्रश्न :
सांगीतिक प्रस्तुतिका लागि धेरै देश पुगिसक्नुभएको छ । हङकङको प्रस्तुति कस्तो रह्यो ?
वास्तवमा म नेपाल आइडलबाट बाहिरिएसँगै हङकङ आउन चाहन्थें, तर विविध कारणले आउन सकिनँ । हङकङेली दर्शक–श्रोताहरूको माया र सद्भावले मलाई प्रेरणा दिन्छ ।
लाइट, क्यामेरा, एक्सन, अटोग्राफ अनि संगीतप्रेमीहरूको साथ । सागरको अहिलेको दैनिकी ठ्याक्कै यही हो ?
रियालिटी भन्नुभयो (हाँसो) । उहाँहरू सबै मेरो भलो चिताउने मानिसहरू हुनुहुन्छ । म जहाँ जान्छु सबै माया गर्ने मानिसहरूबाट घेरिन्छु, यो दैनिकी मेरो सपना थियो । उहाँहरू हुनुहुन्छ र नै मेरो सांगीतिक जीवन छ, यसबाट मलाई आत्मसन्तुष्टिसमेत प्राप्त भएको छ ।
पछिल्लो समय सागरले आफ्नै गीतबाट पर्याप्त चर्चा पाईरहेको छ होइन ?
अहिलेसम्म पाँचवटा गीत रेकर्ड गराए, सबै दर्शक, श्रोताहरूले मन पराइदिनु भयो । पहिलो गीत ‘पल्ला घरको कान्छी नानी’ ट्ेरन्डिङमा नम्बर वानमै आयो । ‘सालैज्यू’, ‘बिर्सनै गाह्रो भो’, ‘खाइदेउ गोरी’, भ्यालेन्टाइन स्पेसल गीत ‘मलाई किनतिम्रो माया’ सबैले उत्तिकै राम्रो फिटब्याक दिइरहेका छन् ।
नेपाल आइडलका प्रतिस्पर्धी साथीहरूसँगको सम्पर्क कस्तो छ ?
कार्यक्रमहरूमा भेट भैरहन्छ । हालसालै सुरज, केञ्जलहरूसँग अस्ट्रेलियामा सँगै प्रस्तुति दिएँ । हामी टप १८ को ग्रुप च्याट नै छ, म्यासेज, भिडियो कल आदि भैरहेको हुन्छ ।
अन्त्यमा...
सबै जनालाई धेरै–धेरै धन्यवाद । मेरो गायकीसँगै मृगौलापीडित गायिका जलजला परियारका लागि ममाथि विश्वास गरेर आर्थिक संकलन अभियानमा साथ दिनुभयो । तपाईंहरूको यो साथ र मायाबाट अझ ऊर्जाशील भएर आफ्नो कर्ममा लाग्नेछु ।