साप्ताहिक संवाददाता
मोबाइलसम्बन्धी सर्वाधिक ठूलो इभेन्ट मोबाइल वल्र्ड कंग्रेस गत सोमबार प्रारम्भ भएर बिहीबार सम्पन्न भएको छ । स्पेनको बार्सिलोनामा सञ्चालित उक्त कंग्रेसको यस वर्षको थिम ‘क्रिएटिङ बेटर फ्युचर’ थियो ।
उक्त इभेन्टमा विश्वका प्रतिष्ठित टेक कम्पनीहरूले आफ्ना स्मार्टफोनका पछिल्ला भर्सन सार्वजनिक गरेका थिए भने आर्टिफिसियल इन्टेलिजेन्स डिभाइस तथा अन्य विभिन्न प्रविधिका बारेमा समेत जानकारी गराइएको थियो ।
युरोपेली व्यापारिक संगठन जीएसएमए अर्थात् ग्लोबल सिस्टम फर मोबाइल एसोसिएसनद्वारा आयोजित मोबाइल वल्र्ड कंग्रेस सन् १९८७ देखि प्रत्येक वर्ष आयोजना गरिँदै आएको छ । यो कंग्रेसको ४० औं संस्करण हो । विश्वभरका २ सय देशका सहभागीले मोबाइल वल्र्ड कंग्रेसको अवलोकन गरेका थिए । यसमा २ हजार ३ सय प्रदर्शनकर्ताले आफ्ना प्रविधि सार्वजनिक गरे भने विश्वका १५ हजार विद्यालयका विद्यार्थीले समेत मोबाइल वल्र्ड कंग्रेस अवलोकन गरे ।
नयाँ प्रविधिको सम्भावना
आगामी दिनमा फाइभ जी प्रविधिका साथै भीआर, एआई तथा ब्लकचेन जस्ता नयाँ प्रविधिको प्रयोग समेत बढ्नेछ । आगामी दिनमा फाइभ जीदेखि इन्टरनेट अफ थिंग्ससम्म नयाँ–नयाँ प्रोडक्ट तथा सर्भिस उपलब्ध हुनेछन् । प्रविधि सम्बद्ध कम्पनीहरू पनि यही क्षेत्रको अनुसन्धानमा जुटेका छन् । उनीहरूले यी प्रविधिमा आधारित रहेर विभिन्न उत्पादन सार्वजनिक गरेका थिए ।
हुवावेको मेटबुक एक्स प्रो
हुवावेले आफ्नो नोटबुक मेटबुक एक्सप्रो सार्वजनिक गरेको छ । यसलाई संसारकै पहिलो फुलभ्यु टचस्क्रिन नोटबुक दावी गरिएको छ । यसको ९१ प्रतिशत स्क्रिनमा टु बडी रेसियो उपलब्ध छ । यो नोटबुक थ्रीके डिस्प्लेयुक्त छ भने आई ७ प्रोसेसरका साथै पावर बटनमा फिंगर प्रिन्ट सेन्सर यो डिभाइसको विशेषता हो ।
भिभोको फुल भ्युयुक्त पहिलो स्मार्टफोन
भिभोले कंग्रेसमा आफ्नो कन्सेप्ट स्मार्टफोन एपेक्स प्रदर्शन गरेको थियो । यसको स्क्रिन टु बडी अनुपात ९८ प्रतिशत छ । यसमा हालसम्मकै सर्वाधिक पातलो बेजल उपलब्ध छ । यसको टप र साइड बेजल १ दशमलव ८ एमएम तथा बटम बेजल ४ दशमलव ३ एमएम मात्र छ । यसको अग्रभागबाट स्पिकर हटाइएको छ, किनभने यसको स्क्रिनले नै स्पिकरको काम गर्नेछ ।
सोनी इयर ड्युओ
सोनी कम्पनीले कानमा लगाएर सुन्ने इयर ड्युओलाई बजारमा उतारेको छ । यसमा भएको वायरलेस हेडसेट ड्युअल लिसनिङ टेक्नोलोजीको सहयोगले गीत सुन्नुका साथै नोटिफिकेसन एलर्टसमेत पाइन्छ । यसका साथमा डेली असिस्टेन्ट फिचरसमेत उपलब्ध छ । यसबाट हेडसेट सेन्सरको सहयोगले युजरको हेड जेस्चर पनि थाहा पाउन सकिन्छ । इनकमिङ कल आयो भने शिर हल्लाउना साथ फोन कनेक्ट हुन्छ ।
सोनीको स्मार्टफोन
सोनीले एक्सपेरिया एक्सजेड २ तथा एक्सपेरिया एक्सजेड २ कम्प्याक्ट स्मार्टफोन सार्वजनिक गर्यो । यी दुवै स्मार्टफोनमा फ्रन्ट फेसिङ स्पिकर छन् र यसको साउन्डको गुणस्तर निकै राम्रो छ । यसमा डाइनामिक भाइब्रेसनका साथ वायरलेस चार्जिङ सपोर्ट पनि छ । यी दुवै स्मार्टफोनमा हेडफोन ज्याक उपलब्ध हुँदैन ।
सामसुङ ग्यालेक्सी एस ९ तथा एस ९ प्लस
सामसुङले आफ्नो ग्यालेक्सी एस ९ तथा एस ९ प्लसलाई मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक गर्यो । सामसुङले यी स्मार्टफोनको क्यामेरामा विशेष ध्यान दिएको छ । दुवै स्मार्टफोनका प्राइमरी रियर क्यामेरा भेरिएबल अपर्चर सेन्सरका साथ उपलब्ध छन् । ग्यालेक्सी एस ९ प्लसमा भने ड्युअल रियर क्यामेरा छ ।
नोकिया सिक्स
नोकियाले एकै पटक ५ वटा स्मार्टफोन सार्वजनिक गरेको छ । नोकिया ब्रान्डको हकदार कम्पनी एचएमडी ग्लोबलले नोकिया ८११० फोरजी फिचर फोनका साथ नोकिया १, नोकिया ६, नोकिया ७ प्लस तथा नोकिया ८ सिरिजका स्मार्टफोन सार्वजनिक गरेको हो ।
नोकिया सिक्समा ड्युअल साइट, एन्ड्रोइड ओरियो अपरेटिङ सिस्टम, गुगल असिस्टेन्ट सपोर्ट तथा फेस रिकग्निसन जस्ता विशेषता छन् । यसमा ५ दशमलव ५ इन्चको २ दशमलव ५ डी डिस्प्लेका साथै नटुट्ने खालको कर्निङ गोरिल्ला ग्लासको सुरक्षाकवच छ ।
नोकिया सिक्समा स्न्यापड्रागन ६३० प्रोसेसर, ३ जिबी र्याम तथा ३२ जिबी इन्टर्नल स्टोरेज छ । यसको अर्को भेरिएन्ट पनि हुनेछ, जुन ४ जिबी र्याम तथा ६४ जिबी स्टोरेजको छ । यो स्मार्टफोन आगामी अप्रिलमा बजारमा उपलब्ध हुने बताइएको छ ।
नोकिया सिक्समा बोथ क्यामेरा तथा ओजो फिचर्सका साथ पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सर रहनेछ । मुख्य क्यामेरा १६ मेगापिक्सेल तथा सेल्फी क्यामेरा ८ मेगापिक्सेलको यो स्मार्टफोनमा ३००० एमएएमको ब्याट्री जडान गरिएको छ ।
स्मार्टफोन र अटोमोबाइल
हुवावेको मेट १० प्रो मोबाइलबाट पोर्स प्यानेरोमा कार चलाउन सकिन्छ । यसले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगले विभिन्न वस्तु पहिचान गर्न सक्छ । यसबाट दुर्घटना नियन्त्रणसमेत गर्न सकिन्छ । त्यसैगरी मोबाइल कंग्रेसमा साउदी टेलिकम कम्पनीले कनेक्टेड कार सिमुलेटर प्रदर्शन गरेको थियो । यसलाई फाइभ जी प्रविधि प्रयोग गरी चलाउन सकिन्छ । यसबाट इन्टरटेनमेन्ट तथा गेमिङको क्षेत्रमा फाइभ जी प्रविधिले ल्याएको परिवर्तन अनुभव गर्न सकिन्छ ।
विसेकु कम्पनीले संसारकै पहिलो स्मार्ट बाइक लक प्रदर्शन गरेको थियो । प्रयोगकर्ता अर्थात् मोटरसाइकलको मालिक अलि टाढा जानासाथ उक्त बाइक आफैं लक हुन्छ । स्मार्टफोन एप्सको सहयोगले मोटरसाइकल राइडिङको डाटासमेत लिन सकिन्छ ।